काठमाडौं । दुई कलाकार दीया मास्के र सरिता साह यतिबेला नयाँ नाटक ‘गुलाफः यशोधराको जागरण यात्रा’को अभ्यासमा व्यस्त छन् । मण्डला थिएटरमा सोमबार नाटकको अभ्यास गर्दा उनीहरुले सम्बाद बोलेनन् । बरु उनीहरु एकोहोरो चरित्रमा डुबेको देखियो । यो नाटकको मुख्य कलाकार पनि यी दुई नै हुन् ।
यो नाटकको मञ्चन नेपालबाट सुरु भएर विभिन्न देशमा प्रदर्शन गरिने भएको छ । ११ पुसमा मण्डला नाटकघर थापागाउँमा पहिलो प्रदर्शन गरिने यो नाटकलाई त्यसपछि युरोपका शहरहरुमा मञ्चन गरिने भएको छ । यो नाटकलाई नाटक सोमबारबाहेक ११ पुसबाट २२ पुषसम्म हरेक दिन ४ बजे र शनिबार थप मञ्चन दिउँसो १ बजे पनि गरिने आयोजक पक्षले जनाएको छ ।
नाटकलाई राम हरि ढकालको परिकल्पना तथा निर्देशन गरिरहेका छन् । नाटकलाई थिएटरको ‘फिजिकल थिएटर’ विधामा तयार पारिएको निर्देशक ढकालले बताएका छन् । सोही कारण पनि यो नाटकमा संवाद छैन । यसको अंग्रेजी नाम ‘द रोजः एन अवेकनिङ जर्नी अफ यशोधरा’ राखिएको छ ।
यस नाटकको विधा मात्रै विशेष नभई मञ्च र दर्शक संयोजन पनि विशेष रहेको छ । ‘गुलाफ’को मञ्च नाटकघरको बीचमा तयार पारिएको छ । जसमा मञ्चको चारैतिरबाट दर्शकले अवलोकन गर्न सक्नेछन् । ‘गुलाफ’ हेर्न एक शोमा ६४ जनाले मात्र प्रवेश पाउने निर्देशक ढकालले बताए ।
नाटकको कथा’bout जानकारी गराउँदै निर्देशक ढकालले भने,‘सिद्धार्थ गौतमले आफ्ना प्रश्नहरुको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई ‘गुलाफ’ले आफ्नो विषय हामीले बनाएका छौं ।’ उनले अगाडि थपे,‘त्यस चरम पीडा र बिछोडको कारणले राजकुमार सिद्धार्थकी पत्नी यशोधराभित्र सिर्जित भावनाहरु, विकारहरु र त्यसले पारेको प्रभाव र परिवर्तनहरु नै यो नाट्य प्रस्तुतिको मूल विषय हो । यसमा यशोधराको पीडादेखि जागरणसम्मको आन्तरिक भावनात्मक यात्रालाई शारीरिक भावभङ्गीमार्फत उजागर गर्ने कोशिस गरिएको छ ।’
नाटकमा देव न्यौपानको ध्वनि संयोजन, उमेश तामाङको प्रकाश संयोजन, सञ्जिता पराजुलीको भेषभुषा, हुम बि.सी.को मञ्च निर्माण, अनामिका गौतमको आवरण कला र केदार श्रेष्ठको मञ्च व्यवस्थापन रहेको छ । ठेट्ना आर्ट्स र मण्डला थिएटरको प्रस्तुति रहेको यस नाटकलाई आर्ट एण्ड कल्चर नर्वे, नोर्दिक कल्चर फण्ड, फुक नोले पनि सघाएको ढकालले बताए ।






