मेङ जियांनुको रोदन

प्राचीन चीनमा क्विन वंशको शासन चलिरहेको थियो । घटना २२१ देखि २०६ ईसापूर्वको हो । त्यति बेलाका शक्तिशाली हुण अतिक्रमणकारीको आक्रमणबाट बच्न चीनले पश्चिमी सीमामा लामो पर्खाल निर्माणको अभियान थालेको थियो । यो पर्खाल अहिले ग्रेटवालको नामले चर्चित छ ।

लोक कथा

पर्खाल त्यत्तिकै बनेको होइन, त्यति बेलाका चिनियाँ जनताको ठुलो लगानी छ यसमा । भनिन्छ, पर्खाल निर्माणका लागि स्थानीय जनतामाथि जबर्जस्त जनश्रमदानको नीति अख्तियार गरिएको थियो । जनश्रमदानमा सहभागी हुनै पर्दथ्यो । यो ‘राज्य रक्षा र बचाउ’को अभियान थियो ।

धेरै स्थानीय जनता जबर्जस्त श्रमदानमा होमिदा स्थानीय जनतामा निकै ठुलो दुःखकष्ट आइलागेको थियो । तापनि, श्रमदान एक अनिवार्य कर्तव्य बनिसकेको थियो । गाउँका मानिस सबै आआफ्नो पालोमा श्रमदानका लागि ग्रेटवाल निर्माण स्थलमा हाजिर हुन जान्थे ।

त्यस्ता गाउँहरूमध्ये एउटा गाउँ थियो मेङ जियांनुको । मेङ जियांनु भर्खरै विवाह भएकी दुलही थिइन् । उनीहरूको विवाह भएको भर्खर तीन दिन मात्र भएको थियो । त्यति नै बेला उनका पति फान जिलियाङलाई ग्रेटवालमा श्रमदानका लागि जान भनियो । उनले जानप¥यो । गाउँले साथीभाइसँग उनी ग्रेटवाल निर्माणका लागि हिंडे ।

उनकी नवविवाहिता मेङ जियांनु पनि उनीसँग जान भनेर जिद्दी गरिन् । तर, खान र बस्नको समस्या थियो । दुवै जनालाई खाने खाना र बस्ने बास ग्रेटवाल निर्माता प्रशासनसँग थिएन । घरैबाट लैजानु पर्दथ्यो ।

थोरै खाना खर्च बोकेर पति ग्रेटवाल निर्माणमा सहभागी हुन गए । यता मेङ जियांनु घरमा आधा पेट खाएर दिन गुजारा गर्दै उनको पर्खाइमा समय बिताउन थालिन् । एक दिनको कुरा हो, मध्यरातमा नराम्रो सपना देखेपछि मेङ जियांनुले आफ्नो मन थाम्न सकिनन् । उनी आफ्ना पति गएको स्थानतिर लागिन् । बाटामा अनेकांै दुःख, कष्ट, बाधा झेल्दै एक दिन उनका गाउँलेले थालेको ग्रेटवाल निर्माणस्थलमा पुगिन् ।

समाचार अशुभ रहेको गाउँलेले बताए । फान जिलियाङ निर्माण गरिँदै गरेको ग्रेटवालको पर्खाल ढलेर पुरिएका थिए । कैयौं दिन भइसकेको थियो । उद्धारको कुनै गुन्जायस थिएन । मेङ जियांनु त्यही ढलेको पर्खालमाथि बसेर तीन दिन तीन रातसम्म रोएको रोयै गरिन् । उनको बलिन्द्रधारा आँसुले भिजेपछि ढलेको पर्खाल पहिरो बनेर बग्यो ।

पर्खाल बगेपछि उनको पति फान जिलियाङको शव भेटियो । मृत पतिलाई अंगालो मारेर मेङ कैयौं दिनसम्म रोएर बसिन् । त्यसपछि पतिको शव कुहिँदै जान थाल्यो, उनले त्यो शवलाई त्यहीं दफनाएर आफू पनि नजिकैको विशाल दहमा हामफाली ‘जलसमाधि’ लिइन् । आज पनि त्यो ठाउँमा मेङ जियांनु रुँदै पति फान जीवित बनून् भनेर विलाप गरिरहेकी भेटिन्छिन् भनिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाको २० सदस्यीय टोली चीन भ्रमणमा जाँदै