इलाम । दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) कालोपत्रेका लागि ठेक्का लागेको भए पनि निर्माण कार्य अलपत्र छ । काम गर्दागर्दै निर्माण कम्पनी भागेपछि सडक अलपत्र बनेको हो ।
दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर कालोपत्रेका लागि लागेको ठेक्काको समय बारम्बार थपिए पनि ठेकेदारको लापरबाहीका कारण सडक अलपत्र परेको हो ।
तीनवटा खण्डमा विभाजन गरेर पाँच वर्षअघि तीन वर्षमा काम पूरा गर्नेगरी ठेक्का लागेको थियो । सडक निर्माण भएको २५ वर्षपछि बहुवर्षे योजनासहित निर्माणको काम पूरा गर्नेगरी बजेटसहित ठेक्का लागे पनि समयमा काम नहुँदा स्थानीयले समस्या भोगिरहेका छन् ।
दमकबाट पहिलो खण्ड ७ किलोमिटर पहिलो प्याकेजका लागि चारपटक म्याद थपिए पनि काम पूरा भएको छैन । पहिलो खण्डअन्तर्गत सडक कालोपत्रे गर्ने ठेक्का महालक्ष्मी–किराँतेश्वर जेभीले ३० महिनाभित्र सक्नेगरी २०७५ साल साउन अन्तिममा सम्झौता गरेको थियो । ठेक्का परे पनि ठेकेदारले काम नगर्दा सडक नै अलपत्र बन्न पुगेको छ ।
दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्डको ११ किलोमिटर सडक निर्माणको ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको थियो । दोस्रो खण्ड ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो खण्ड ५९ करोड १५ लाख ३५ हजार रुपैयाँमा ठेक्का लागेको भए पनि काम भने अत्यन्तै सुस्त भएको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी इन्जिनियर गौतमकुमार देवले बताए ।
‘यसको पनि म्याद केही महिनाअघि नै सकिएको छ,’ उनले भने, ‘दोस्रो खण्डमा करिब ६२ प्रतिशत काम भएको र तेस्रो खण्डमा २८ प्रतिशत काम भएको छ ।’ निर्माण व्यवसायीलाई बारम्बार रूपमा काम अघि बढाउनका लागि निर्देशन दिइएपनि अटेर गरेको उनको भनाइ छ । समग्रमा ३३ किलोमिटर सडकमा ५० प्रतिशत मात्र काम भएको सो कार्यालयले जनाएको छ ।
झन्डै ३३ वर्षदेखि यो सडक दमकसहित आसपासको क्षेत्रको चुनावी एजेन्डा तथा प्राथमिक मुद्दा बनिरहेको छ । २०४८÷०४९ सालदेखि सडकको विषयमा चर्चा हुँदै आएको हो । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर विभिन्न पार्टीका नेताले समेत यस सडक निर्माण आफूहरूको प्राथमिकता रहेको बताउने गरेका छन् ।
सडक अलपत्र बनेपछि माङसेबुङ गाउँपालिकाले गत ६ असोजमा जिल्ला प्रशासन कार्यालय इलामलाई पत्र काटेर सहजीकरणका लागि आग्रह गरेको थियो । गाउँपालिकाका अध्यक्ष हेमन्त राईले हस्ताक्षर गरेको पत्रमा संघीय सरकारबाट दमक–चिसापानी रबी सडक निर्माणको काम रोकिएको र मर्मत सम्भारसमेत नहुँदा यातायात अवरुद्ध भएको, यात्रा कष्टकर भएकाले सहजीकरण गरिदिन उल्लेख छ । सडकमा भेल बाढीको निकास नहुँदा कतिपय ठाउँमा सडक नै भत्किएको छ । बाटो कटिङ र ब्रेकर लगाई सडक अलपत्र बनाएर निर्माण कम्पनी लुम्बिनी गणपति जेभी सम्पर्कविहीन बनेपछि सडकको अवस्था झन नाजुक बन्न थालेको हो ।
‘सडक अलपत्र छोडी निर्माण कम्पनी अलपत्र हुँदा दमकदेखि माङसेबुङको चिसापानी जोड्ने सडक त अलपत्र बन्यो नै, सडकको समस्या हुँदा त्यहाँका जनताले सास्ती भोगिरहेका छन्,’ माङसेबुङ गाउँपालिकाका प्रवक्ता सुसान राई भन्छन् ।
सडक आसपासमा निर्माणका लागि ल्याइएका रोलर, ग्रेडर, स्काभेटर, जेसीभी, टिप्परलगायत थुप्रै उपकरण देखिन्छन् । तर, ती उपकरणमा खिया लाग्न थालिसकेका छन् भने निर्माण हुँदै गरेको काम किन रोकियो भन्नेमा स्थानीय बेखबर छन् ।
लुम्बिनी गणपति जेभी नयाँबानेश्वर काठमाडौंले ५९ करोड १५ लाख ३५ हजार ८ सय ३४ रुपैयाँ (भ्याट र पीएसहित)मा सडक कालोपत्रे र स्तरोन्नति गर्ने कार्यका लागि २ फागुन २०७६ मा सम्झौता गरेको थियो । २ फागुन २०७९ मा सम्पन्न गर्नेगरी सम्झौता भए पनि समयमा काम नभएपछि एक वर्षका लागि म्याद थपिएको थियो । थप गरिएको म्याद पनि फागुनमा सकिँदै छ । तर, सडक भने निर्माण भएर होइन भत्किएर सकिने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।






