कांग्रेसभित्रको मन्थन

काठमाडौं । थोरै प्रसव पीडापछि नेपाली कांग्रेसको संस्थापन इत्तर भनिने समूहले गत बुधबार छलफल भेटघाट ग¥यो । कुनै पनि राजनीतिक दलमा गुट उपगुट समूह उपसममूह हुन्छ्न् र तिनीहरू एकआपसमा भेटघाट र छलफलमा जुट्छन् । कुनै बाहिरका व्यक्ति वा समूहका लागि यस्ता भेटघाट र बैठकको निक्कै ठूलो महत्व हुन्न । यसअर्थमा यो भेटघाटको पनि कुनै तात्विक महत्व छैन । तर, कांग्रेस यतिबेला प्रतिनिधित्वका हिसाबले मुलुकको सबैभन्दा ठुलो दल हो र सत्ताधारी गठबन्धनको प्रमुख घटक हो । त्यसमाथि कांग्रेसभित्र बलियो प्रतिपक्ष रहेको र प्रतिपक्ष र संस्थापन पक्षबीच गहिरो मतभेद र प्रतिद्वन्द्विता रहेको मानिने हुँदा यो बैठकलाई बाह्य तत्वले पनि महत्वका साथ हेरेको पाइन्छ ।

यो भेटघाट र बैठकपछि सार्वजनिक भएका अभिव्यक्ति र उद्गारलाई हेर्दा सुन्दा केही महत्वपूर्ण निष्कर्ष निकाल्न सकिन्छ । यो भेटघाट र बैठक एक दिनअघि नै हुने भनिएको थियो । तर, सारेर अर्को दिन मात्र गरियो । त्यसको मूल कारण महामन्त्री गगन थापा उपलब्ध नभएको हुँदा उनको उपस्थिति पक्का गर्न बैठकको मिति सारिएको बताइएको छ । शेखर गगन समूह भनेरसमेत चिनिने सो समूहमा शेखर कोइराला र गगन थापाबीच मतभेद रहेको र अझ गगन थापा शेखर कोइरालासँग असन्तुष्ट रहेको पर्यवेक्षकको दाबी रहँदै आएको थियो । यस परिप्रेक्षमा नियत समयमा गगन थापा उपलब्ध नहुनुको कारण उनको असन्तुष्टि नै थियो भनेर भन्ने ठाउँ रह्यो नै । आफ्नो असन्तुष्टि दर्साउन उनी अनुपस्थित भएका हुन् वा प्राविधिक कारणले उनले चाहेर पनि आउन नसकेका हुन् भन्ने कुरो यकिनका साथ स्वयं थापाले मात्र बताउन सक्छ्न् । जेजस्तो भए पनि यो समूहको लागि उनी अत्यन्तै महत्वपूर्ण छ्न् भन्ने कुरो चाहिँ तथ्यगत रूपमै प्रमाणित भयो । उनी असन्तुष्टिका कारण भनिएको दिन अनुपस्थित भएको होस् वा सामान्य व्यस्तताका कारण त्यसो भएको होस् उनका लागि बैठक एक दिन सारिनुबाट गगनको महता स्पष्ट हुन्छ । सम्भवतः गगन थापा पनि यही कुरो सार्वजनिक रूपमा देखियोस् भन्ने चाहन्थे ।

बैठकबाट बाहिरिए लगत्तै नेता शेखर कोइराला भन्छन्, ‘गगनजी र हाम्रो बीच बाहिर आए जस्तो कुनै ठुलो मतभेद थिएन । प्रस्तुतिका आआफ्नो शैली हुन्छन् । कुरो त्यति हो ।’ उनीहरू बीच साँच्चिकै मतभेद र मनभेद थियो वा थिएन भन्ने कुरा आगामी दिनमा स्पष्ट होला नै । तर, गगन थापाको साथ आफूलाई रहेको सिद्ध गर्न जरुरी रहेको शेखरले ठाने । कांग्रेस सभापति पदको निर्वाचनमा उल्लेख्य प्रतिशत मत ल्याउने शेखर कोइरालाको यो आवश्यकता वास्तवमा गगन थापाको लागि सुखद विषय हो । गगन थापाले ‘अब शेखर कोइरालालाई संसदीय दलको नेता बनाउनुपर्छ,’ भने भन्ने समाचार पनि प्रवाहित भएको छ । स्वयं शेरबहादुर देउवाविरुद्ध संसदीय दलको नेतामा उम्मेदवारी दिएका गगन थापाले यसो भन्नु पनि निकै अर्थपूर्ण छ । शेखर कोइराला आफंै त कांग्रेस सभापति पदका आकांक्षी थिए । के अब गगन र शेखरबीच शेखरलाई संसदीय दलका नेता बनाएर आगामी प्रधानमन्त्री बनाउने ‘सम्झौता’ भएको हो ? अनि शेखर कोइरालाले सभापति पदमा दावा छोडेका हुन् ? कांग्रेसभित्र कृष्णप्रसाद भट्टराईको भक्त मानिने तर हालैका दिन शेरबहादुरको नजिक ठानिएका पूर्णबहादुर खड्कालाई व्यवस्थापन गर्न शेखर कोइराला संसदीय दलको नेता बन्ने, पूर्णबहादुर खड्का कार्यवाहक सभापति हुँदै पूर्णकालीन सभापति बन्ने र गगन थापा त्यसपछिको दिगो नेतृत्वका रूपमा स्थापित हुने बृहत् योजनामा काम भएको पनि हुन सक्छ ।

अन्तर्यमा जेजस्तो भए तापनि तत्काललाई प्रकट रूपमा केही कुरा भने उजागर भएको छ । पहिलो, कांग्रेसभित्रको संस्थापन इत्तर भनिने समूह देखिने गरी एकजुट भएको छ । दोस्रो, त्यो समूह कांग्रेसको नेतृत्वबाट शेरबहादुर देउवालाई विस्थापन गर्नुपर्छ भन्ने कुरोमा एकमत देखिन्छ । उनीहरूको यो धारणा कांग्रेस र मुलुकको समग्र हितका लागि देउवा बाधक भएको हुँदा उनलाई हटाउनुपर्छ भन्ने यकिन विश्वासबाट प्रेरित हो वा फगत व्यक्तिगत मोजमज्जाजस्ता निहीत स्वार्थबाट प्रेरित हो भन्ने विषयमा भने अझै बहस हुन सक्ला । तेस्रो, यो समूहले अब देउवासँग जुध्न तम्तयार भएको हो कि भन्ने प्रस्तुति दिँदै छ । यी सब दृष्टिले हेर्दा आगामी दिनमा शेरबहादुर देउवाको नेतृत्वमा रहेको संस्थापन पक्ष र इत्तर पक्षबीच निर्णायक द्वन्द्वको सम्भावना देखिएको छ ।

यति सबै भन्दाभन्दै र अड्कल गर्दा गर्दै पनि आजको यथार्थबाट भाग्न भने सकिन्न । गुणात्मक हिसाबले जेजस्तो भए पनि लोकतन्त्र भनिने व्यवस्थामा संख्याले महत्व राख्छ र अझै पनि संख्यात्मक हिसाबले कांग्रेस देउवाको कब्जामा छ । पछिल्लोपटक सभापति बनेदेखि हालसम्मको अवधिमा आइपुग्दा देउवाको संख्यात्मक शक्तिमा निश्चित रूपमा ह्रास आएको छ । आमकार्यकर्ता तहमा देउवाको लोकप्रियता निकै घटेको छ । तर, निर्णय गर्ने अधिकार प्राप्त अर्थात् मताधिकार प्राप्त केन्द्रीय समिति वा महासमिति आदि इत्यादिमा अझै देउवा बहुमतमै रहेको बुझ्न सकिन्छ । स्वयं देउवालाई यो बहुमत झिनो हुँदै गएको आभाष पक्कै छ । आफ्नो उमेर आदि इत्यादिका कारण पनि आफ्नो राजनीतिक जीवन धेरै लामो नभएको कटुसत्य प्रति उनी सजग हुनुपर्छ । तर, पनि उनी पार्टी र मुलुकको हितका खातिर स्वाभाविक सत्ताशक्ति हस्तान्तरणको पक्षमा देखिन्नन् । यो आफैंमा उदेकलाग्दो अवस्था हो । यस्तो किन भयो ? जत्तिसुकै घोत्लिँदा पनि यसको तार्किक उत्तर भेट्टिन गाह्रो छ ।

अलि धेरै घोत्लिने हो भने नचाहँदा नचाहँदै पनि एउटा निष्कर्षमा पुगिन्छ । स्वयं देउवा र देउवाका परमभक्त समर्थकका लागि यो निष्कर्ष अत्यन्तै अपाच्य र अग्राह्य हुने कुरोमा कुनै शंका छैन । सायद यस्तो प्रवृति सामान्य मानवजन्य हो । मानिस स्वभावैले आत्मकेन्द्रित हुन्छ भनिन्छ । अझ उमेर बढ्दै गएर एउटा समयमा पुगेपछि त मानिसले आफ्नो शेषपछि आफ्ना प्रियजनको हितको संरक्षण र सम्वद्र्धनतर्फ आवश्यकताभन्दा बढी नै केन्द्रित हुन थाल्छ । मुलुकको सबैभन्दा ठुलो र सबैभन्दा पुरानो लोकतान्त्रिक राजनीतिक दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि यही मानवजन्य रोगले नराम्ररी गाँजेको देखिन्छ । उनी उत्तराधिकारी खोज्दै छन् तर त्यसो गर्दै गर्दा आफ्नो निकटतमभन्दा अरूलाई देख्नै चाहन्नन् र ती निकटतमको स्तुतिगान गर्ने मानिस नै उनका विश्वास पात्र हुन्छ्न् । विहारका मुख्यमन्त्री लालुप्रसाद यादवले बाध्यतावश पदबाट हट्नुपर्दा आफ्नी श्रीमती रावडी देवीलाई मुख्यमन्त्री बनाएको घटना धेरै पुरानो होइन । सम्भव भए त छोरालाई नै बनाउँथे होला तर त्यसबेला छोरा निकै साना थिए । त्यसकारण श्रीमतीलाई नायबी दिएका थिए । अहिले त छोरा तेजस्वी छन् नै । शेरबहादुर देउवा पनि जुनसुकै मूल्यमा पनि यस्तै चाहन्छन् जस्तो देखिन्छ । यस्तो प्रयोग नेपाली समाजमा पहिले पनि नभएको होइन । गिरिजाप्रसाद कोइरालाजस्ता व्यक्तिले समेत यस्तो कोसिस गरेका थिए । तर, नेपाली समाजले ‘रावडी देवी’हरूलाई स्वीकार्न अत्यन्तै गाह्रो मान्छन् भन्ने तथ्य पनि साबित भइसकेको छ । जतिसुकै स्थापित मूल पात्र भए पनि तिनको अवसानपछि रावडी देवी बिलाउँदा रहेछ्न् । देउवालाई यो तथ्यबोध होला र ?

पुनः फर्कौं इत्तरतर्फ । देउवाको यो प्रवृति तर उनको प्रशंसक भक्तकै भीड, यस्तो परिस्थितिमा इत्तर पक्षको अल्पमतलाई बहुमतमा बदल्न कुनै जादुगरको आवश्यकता पर्छ, कठपुतली सञ्चालकको जरुरत पर्छ । नेपालमा सफल हुन आमनेपालीको समर्थन र सहयोग अवश्य चाहिन्छ । तर, त्यस्तो समर्थन जुटाइदिने वा उल्टाइदिने सामथ्र्य नेपथ्यका कठपुतली सञ्चालकसँग हुन्छ भन्ने विश्लेषण हुने गर्छ । शेखर गगन समूहले त्यस्ता जादुगरको विश्वास आर्जन गर्न सक्यो भने त नाटकीय ढंगले सफलता हासिल गर्नेछ । कतै हालैका दिनमा देखिएको सक्रियताको संयोजन नै जादुगरले गरिदिएको हो कि । जादुगरको आशिर्वादका लागि त स्वयं देउवा पनि सक्रिय होलान् नै । हेक्का राख्नुपर्ने विषय के हो भने यस्ता जादुगरका आशिर्वादका लागि चर्कै मूल्य चुकाउनुपर्ने हुन सक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

epaper

ताजा समाचार

नगरप्रहरीको ज्यादतीमा नगरप्रमुखले कारबही नगर्ने