५७ करोडको खानेपानी मुहान कुलो घुराए झैँ

इलाम । इलाम बजारमा सञ्चालित साना सहरी खानेपानी आयोजनाको उपभोक्ता समिति गैरजिम्मेवार बन्दा निर्माणको काममा लापरबाही भएको छ । ५७ करोड, ९५ लाख ७ हजार ४ सय ४७ रुपैयाँमा ठेक्का लागेको आयोजनाको मुहान कुलो घुराएजस्तो छ भने पाइपलाई मापदण्डमा ल्याइएको छैन ।

आयोजनाको पाइपलाइन डोरी टाँगे जस्तो

इलाम बजारमा २४ घन्टै पानी वितरण गर्ने भनी आयोजना सुरु भए पनि आयोजनाबाट आएको खानेपानी २४ घण्टामा दुई घण्टा मात्रै आउने गरेको छ । इलाममा दीर्घकालीन रूपमा खानेपानी समस्या समाधान गर्ने उद्देश्यले सुरु गरिएको खानेपानी आयोजनामा जिम्मेवार व्यक्तिकै कारण खानेपानी आयोजनाको काम गुणस्तरीय हुन नसकेको पाइएको छ । उपभोक्ता समिति निर्माण कम्पनी रमण कन्स्ट्रक्सन प्रालिसँग मूकदर्शक बन्दा इलामको खानेपानी आयोजनाको काममा लापरबाही भएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ ।

२४ घन्टै आउने भनेर थालिएको आयोजनाबाट पानी आउन थाले पनि समस्या समाधान नहुँदा आलोचना सुरु भएको थियो । आयोजना उपभोक्ता समितिको अध्यक्ष इलाम नगरपालिकाका वर्तमान प्रमुख केदार थापा नै भएका कारण आयोजना गुणस्तरीय रहने विश्वास लिएका इलाम नगरपालिकाका जनप्रतिनिधि आयोजनाको काम देखेपछि छक्क परेका छन् । खानेपानीको विषयमा आलोचना सुरु भएसँगै उपप्रमुखको नेतृत्वमा अनुगमनमा गएको टोलीले आयोजनाको काम हेर्दा इलाममा खानेपानीको समस्या समाधानभन्दा पनि झन् समस्या आउने निष्कर्ष निकालेको छ ।

उता प्रतिनिधि र एसियाली विकास बैंक (एडीबी)का प्रतिनिधिले गुणस्तरीय नभएको भन्दै सुधार्ने प्रतिबद्धता जनाएको छ । २४ महिनामा सक्ने सम्झौतामा आयोजनाको काम सुरु भए पनि समयमा त आयोजना सम्पन्न भएन नै तर आयोजना सम्पन्न हुँदा पनि काम गुणस्तरीय नबन्दा खानेपानीको समस्या इलाम बजारका लागि दीर्घकालीन बनेको देखिन्छ ।

एसियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा ५७ करोड ९५ लाख ७ हजार ४ सय ४७ रुपैयाँमा खानेपानी आयोजनाको ठेक्का लागेको थियो । खानेपानी ल्याउन सुरुमा नै प्रतिघरधुरी १५ हजार २ सय रुपैयाँका दरले रकम उठाइएको थियो । आयोजना सुरु हुँदा खानेपानी आयोजनाका लागि सन्दुकपुर गाउँपालिकामा रहेका तीनवटा र भाँडी खोलाबाट पानी ल्याइने र सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउने आयोजकले बताएको थियो । साना सहरीले सदरमुकामबाट करिब ३२ किलोमिटरको सन्दुकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवा खोलाबाट १०–१० तथा सुम्बेकको भाँडी खोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गर्नेगरी आयोजना सुरु भएको थियो । खानेपानी समस्या समाधानका लागि आयोजना सुरु हुनु अगावै स्थानीयसँग पैसा उठाएको भए पनि उपभोक्ता समितिको लापरबाहीले आयोजनाको काम अस्तव्यस्त बनेको छ ।

हजारांै जनताले दैनिक प्रयोग गर्ने खानेपानीको मुहान खेतमा सिँचाइ गर्न प्रयोग गरिने कुलोको मुहान घुराए झैं बनेको छ भने आयोजनाको मेन लाइन तीन मिटर पुर्नुपर्नेमा डोरी टाँगे झैं बाहिरै बिछ्याइएको छ । आयोजनाको मेन लाइनको पाइप जडान भएको ठाउँबाट खानेपानी लिक हुँदा मेन लाइनको आसपासको बस्तीमा जोखिम निम्तिएको छ भने आयोजनाको मेन लाइन बाटाको भित्तामा लापरबाही तरिकाबाट ल्याइएको छ ।

सन्दकपुर गाउँपालिका–२ का वडाध्यक्ष सनम राईले सम्झौताअनुसार काम नभएको कारण यहाँको बस्ती जोखिममा रहेको भन्दै यो समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् । आयोजना सञ्चालन हुँदै गर्दा कम्तीमा एक मिटर पुर्नुपर्ने गरी इलाम नगरपालिकासँग सम्झौता भए पनि आयोजनाबाट पानी सञ्चालन हुँदासम्म सम्झौताअनुसारको काम नभएको भन्दै यो पानी विस्फोट भएको खण्डमा ठुलो क्षति पुग्ने बताए ।

वडाध्यक्ष राईले भने, ‘कि सम्झौताअनुसार काम हुनुपर्छ हैन भने भोलिका दिनमा हुने समस्याको जिम्मा पनि नगरपालिकाले नै लिर्नुपर्छ । भौतिक क्षतिको जिम्मा नगरपालिकाले लिए पनि मानवीय क्षति मुख्य चुनौती बनेको छ ।’

सो आयोजनाका कारण ६० परिवारको अहिलेदेखि नै निन्द्रा हराएको भन्दै यो आयोजना स्टिमेटअनुसार काम नभए गाउँपालिकाबाट निर्णय गरेरै अघि बढ्ने बताए । उनले सन्दकपुर गाउँपालिकामा आउने वार्षिक २० लाख रुपैयाँको मुख हेराइले गाउँ नै ठुलो जोखिममा रहेको भन्दै यसलाई तत्काल समाधान नभए यसरी लाइन लैजान नदिने संकेतसमेत गरे ।

इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले यो आयोजनालाई स्टिमेटअनुसार नै काम गर्न लगाउने र आयोजनाको काम सम्झौताअनुसार नभए निर्माण कम्पनीले पाउन बाँकी रहेको रकम र धरौटी रकम रोक्ने बताए ।

नगर प्रवक्ता नुतनदेव दुलालले खानेपानीको आयोजना समग्र रूपमा चित्तबुझ्दो नभएको बताएका छन् भने वडा नम्बर ८ का वडाध्यक्ष दलमान तामाङले खानेपानी आयोजनाको काममा लापरबाही भएको भन्दै नगर कार्यपालिकामा यो समस्या समाधानका लागि व्यापक आवाज उठाउने बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

Ads Space Available

साताका लोकप्रिय समाचार

epaper

भर्खरै

काठमाडौं उपत्यकामा आन्दोलन चर्किएपछि सेना परिचालन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गीरेन्द्रबहादुर राई बिजयी