विश्वकपपछि कतारमा भएको परिवर्तन

काठमाडौं । सन् २०२२ को विश्वकप कतारमा सम्भव भएको थियो । विश्वकप हुनुअघि फुटबलभन्दा बढी मानवअधिकार, कामदारको अधिकार, गर्मीलगायतको विषय चर्चामा थियो । त्यो विश्वकपपछि कतारमा केही सुधार भएका छन् । तथापि, त्यस विश्वकपलाई सम्भव बनाएका कामदारलाई बिर्सर्ने हो भने त्यो जस्तो क्रुर केही हुँदैन । एक वर्षअघि भएको कतार विश्वकपका खेलहरू पनि इतिहासकै सर्वाधिक रोमाञ्चक, नाटकीय र सम्झानलायक रहे ।

नेपालका लागि यो विश्वकप यस कारण पनि विस्मृतिमा रहिरहन्छ किनकि ठूलो संख्यामा नेपाली कामदारले कतार विश्वकपका स्टेडियमहरू निर्माण गरे । कतिले त्यही क्रममा ज्यानसमेत गुमाए । कति मान्छेको त्यहाँ मृत्यु भयो भन्ने विषय अझै अस्पष्ट छ । आप्रवासी कामदारहरूको मृत्युको तथ्यांक यथार्थ छैन । हजारौं घाइते भएका थिए । ज्याला चोरीको सिकार भए । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ह्युमन राइट्स वाचको विश्वव्यापी मामिलाका निर्देशक मिन्की वर्डेनले भनेका छन्, ‘यो फिफाका लागि सबैभन्दा धेरै कमाउने विश्वकप र विश्व खेलकुदको इतिहासमा सबैभन्दा घातक घटना थियो ।’

कतार विश्वकप सम्भव बनाएका कामदारलाई नबिर्सौं

दोहामा सन् २०२२ फिफा विश्वकपको सफलताले भने पर्यटन र गैरतेल आर्थिक गतिविधिलाई नयाँ उचाइमा भने अवश्य पु¥याएको छ । त्यसैगरी, त्यहाँको राजनीतिक तनाव कम हुन थालेसँगै कतारी व्यवसायीका लागि नयाँ अवसर खुल्दै छन् । सन् २०२२ मा कतारको अर्थतन्त्र ४ दशमलव ८ प्रतिशतले विस्तार भयो, यो विश्वकपको प्रभाव हो ।

त्यसैगरी, कतारमा भएको सो विश्वकप अर्जेन्टिनाका स्टार लियोनल मेसीका लागि सबैभन्दा स्मरणयोग्य रह्यो । उनले अन्ततः अर्जेन्टिनालाई विश्वकपको ट्रफी दिलाए र आफ्नो पुस्ताको उत्कृष्ट खेलाडीका रूपमा विरासत कायम गरे । विश्वकप इतिहासकै सर्वाधिक विवादास्पद यो विश्वकप संसारभरिका १ अर्बभन्दा बढी प्रशंसकले हेरे । उद्घाटन खेलको केही घण्टा अघिसम्म पनि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आलोचना भोगिरहेका थिए ।

उनले त्यतिबेला सुधार र परिवर्तनका लागि सयम लाग्ने र युरोपका मुलुकहरूमा पनि सयांै वर्षमा परिवर्तन भएको बताएका थिए । विश्वकप भएको एक वर्षपछि फर्केर हेर्ने हो भने कतारमा केही सुधार भएका छन् । खेलकुदका विषयमा परिवर्तन भएको छ । युवा तथा बालबालिकाले फुटबल खेलेको यहाँ देख्न पाइन्छ । तर, कामदारको अधिकारका विषयमा अझै सोचेजस्तो परिवर्तन भएको छैन कि ?

सन् २०२१ मा द गार्डियनले आफ्नो रिपोर्टमा कतारले सन् २०१० मा विश्वकप आयोजना गर्ने घोषणा गरेपछि ६ हजार ५ सय दक्षिण एसियाली आप्रवासी कामदारको मृत्यु भएको जनाएको थियो । ती सबै मृत्यु विश्वकप पूर्वाधार परियोजनासँग भने जोडेको छैन । तर, कतारमा कामदारले जोखिम मोल्नुपर्छ भन्ने स्पष्ट पारेको छ ।

कतारको तयारीको नेतृत्व गर्ने व्यक्ति हसन अल थावादीले सीएनएनको बेकी एन्डरसनलाई भने कि गार्डियनले गरेको ६ हजार ५ सयको मृत्युको आँकडा भ्रामक थियो । साँचै भन्ने हो भने गर्मीमा काम गर्ने आप्रवासीमध्ये धेरैले पूर्वाधार निर्माणमा काम गर्नुपर्ने भएकाले विश्वकप आयोजनाका लागि कति मानवीय क्षति भयो यकीन छैन । प्रतियोगिताका लागि प्रयोग गरिएका स्टेडियमहरू निर्विवाद रूपमा अहिले प्रयोग भएका छन् त ? केही भने सांस्कृतिक गतिविधि र खेलकुदका लागि प्रयोग भएका छन् भने अन्य खाली नै छन् ।

प्रतियोगिताको एक वर्षपछि एमनेस्टीले कतारमा आप्रवासी कामदारहरूको अधिकारमा केही सुधार भएको बताएको छ । फिफा र कतारले प्रगतिको दाबी गरे पनि विश्वकपपछि पर्याप्त काम नभएको त्यस संस्थाले जनाएको छ । एमनेस्टीका अनुसार काम स्थानान्तरणको सुविधाका लागि अनुमति अझै आवश्यक छ । जबकि, ज्याला चोरी शोषण अझै सामान्य रूपमा नै लिइन्छ । ‘सन् २०२२ को विश्वकप सम्भव बनाएका कामदारहरूलाई बिर्सनुहुँदैन,’ एम्नेस्टीले आग्रह गरेको छ ।

आलोचनापछि विश्वकप विरासत कोष स्थापना भयो, जसले विकासोन्मुख मुलुकहरूमा बालबालिकाको शिक्षामा केन्द्रित हुने बताइयो र श्रम उत्कृष्टता केन्द्र स्थापना पनि भए । फिफाले श्रमिक अधिकारमा भएको प्रगतिको अनुगमन गर्न अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)जस्ता अधिकारीहरूसँग काम गर्न जारी राखेको जनाएको छ । फिफाले कतारमा विश्वकपका कारण निर्विवाद रूपमा प्रगति भएको र विश्वकप सुधारका लागि उत्प्रेरक रहेको बताएको छ । अझै पनि उसले धेरै काम गर्न आवश्यक रहेको फिफाले स्विकारेको छ । आईएलओले नोभेम्बरमा एक अद्यावधिक प्रतिवेदन प्रकाशित गरेर कामदारहरूको अधिकारमा सुधार भएको जनाएको छ ।

स्थानीयका लागि विश्वकपको स्मृति लामो समयसम्म रहनेछ । स्थानीयले पनि नयाँ स्वाद पाए । पर्यटकहरूलाई साथी बनाउने, सांस्कृतिक आदानप्रदान गर्ने काम भयो । अहिले कतार हरेक पक्षमा अघि बढिरहेको स्थानीयले आभास गरिरहेका छन् । विश्वकपपछि कतारमा महिला पर्यटकको पनि वृद्धि भएको पाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 660 times, 1 visits today)

epaper

ताजा समाचार

फिल्डिङमा सुधार गर्नुपर्नेछ, प्लेअफ पुग्छौँ: सन्दीप लामिछाने