द्वन्द्वकालका बारुदी सुरुङबाट नागरिकलाई अझै खतरा

काठमाडौं । नेपालमा शान्ति सम्झौता भएको १७ वर्ष पूरा भए पनि द्वन्द्वकालका अवशेषहरु बाँकी रहेकाले नागरिकलाई अझै खतरा कायमै रहेको बताइएको छ । बारुदी सुरुङ सम्बन्धी काम गरिरहेको संस्था बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खतरा औल्याएको हो ।

अभियानका संयोजक पूर्णशोभा चित्रकारले शान्ति सम्झौता भएको सत्र वर्ष पूरा भए पनि द्वन्द्वले छाडेका अनेक समस्याहरु कायमै रहेकाले नागरिकहरु खतरामुक्त नरहेको बताइन् । बारुदी सुरुङ, द्वन्द्वको अवशेषको रुपमा रहेका विस्फोटक पदार्थबाट खतरा कायमै रहेको उनले बताइन् ।

‘नेपालमा शान्ति सम्झौता भएको १७ बर्ष पुरा भइसकेको छ । शान्ति सम्झौता भएको १७ बर्ष पुरा भए पनि द्धन्दले छोडेका अनेकौं समस्याहरु अहिले पनि उस्तै छ । त्यो मध्ये बारुदी सुरुङ द्धन्दको अवशेषको रुपमा रहेको बिष्फोटक पदार्थहरुबाट अझै पनि खतरा छ’ चित्रकारले भनिन् ।

विशेषगरी रोल्पा, हुम्ला, रुकुम, कालिकोट, लमजुङ, सुर्खेत, मुस्ताङ, रुपन्देही, दैलेख, सुर्खेत, बाँके, बैतडी, कैलाली, कञ्चनपुर, दाङ, सुनसरी, सप्तरी, झापा, ताप्लेजुङ, भक्तपुर, काठमाडौं लगायतका जिल्लामा यस्ता विस्फोटक पदार्थको अवशेषको खतरा रहेको संयोजक चित्रकारले बताइन् ।

शान्ति प्रक्रियाको टुङ्गो लगाउने काम भइरहेका बेला द्वन्द्वका यस्ता अवशेषको पनि उचित व्यवस्थापनको खाँचो रहेको संयोजक चित्रकारको भनाइ छ । २०५२ देखि २०६२ दश वर्षमा सुरक्षाकर्मी र सर्वसाधारण गरी ५ सय २९ जनाको विस्फोटक पदार्थबाट ज्यान गएको तथ्यांक उनले सार्वजनिक गरिन् ।

‘शान्ति प्रक्रिया पछि पनि बालबालिका, महिला तथा सर्वसाधारणहरुको मृत्यु भएको छ, घाइते भएका छन् । अङ्गभगभएका छन्, द्धन्दपछि यस्तो हुनु दुःखत हो । यसले नेपाली जनताहरुको दिगो शान्तिको चाहनामा गहिरो ठेस पुगेको छ’ चित्रकारले भनिन् ।

त्यस्तै, एक हजार २ सय ७३ घाइते भएको र त्यसमा ४८ प्रतिशत सर्वसाधारण रहेको सो संस्थाले जनाएको छ । २०६८ मा नेपाललाई माइनमुक्त घोषणा गरिए पनि ३० मंसिर २०८० सम्म नेपाल प्रहरी र सर्वसाधारण गरी २१ जनाको मृत्यु भएको र १ सय ४ जना घाइते भएको संयोजक चित्रकारले बताइन् ।

२०६८ देखि २०८० सम्म एक हजार ७ सय १८ वटा विस्फोटक पदार्थ फेला परेको र सोमध्ये ३६ वटा विस्फोटक पदार्थलाई नष्ट गरिएको तथ्यांक रहेको अभियानले जनाएको छ । सोहीअनुसार २०७० मा ३८४, २०७४ मा ४७९ वटा र २०७९ मा २२८ विस्फोटक पदार्थ फेला पर्नुले यसबाट नागरिकलाई खतरा जारी रहेको पुष्टि गरेको संयोजक चित्रकारले जानकारी दिइन् ।
बारुदी सुरुङ तथा घरेलु विष्फोटक पदार्थका विषयमा परिभाषामा पनि स्पष्ट हुनुपर्नेमा उनले जोड दिइन् । ‘द्वन्द्वका बेला नेपाली सेनाले मात्रै प्रयोग गर्ने गरेको सेन्सरबाट चल्ने÷पड्कने गरेको विष्फोटक बारुदी सुरुङ हो’ चित्रकारले भनिन्, ‘तत्कालीन माओवादी तथा सरकारी पक्षबाट पनि प्रयोग गरिएका स्थानीय विष्फोटक भने घरेलु विष्फोटक पदार्थ हुन् । ग्रेनाइटहरु भने यी क्याटोगरीमा पर्दैनन् ।’

पछिल्लो समय रक्षा मन्त्रालयले यस सम्बन्धी कार्यको जिम्मेवारी लिएर २०७९ सम्म काम गरिरहेको तर हाल आएर यो कामको विषय नै हटाइएको चित्रकारले उल्लेख गरिन् । यसको समस्या समाधानका लागि बीमाको व्यवस्था गरेर कभर गर्न सकिने उनको सुझाव छ ।

त्यस्तै, सरकारले बलियो संयन्त्र तयार गरेर यसलाई निष्कर्षमा पुर्याउँनुपर्ने पनि अभियानको माग छ । ‘सरकारले यससँग सम्बन्धित तथ्यांकको यथार्थता निकाल्न थप नागरिकको जीवनमा जोखिम हुन नदिनलगायतका समस्याका समाधानका लागि नीति बनाएर अघि बढ्नुपर्छ’ संयोजक चित्रकारले भनिन्, ‘बलियो संयन्त्रको समेत खाँचो रहेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा कांग्रेसले खोल्यो खाता