जुम्लाको पातारासीका वडा र स्वास्थचौकीमा छड्के

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाको टिमले वडा, पालिका र स्वास्थ्य चौकीमा छड्के अनुगमन गरेको छ । सेवाग्राहीको व्यापक गुनासो बढेपछि पातारासीका सातवटै वडा, पालिका र सबै स्वास्थ चौकीमा छड्के अनुगमन गरिएको हो ।

कर्मचारी कार्यालयमा समयमै उपस्थित नहुने, सेवाप्रवाह प्रभावित भएको र सेवाग्राहीले दुःख पाएको जनगुनासो बढेपछि मंगलबार छड्के अनुगमन गरिएको पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।

सबै वडा र स्वास्थ्य चौकीमा पालिकाको टिम छड्के अनुगमनमा पुग्दा कर्मचारीको लापरबाही देखिएको उपाध्यक्ष रोकायाले जानकारी दिइन् ।

‘एउटा स्वास्थ चौकीमा १० जना कर्मचारीमध्ये कार्यालय सहयोगीबाहेक नौ जना अनुपस्थित रहेको पाइयो । कतै हाजिरसमेत नगरेको भेटियो, विगतमा पनि अनुगमन गरिएको थियो, कर्मचारीलाई सुध्रन निर्देशन दिइएको हो, तर कार्यान्वयनमा आएन, पालिकामै कर्मचारीलाई बोलाएर बारम्बार सच्चिन निर्देशन दिइएको थियो, तर पनि टेरेको अवस्था देखिएन । आवश्यक बिदाबाहेक हाजिर नहुने कर्मचारीको तलब कट्टा हुने छ । यो गाउँपालिकाका कर्मचारीको हकमा समेत लागू हुने हो,’ उपाध्यक्ष रोकायाले भनिन् ।

वडाका जनप्रतिनिधिसमेत अनुपस्थित रहेको उनले बताइन् । पातारासी–५ का वडाअध्यक्षबाहेक सबै अनुपस्थित रहेको उपाध्यक्ष रोकायाले जानकारी दिइन् ।

उपाध्यक्ष रोकायाको नेतृत्वमा छड्के अनुगमनमा गएका पातारासी–५ का वडाअध्यक्ष दत्तबहादुर बुढा भन्छन्, ‘स्वास्थ्य चौकी पुग्ने बिरामी रित्तै फर्किनुपरेको छ, वडाका सेवाग्राही समेत मर्कामा छन्, एकातिर समय खेर गइरहेको छ, अर्काेतिर नागरिक सेवाबाट वञ्चित हुनु पर्दा नागरिकमा आक्रोश छ । कर्मचारी आफ्नो कर्तव्यपालनमा चुक्नुहुँदैन ।’

प्रायः वडा र स्वास्थ्य चौकी कार्यालय सहयोगीले खोलेको तर कर्मचारी अनुपस्थित रहेको पातारासी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दानबहादुर शाहीले बताए । अनावश्यक रूपमा अनुपस्थित हुने र सेवाप्रवाहमा लापरबाही गर्ने कर्मचारीको गयल अनुसार तलब काटिने समेत उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ