काठमाडौं । अग्रज मूर्तिकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति ठाकुरप्रसाद मैनालीले आफ्नो नयाँ पुस्तकहरु ‘कलाका कुरा’, ‘मेरो कामना’ र ‘सिर्जना र विवेचना’ सार्वजनिक गरेका छन् ।
बिहिबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच यी पुस्तकलाई प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ रमेश खनाल, ज्ञानेन्द्र विवश लगायतले लोकार्पण गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारीले मैनाली नेपाली आधुनिक मूर्तिकला क्षेत्रका विशिष्ट प्रतिभा भएको बताए ।
कार्यक्रममा बोल्दै कला लेखक तथा प्राज्ञ ज्ञानेन्द्र विवशले ठाकुरप्रसाद मैनाली समग्र नेपाली कलाको दस्तावेजको भएको बताए । उनले कृतित्वलाई कलाकार, विद्यार्थीको लागि निकै उपयोगी हुने बताए ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली नेपाली मूर्तिकलामा ठाकुरप्रसाद मैनाली जिउँदो सम्पदा हुन भने । पुस्ता हस्तान्तरणका लागि सदैव ऊर्जा दिने उनका व्यक्तित्व, कृतित्व उदाहरणीय भएको कुलपति हार्तम्छालीले बताए ।
यस्तै प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले मैनालीले विविध पाटोमा काम गर्न सकिन्छ भने,‘उहाँको ऊर्जाशील जीवन अझ सिर्जनशील होस् भन्ने कामना गर्दछु ।’
यस्तै मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले सार्वजनिक पुस्तकहरू कला इतिहासका दस्तावेज भएको बताए,‘कला सिर्जना गर्ने खुराकका रूपमा यी पुस्तकहरू आएका छन् ।’ उनले भने ।
यी तीन पुस्तकका लेखक एवम् पूर्वउपकुलपति ठाकुरप्रसाद मैनालीले आफ्नो पुस्तकहरु कलाका कुरा, मेरो कामना, सिर्जना र विवेचना कला क्षेत्रमा रुची राख्ने कलाप्रेमी तथा पाठकहरुका लागि उपयोगी हुने भएकाले आफुले प्रकाशन गरेको बताए ।