लकडाउनमा के गर्दै छन् खेलाडी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण अहिले विश्व खेलकुद गतिविधि ठप्प छ । खेलकुद पनि अछुतो छैन । झन्डै तीन सातादेखि नेपाली खेलकुद गतिविधि ठप्प छ ।

नेपाल सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न भिडभाड, रंगशाला, फुटसल, जिम क्लबलगायतको स्थान बन्द गराइसकेको छ । ११ चैतबाट सरकारले देशलाई लकडाउन गरेको छ । जसले गर्दा खेलाडीहरूले खेल्न पाएका छैनन् । दर्शकहरूले खेल हेर्न पाएका छैनन् । सबै आआफ्नो घरमा सेल्फ क्वारेन्टाइनमा छन् । उनीहरू आफूलाई फिट राख्न घरमै फिटनेस गर्न बाध्य छन् । आज लकडाउनको १२औं दिन सकिएको छ । तर, नेपालमा कोरोनाको प्रभाव घट्ने संकेत देखिएको छैन । यसले लकडाउन अझै बढ्न सक्ने देखाएको छ । नेपालमा झन्डै १३ सय जनाको कोरोना परीक्षण गर्दा नौ जनामा पोजिटिभ देखिएको छ । शनिबार मात्रै नेपालमा एकैपटक तीन जनामा कोरोनाको संक्रमण भेटिएको थियो ।

खेलकुद गतिविधि शून्य हुँदा खेलाडीहरूले के गरिरहेका छन् । नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार मात्रै खेलाडीको अवस्था’bout चासो देखाएको थियो । लकडाउनको समयमा अत्यावश्यक कामबाहेक कोही पनि घरबाट बाहिर निस्कन मिल्दैन । सबै घरभित्रै बसिरहेका छन् । सबैका लागि यो नौलो अनुभव हो । झन् मैदानमा खेलिरहने, विभिन्न देशमा खेल्न पुग्ने, प्रशिक्षण गर्ने खेलाडीका लागि त अझै नयाँ हो ।

सधैं खेल्ने खेलाडीलाई घरमै मात्र बस्दा कस्तो अनुभव होला । लकडाउनका बेला घरमै क्वारेन्टाइनमा बसिरहेका खेलाडीले के गरिरहेका होलान् । अरू बेला मुस्किलले भेट हुने खेलाडी अहिले परिवारलाई घरायसी काममा सघाइरहेका छन् । फुर्सदिला बनेका खेलाडीको अहिले सेल्फ प्रशिक्षणसँगै फेसबुक, इन्स्टाग्राम र टिकटक दिनभरि घरमा बस्दा दिन कटाउने माध्यम बनेको छ । करातेकी सुनिता महर्जन, कुसुम खड्का, एस्टर राई, अनुपमा मगर, भलिबलकी निरुता ठगुन्ना र रेश्मा भण्डारीलगायतका खेलाडी सेल्फ प्रशिक्षणसँगै टिकटकमा मस्त छन् ।

नेपामा मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्ण जित्न सफल करातेका मन्डेकाजी श्रेष्ठले परिवारसँग समय व्यतित गर्न पाउनु खुसीको कुरा रहे पनि खेलमा भने प्रभाव पार्ने बताएका छन् । ‘तत्कालै कुनै खेल छैन । तर, पनि निरन्तर प्रशिक्षण हाम्रो आवश्यकीय चिज हो । आफूलाई फिट राख्न घरमै नियमिति प्रशिक्षण गरिरहेको छु,’ स्वर्णधारी मन्डेले भने, ‘गुरुसँगको प्रशिक्षण र आफ्नो मात्रै प्रशिक्षणमा धेरै फरक हुन्छ । तैपनि हामी आफूलाई फिट राख्नेगरी प्रशिक्षण गरिरहेका छौं ।

त्योसँगै परिवारसँग पनि राम्रोसँग समय व्यतित गरिरहेका छौं ।’ कहिले प्रशिक्षण, कहिले अन्तर्राष्ट्रिय प्रतियोगिता, कहिले राष्ट्रिय प्रतियोगिता र कहिले कता गइरहनुपर्ने हामी खेलाडीलाई पक्कै पनि लकडाउन असहज फिल भएको होला । तर, यो भन्दैमा हामीले आफ्नो स्वास्थको पनि ख्याल गर्नुपर्नेमा उनको जोड छ । उनले सबैलाई घरमै बसी परिवारलाई समय र सघाइरहेको र सबैले सरकारलाई सहयोग गरिदिनसमेत आग्रह गरेका छन् ।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही यतिबेला आफ्नो गृह जिल्ला म्याग्दीमा सेल्फ क्वारेन्टाइनमा छिन् । उनले लकडाउनले खेलाडीको प्रदर्शनमा प्रभाव पार्ने बताएकी छन् । ‘लामो समय खेल्न नपाउदा खेलाडीको प्रदर्शनमा पक्कै पनि प्रभाव पर्नेछ । तर, यसबीचमा खेलाडीहरूले आफूलाई फिट राख्ने प्रयास गरिरहेको सामाजिक सञ्जालमा देखेको छु ।’ नेपाली महिला भलिबलमा स्वर्ण जित्ने पहिलो कप्तान बनेकी अरुणाले भनिन्, ‘म गाउँमा छु । आफूलाई पनि फिट राखिरहेको छु । यो नेपालको मात्र समस्या हैन विश्वकै समस्या हो ।

यसमा हामी गम्भीर हुनुपर्छ । अहिले खेलभन्दा पनि स्वास्थ्य ठूलो हो । सबैलाई सचेत रहन आग्रह गर्दछु ।’ उनले कहिले यसलाई गम्भीर रूपमा नलिएको र कोरोना जोक नरहेको र यसलाई गम्भीर रूपमा लिएर क्वारेन्टाइनमा बसेर सहयोग गरिदिनसमेत आग्रह गरेकी छन् । ‘अहिले गेमको सिजन हो । तर, विश्वव्यापी रूपमा नै कोरोनाको प्रभाव बढिरहेको छ । यो अवस्था सामान्य हुँदै जाओस् भन्ने आशमा छु,’ उनले थपिन् ।

एथ्लेटिक्सका युवा स्टार अजितकुमार यादव पनि अहिले घर (सप्तरी)मा सेल्फ क्वारेन्टाइनमा रहेका छन् । अस्वस्थताका कारण मुखैमा आएको १३औं साग गुमाएका अजितले एथ्लेटिक्समा एक साताको विश्राम हुने बित्तिकै पनि खेलमा प्रभावित हुने भएका कारण आफूलाई फिट राख्न घरमै अभ्यास गरिरहेको बताएका छन् । यी खेलाडीहरू मात्र होइन, फुटबलका अन्जन विष्ट र ब्याडमिन्टनका प्रिन्स दाहाललगायतका खेलाडीहरूले पनि घरमै रहेर लकडाउनमा आफूलाई फिट राख्ने प्रयास गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलियन कम्पनीको १ करोड १ लाख रूपैयाँ