कानुन व्यवसायीमा चुनावी सरगर्मी बढ्यो

राजविराज स्थानीय कानुन व्यवसायीको साझा संगठन उच्च अदालत बार एसोसिएसन राजविराजको निर्वाचन मिति नजिकिएसँगै कानुन व्यवसायीमा सरगर्मी बढाएको छ ।

लोकतान्त्रिक र प्रतिगतिशील समूहबीच कडा टक्कर

एसोसिएसनको अगामी पुस १४ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ । अध्यक्षसहित १३ पदका लागि हुने निर्वाचनमा लोकतान्त्रिक कानुन व्यवसायी समूह तथा प्रगतिशील पेसागत समावेशी कानुन व्यवसायी समूह प्यानलसहित चुनावी मैदानमा उत्रेका छन् ।

लोकतान्त्रिक कानुन व्यवसायी समूहबाट अध्यक्ष पदमा हरेराम यादव, उपाध्यक्ष धमेन्द्र यादव, सचिव मो.समिम अख्तर र कोषाध्यक्षमा उमाशंकर देव रहेका छन् । सोही प्यानलबाट सदस्यमा डा. सन्तोषकुमार चमन यादव, दिनेशकुमार सिंह, डा. शिवनारायण यादव, रामचन्द्र मण्डल, राजकुमार साह, नित्यदेवप्रसाद यादव, चन्द्रकान्त यादव, किसुनदेव ठाकुर र कौशलकिशोर दत्त चुनावी मैदानमा छन् ।

यस्तै, प्रगतिशील पेसागत समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्ष पदमा बलरामप्रसाद सिंह, उपाध्यक्षमा तेजनारायण चौधरी, सचिवमा दानोकुमारी चौधरी र कोषाध्यक्षमा बालकृष्ण कार्की रहेका छन् ।

सो प्यानलबाट सदस्यमा प्रदिपकुमार मण्डल, उदयचन्द्र जैन, राजकुमार टरैत, भागवत यादव, रामनारायण चौधरी, प्रेमकुमार आले, लिलाम्बर कर्ण र सुरेन्द्रकुमार दास चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

कोषाध्यक्ष पदमा दुवै प्यानलमा नरही स्वतन्त्र उम्मेदवारी दिएर उपेन्द्र यादव पनि आफ्नो भाग्य आज मनाउँदै छन् । मनोनयन फिर्ता लिने अन्तिम दिन बिहीबार यादवले आफ्नो नाम फिर्ता नलिएर उम्मेदवारी कायमै राखेपछि कोषाध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

सहसचिव पदमा भने दुवै प्यानलबाट उम्मेदवारी नपरेपछि सो पद रिक्त हुन गएको र सो पद पछि मनोनयन प्रक्रियाबाट पूर्ति गरिने निर्वाचन समितिले जनाएको छ । यस्तै, केन्द्रिय पार्षद पदमा लोकतान्त्रिक कानुन व्यवसायी समूहका सबै ९ जना निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक धिरेन्द्रकुमार यादवका अनुसार केन्द्रिय पार्षद पदमा डा. देवनारायण यादव, रणधिरकुमार कर्र्ण, अशोककुमार झा, बलवीर चौधरी, बालाकृष्ण ढुंगाना, मिथलेशचन्द्र लाभ, गुञ्जेश्वरप्रसाद यादव, रामनारायण देव र भूपनारायण यादव निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष पदका दुवै उम्मेदवारले स्वच्छ न्यायिक वातावरणको सिर्जना, पेसागत हकहितको संरक्षण कानुन तथा न्यायमा सबैको सहज पँहुच, न्यायपालिकाप्रति जनताको आस्था बढाउनेलगायतका विषयमा काम गर्ने प्रतिबद्धता कानुन व्यवसायीमाझ राख्ने गरेका छन् ।

अध्यक्ष पदका दुवै उम्मेदवार कानुन व्यवसायीमाझ निकै लोकप्रिय भएकाले कसको पल्ला भारी होला भन्ने आँकलन गर्न कठिन भएको मतदाताको भनाइ छ ।

२ वर्षे कार्यकालका लागि हुने एसोसिएसनको निर्वाचनमा कुल २ सय ३ मतदाता रहेको तथा मतदान सकिएकै दिन मतगणना कार्य सुरु हुने कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

epaper

ताजा समाचार

ममाथि निर्मम छानबिन होस्, बदमासी प्रमाणित भए सजाय भोग्न तयार छु: खगेन्द्र सुनार