
रोज्न मिल्ने भए युवा मात्र होइन प्रौढले पनि आफ्नो र आफ्नो भावी पुस्ताको भविष्य निर्माणको थलोका रूपमा नेपाललाई पहिलो प्राथमिकतामा नरोज्ने स्थितिको निर्माण विगतका केही दशकमा भयो । अन्तराष्ट्रिय मानव बसाइँसराइँ न नौलो कुरा हो न त कुनै अनिष्टको संकेत नै हो । अलि उदार भएर सोच्दा यो पृथ्वी सम्पूर्ण प्राणी जगतको एउटा साझा घर हो र एक ठाउँबाट अर्को ठाउँमा मान्छे आउजाउ गर्ने, रोजी रोटी र खुसीको खोजीमा संसारका विभिन्न कुनामा बास सर्ने काम स्वभाविक हो । देशभित्रकै एक कुनाबाट देशकै अर्को कुनामा जानु, गाउँबाट सहर पस्नु र काठमाडौंबाट सिड्नी, न्युयोर्क वा लन्डन जानुमा तात्विक भिन्नता पनि छैन । यसले समग्र मानव सभ्यतालाई जातीय, भाषिक वा धार्मिक संकिर्णताबाट माथि उठ्न पनि मर्मत गर्छ । आफ्नै संस्कृति उत्कृष्ट भन्ने अभिमान पनि केही कम गर्न मद्दत नै गर्ला । त्यसो हो भने आज दिनहुँ हजारौं युवा रोजगारीका लागि वा स्थायी बसोबासकै सपना लिएर अन्तराष्ट्रिय विमानस्थलमा बोर्डिङ पास लिन लाम लागिरहेको कुरा हामीमध्ये धेरैको चिन्ताको विषय किन बनेको छ त ? के यो चिन्ता जायज हो त ? चिन्तै लिनु नपर्ने विषयमा हामीले चिन्ता गरेका हौं त ? यो चिन्ता हालका केही वर्षमा मात्र किन तीव्र रूपमा बढेको होला जबकि लाखौं नेपाली परदेशमा रोजगारीका लागि काम गर्न लागेको दशकभन्दा बढी भइसकेको छ ? यसको आर्थिक र सामाजिक असर नेपालमा कस्तो पर्ला ? के यो नेपालको मात्र समस्या हो कि प्रायः सबै विकासोन्मुख देशहरूको समस्या हो ? के विकास नभएर यस्तो भएको हो त ? के नेपालमा शिक्षा र स्वास्थ्य निःशुल्क भए यो रोकिने छ त ? यस्तै विषयमा आज केही घोत्लिने प्रयास गरौं ।
पहिलो कुरा त देशको अस्तित्व र स्वार्थ आजको यथार्थ हो । मानिस देशमा विभाजित छन् । विकास र संवृद्धिको संवाहक देश नै हुन हालसम्मलाई । देशको स्वार्थमा नै अन्तराष्ट्रिय राजनीति, सम्बन्ध वा युद्ध पनि हुने गरेका छन् । ‘३ करोड नेपालीले देश छोडेर करोडपति हुन्छन् भने के फरक पर्छ र ? भन्ने परिस्थितिमा हामी छैनौं । विश्व नै आफ्नो घर भन्ने धारणा हाललाई केवल आदर्श हो । संसार आदर्शले होइन यथार्थले चल्छ । देशविहीनलाई जति यो आदर्शको खोक्रोपना अरू कसैलाई महसुस हुँदैन होला सायद । देशको अर्थ नहुने हो भने सबै युक्रेनीले आफूलाई रसियन माने त युद्ध बन्द भइहाल्छ नि । संसारका सबै सीमा विवाद किन हुन्थे ? आफ्ना नागरिक मारिँदा र अन्य देशको नागरिक मारिँदाको ठूलो भिन्नता मेटिने अवस्था निकै सुदूरको भविष्यमा पनि आउने होइन । यो लेखमा म देशको अस्तित्व र स्वार्थ महत्वपूर्ण हुन्छ भन्ने कुरालाई आधार मानेर तर्क प्रस्तुत गर्छु । यो मान्यतामा नै असहमत हुनेका लागि युवाको समूल बहिर्गमन कुनै पनि समस्या होइन ।
नेपालबाट दुई कारणले मानिस बिदेसिने गरेका छन्, रोजगारी र शिक्षा । नेपालीहरू अध्ययनका लागि बिदेसिने क्रम त राणा शासनकै बेलादेखि सुरु भएको हो । सरकारले नै प्राविधिक शिक्षाका लागि केही नागरिकलाई विदेश पठाउँथ्यो । नेपालीहरू वनारस गएर पढ्ने क्रमको इतिहास पनि सयौं वर्षकै छ । निकै ठूलो संख्यामा रोजगारीका लागि जान थालेको त सुगौली सन्धिदेखी हो । विश्वयुद्धमा पनि नेपाली आयआर्जनका लागि निकै ठूलो संख्यामा विदेश गएका थिए । तर, नेपाली स्थायी रूपमा ठूलो संख्यामा विदेश जाने वा लगातार दसकौंसम्म रोजगारीका लागि जनसंख्याको ठूलो हिस्सा विदेशमा बस्ने कुरा चाहिँ नयाँ हो । नेपालमा माओवादी आन्दोलनको समाप्तिसँगै रोजगारीका लागि विदेश जानेको भेल आउन थालेको हो । त्योभन्दा पहिले नेपालमा रोजगारीको अवसरको छेलोखेलो पनि थिएन र देश विकसित पनि थिएन । अनेक नकारात्मक आर्थिक–सामाजिक असरका वाबजुद युवाको समूल बहिर्गमन आम नेपाली बौद्धिक र राजनीतिक जगतको चिन्ताको विषय बनेको थिएन । काठमाडौंलाई यसले छोएको थिएन । यसका केही कारण छन् ।
पहिलो त त्यसरी विदेश गएकाले कठिन परिश्रम गरेर निकै ठूलो मात्रामा वैदेशिक मुद्रा देश भित्र्याउने काम गरे । यसबाट सबै खुसी नै भए । आममानिसको जीवनस्तर सुधार्न यसले निकै मद्दत मिल्यो । उपभोग बढ्यो । बजारमा माग बढेपछि आर्थिक क्रियाकलाप चलायमान भयो । आयात बढ्यो, सरकारको राजस्व पनि मजाले बढ्यो । बालबालिकालाई अलि राम्रो शिक्षा र स्वास्थ्य खरिद गर्न पाउँदा परिवार पनि खुसी हुने नै भयो । बेरोजगार युवाको राजनीतिक आक्रोश खेप्न नपरेपछि रजनीतिक नेतृत्वलाई पनि हाइसञ्चो नै भयो । विदेशबाट पैसा आएपछि घरजग्गा कारोबार पनि बढ्यो र धेरै मानिस रातारात धनी पनि बने । बालबालिका देशभित्रै रहेकाले र विदेश पढ्न जान नेपाली युवाको आर्थिक हैसियत नभइसकेकाले विद्यालय, विश्वविद्यालय, अस्पताल पनि ग्राहकका लागि तड्पिने स्थिति बनिसकेको थिएन । फेरि एकदिन फर्केर आउने निश्चित भएकाले नेपालको सांस्कृतिक क्षेत्रले पनि सुरक्षित नै महसुस ग-यो ।
विकसित देशमा भन्दा बढी आय आर्जन गर्न सक्ने वातावरण नेपालमा निर्माण हुनै सक्दैन । नेपालले शिक्षा र स्वास्थ्य सित्तैमा दिए पनि त्यसको गुणस्तर विकसित देशको जस्तो हुन सक्दैन । विकसित देशमा जति पूर्वाधार बनाउन हामीलाई कयौं दशक लाग्नेछ । हाम्रा लागि त्यति धेरै समय उपलब्ध नै छैन । विकसित देशहरूले उनीहरूको श्रमिकको अभावको समस्या समाधान गर्ने सबैभन्दा सजिलो र सस्तो उपाय नै हाम्रो जस्तो देशले निकै दुःख गरेर तयार पारेको युवाका लागि सीमा खुला गर्नु हो
समस्या त तब महसुस भयो जब त्यसरी वैदेशिक रोजगारीले गरेको आय आर्जनबाट शिक्षित बालबालिका युवा भए । अभिभावकबाट विदेशको स्वर्गीय विकासको कथा सुनेको र सामाजिक सञ्जालमा करिब प्रत्यक्ष पनि देखेको छ यो पुस्ताले । देशभित्र देखाइएको छलांगे र असम्भव विकासको सपना चकनाचुर भएको पनि यो पुस्ताले महसुस गरेको छ । जब यो पुस्ता नै निकै ठूलो मात्रामा अरब र मलेसिया नभएर आफ्नो सपनाको संसार खोज्न अमेरिका, अस्ट्रेलिया र युरोप जान थाले तब यसको धक्का समाजको चारैतिर पर्न थालेको देखिएको हो । किनकि यो पुस्ताको आर्थिक स्तर र जीवनस्तर अघिल्लो पुस्ताको भन्दा निकै राम्रो भए पनि यसरी गएको युवा नफर्कने स्पष्ट देखियो । राज्यले अघिल्लो पुस्तालाई भन्दा निकै बढी सुविधा दिएको भए पनि, विदेश जाने क्रम यसरी बढ्यो कि यो कुरा देशमा दिर्घकालीन आर्थिक मन्दिको कारण नै बन्न सक्ने देखियो । यस्तो पीडादायी दिर्घकालीन आर्थिक मन्दी जापानजस्तो धनी देश वा युद्धले ग्रस्त देशमा मात्र स्वाभाविक मानिन्छ । घरजग्गा कारोबारमा नै यही कारणले कहिले उठ्न नसक्ने गरी गिरावट आउने सम्भावना देखियो । जहाँ युवाले नै आफ्नो भविष्य देख्दैन, घर किन बनाउँछ र जग्गा किन किन्छ ? कलेज र विश्वविद्यालय विद्यार्थीविहीन हुन लागेपछि अरू छटपटाहट देशमा देखा प¥यो बौद्धिक वर्गमाझ । आउने दशकमा विश्वविद्यालयमा होइन विद्यालयमा नै बालबालिका नहुने स्थिति आउने प्रस्ट छाँटकाँट छ । स्थानीय पालिकाहरूले विद्यालयका लागि नभई छोराछोरी नहुँदा मृत अभिभावकका लास राख्ने चिस्यान केन्द्रका लागि बजेट छुट्याएको समाचार बढ्ने देखियो । उसै पनि मागभन्दा निकै धेरै काठमाडौंमा बनेका घर र सटरहरू अझ धेरै खाली हुनेछन् ।
यस्तो विकराल स्थिति आउनुको कारण निकै धेरै युवाको निकै छिटो समयमा बहिर्गमन भएर हो । केही हजार मात्र बर्सेनि विदेश गएको भए ठूलो समस्या हुने थिएन । पहिले श्रमका लागि शिक्षा कम भएका मानिस विदेश जान्थे, अहिले राज्यले दसकौं लगाएर र निकै लगानी गरेर उत्पादन गरेका चिकित्सक, इन्जिनियर र अर्थशास्त्रीजस्ता नागरिक नै सबैभन्दा धेरै परदेशिने स्थिति आएको छ । जसका लागि भनेर बाटाघाटामा राज्यको लगानी प¥यो, त्यो वर्ग नै अब बाहिरिन तमतयार भएको छ । शारीरिक श्रमका लागि मात्र यो बहिर्गमन हुन्थ्यो भने, यसलाई चिन्ताको विषय मानिने थिएन ।
यो समस्यामा राज्यले गर्न सक्ने खासै केही नदेखिनु यसको अर्को डरलाग्दो पाटो हो । एउटा लोकतान्त्रिक र स्वतन्त्र नागरिक भएको देशले कसैलाई विदेश जानबाट जबर्जस्ती रोक्न हुँदैन र सक्दैन । पासपोर्टमा कोटा लगाउने काम क्रूर तानाशाही कदम हो । चिकित्सकले कतारमा वा अस्ट्रेलियामा पाउने मासिक १० लाख तलब नेपाल सरकार वा कुनै पनि निजी क्षेत्रले कुनै हालतमा दिन सक्दैन, सायद कहिले पनि सक्दैन । विकसित देशमा भन्दा बढी आय आर्जन गर्न सक्ने वातावरण नेपालमा निर्माण हुनै सक्दैन । नेपालले शिक्षा र स्वास्थ्य सित्तैमा दिए पनि त्यसको गुणस्तर विकसित देशको जस्तो हुन सक्दैन । विकसित देशमा जति पूर्वाधार बनाउन हामीलाई कयौं दशक लाग्नेछ । हाम्रा लागि त्यति धेरै समय उपलब्ध नै छैन । विकसित देशहरूले उनीहरूको श्रमिकको अभावको समस्या समाधान गर्ने सबैभन्दा सजिलो र सस्तो उपाय नै हाम्रो जस्तो देशले निकै दुःख गरेर तयार पारेको युवाका लागि सीमा खुला गर्नु हो । बालबालिकाको स्वास्थ्य र शिक्षामा खर्च नगरिक नै उच्च गुणस्तरको श्रमशक्ति उनीहरूले पाउने तरिका हो यो । आर्थिक मात्र होइन, लोकतान्त्रिक विकसित देशहरूलाई सीमा बन्द नगर्ने नैतिक दबाब पनि छ । रोजगारीको यथेस्ट अवसर सिर्जना गरेर समाधान हुने समस्या यो होइन । हाम्रो भन्दा कैयौं गुणा आय र राम्रो पूर्वाधार भएको भुटानमा युवा बहिर्गमनको स्थिति नेपालमा भन्दा भयाभव छ । युवालाई आकर्षण गर्ने गैरआर्थिक कारणको खोजी गर्नुको विकल्प छैन । त्यस्ता कारण’bout भविष्यका लेखमा उल्लेख गर्नेछु ।






