बैतडीको भूमिराज मावि काटैको क्वारेन्टाइनमा स्थानीयले स्वास्थ्यकर्मी करनसिंह धामीलाई चिर्पटले हाने । उनको औंला चपाइदिए । संक्रमणको डरले रूपन्देहीमा चिकित्सक, दाङमा नर्स, सिन्धुली, धनगढीलगायत स्थानमा अस्पतालमा कार्यरत कर्मचारीलाई घरबेटीले दुव्र्यवहार गर्दै घर निकाला गरिदिए ।
भारतको दिल्लीमा साउदी अरबबाट आएकी महिलाले १२ मार्चमा मौजपुर मौहल्लास्थित डा. गोपाल झाको क्लिनिकमा स्वास्थ्य परीक्षण गराइन् । स्वास्थ्य जाँच गर्ने डा. झा, उनकी श्रीमती र छोरीसहित आठ जनामा कोरोनाको संक्रमण भेटियो ।
त्यस समयमा क्लिनिकमा उपचार गराएका बिरामी र उनले भेटेका अन्य गरी ९ सय जनालाई क्वारेन्टाइनमा राखियो । बिनापीपीई चेकजाँच गर्दा डाक्टर र नर्स कोरोना संक्रमित बिरामीबाट बच्न नसक्ने देखिएको छ । तर, हाल वीर अस्पताल, पाटन, सिभिल, कान्ति आदि अस्पताल तथा अन्य निजी र सामुदायिक अस्पतालमा ज्वरो, आकस्मिक र सामान्य बिरामीलाई हप्तौंदेखि एउटै मास्क लगाएर लगातार जा“च गर्ने काम भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयको १९ चैत २०७६ को सूचनामा कोरोना उपचारलगायत अन्य स्वास्थ्य सेवा सञ्चालनमा बाधा पु¥याउने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सचेत बनाइएको छ । यसबाट भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिनेगरी उनीहरूको पेसागत लाइसेन्स खारेज गर्न भन्दै परिषद्लाई पत्राचार गरिएको छ । त्यस्तै, १५ चैतको स्वास्थ्य सेवा विभागको परिपत्रबाट गम्भीर ध्यानाकर्षण भएको भन्दै २० चैत मा शारीरिक र दीर्घरोगका कारण कोही कसैलाई अग्रपंक्तिमा नराख्न सूचना जारी गरिएको पनि छ । प्रोत्साहन र हौसला बढाउन लाग्नुपर्ने नाममा मन्त्रालयको पछिल्लो कदमले द्वन्द्व बढाउने आशंका छ ।
एउटा पाल वा बाटोमा ज्वरो नापेको भरमा संक्रमण रोक्न सकिँदैन
वारेसनामा तयारदेखि अस्पतालमै बास अमेरिकाको एटलान्टास्थित सेन्ट जोसेफ अस्पतालकी एनेस्थिसिस्ट डा. माइकल अस्पतालमा नभई चेर्नाेबिलमा काम गरिरहेको महसुस गर्छिन् । चेर्नाेबिल ९० को दशकमा घटेको सबैभन्दा ठूलो र दर्दनाक आणविक दुर्घटना हो । मेमोनिड्स अस्पतालका आकस्मिक विभागमा कार्यरत स्वास्थ्यकर्मीले त परिवारलाई अन्यत्र स्थानान्तरण गरेका छन् । संक्रमण नफैलियोस् भन्दै कोलम्बिया विश्वविद्यालयले आफू मातहतका सबै स्वास्थ्यकर्मीलाई अस्पतालमै खाने र बस्ने व्यवस्था मिलाएको छ ।
एक नर्स संक्रमित भएपछि यो महामारी अरूलाई नसरोस् भनी आफंैले आत्महत्या गरिन् । थुप्रै स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि र गम्भीर जटिलता उत्पन्न भई एकपछि अर्काे मृत्यु देखिरहेका र सुनिरहेका धेरै डाक्टरले आफ्नो वारेसनामा बनाउन थालेका छन् । बेलायतमा चिकित्सकले पीपीई नदिइए काम छोड्ने चेतावनी दिएका छन् । यो संकटको अवस्थामा सरकारले अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीको रक्षा गर्नु आवश्यक छ ।
रोकथाम र उपचारको अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी विश्वका सबै देशमा संक्रमित भई मृत्यु भइरहेकाले सम्भावित संक्रमणबाट आफूलाई जोगाउन पीपीई अत्यावश्यक छ । यसका साथै परिवार र आफन्तलाई जोगाउन घरमा नगई अस्पतालमै बस्ने माग पनि गरिएको छ । डाक्टर र नर्सका यी माग अव्यावहारिक र अनुपयुक्त पनि छैनन् । सरकारले यसलाई पूरा गर्नुपर्छ । घरबेटीबाट दुव्र्यवहार गरिँदै घरनिकाला भइरहेकाको व्यवस्थापन गर्नुपर्छ । स्वास्थ्य पेसा तथा जागिर छोडेर बस्नेको ताँती लाग्न थालेको छ ।
व्यक्तिगत सुरक्षा कवच
नेपाल एयरलाइन्सको वाइडबडी जहाज गत शनिबार ओम्नी बिजनेस कर्पाेरेटमार्फत कोरोना परीक्षण र उपचारका लागि आवश्यक पीपीईलगायतका सामान लिन चीनको ग्वान्जाओ गयो । तर, एक सातामा पर्याप्त सामान आएन । थप ल्याउन पनि नसक्ने भयो । गुणस्तरहीन सामान ल्याउँदा अनियमितता भएको आवाज उठेपछि सरकारले सम्झौता रद्द ग¥यो । हाल यो कामको जिम्मा नेपाली सेनालाई दिइएको छ । स्वास्थ्यकर्मी भने मन्त्री, नेता, कार्यकर्ता र अन्यले लगाएको पीपीई र एन–९५ मास्क हेरेर चित्त बुझाउँदै छन् ।
पीपीई बिरामीबाट हुन सक्ने संक्रमण तथा जोखिमबाट सुरक्षाका लागि अत्यावश्यक छ । संक्रमित तथा आंशका गरिएकाको उपचार र परीक्षणमा व्यक्तिगत सुरक्षाका लागि स्वास्थ्यकर्मीले यसको प्रयोग गर्नु जरुरी हुन्छ । यसले बिरामी निको नभएसम्म लामो सम्पर्कमा रहने र सीधा सम्पर्कमा रहने स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउँछ । यो साच्चिकै सुरक्षा कवच हो । तर, पनि हाल यो बजारमा उपलब्ध छैन । यसको अभावका कारण निजी स्वास्थ्य संस्थाले काम नै बन्द गरेका छन् । कोरोनाको आशंकामा होस् वा सामान्य वा आकस्मिक सेवा सबै रोकेका छन् । यस्तो बेलामा स्वास्थ्यजस्तो संवेदनशील काम रोक्नु आफंैमा अनैतिक पनि हो ।
अन्य सरकारी स्वास्थ्य संस्थाले पनि सीमित बिरामी हेर्ने र उपचार गर्ने गर्दै आएका छन् । सुरक्षा कवजका रूपमा पीपीई आफैंले सिलाउन दिइरहेका छन् । कतिपयले मागेर वा चन्दा लिएर पनि स्वास्थ्य सुरक्षाका लागि जरुरी यी सामानले जेनतेन काम चलाइरहेका छन् । महामारी फैलाउने लक्षण नदेखिएका संक्रमित पनि हुन सक्छन् । जसको गम्भीरतापूर्वक निदान हुनु जरुरी छ ।
हालको समयमा राष्ट्रलाई स्वास्थ्यकर्मी र स्वास्थ्यकर्मीलाई सरकार र जनताको ढाडस, प्रोत्साहन, हौसला र पीपीईको आवश्यकता छ
विश्वभर सबै सचेत छन् । सावधानीपूर्वक हात धुने र सरसफाइ गर्ने, अत्यावश्यकबाहेकका बिरामीलाई अस्पताल नआउन प्रोत्साहन गर्ने गरिरहेका छन् । सकेसम्म टेलिफोन वा भिडियोमार्फत बिरामी हेर्ने र मेडिकल मास्क, पन्जा र गाउन अनिवार्य लगाउने पनि गरिरहेका छन् ।
क्षमता अभिवृद्धि
स्वास्थ्यकर्मीलाई कोरोना भाइरससम्बन्धी उचित तालिम नै नभनांै अभिमुखीकरण दिनुपर्छ । एउटा पाल वा बाटोमा ज्वरो नापेको भरमा संक्रमण रोक्न सकिँदैन । कोरोनासम्बन्धी प्राथमिक परीक्षणको अवस्थादेखि नै स्वास्थ्यकर्मीलाई पीपीई गाउन तथा एन–९५ मास्क अनिवार्य उपलब्ध गराउनुपर्छ । आफू सुरक्षित छु भन्नेमा ढुक्क नभइकन स्वास्थ्यकर्मीले उपचार गर्न सक्दैन । स्वास्थ्यकर्मीले सेवा दिन बन्द गर्ने अवस्था आउन नदिन सरकार सचेत हुनैपर्छ । महामारी फैलिएर जाँदा हामी सबैको जीवन स्वास्थ्यकर्मीको हातमा हुने भएकाले उनीहरूलाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा, मानिस बचाउन चाहिने भेन्टिलेटर, आईसीयू, औषधि र उपकरणको उपलब्धतामा ढिलो हुनुहुँदैन ।
हचुवामा कोरोनामुक्त घोषणा गर्न, नेपालमा कोरोना आउँदैन भन्न र नेपाली बलिया छन् भनी नचाहिने कुरा गर्न थाल्यौं भने त्यसले फाइदा पु-याउँदैन । बरु चिकित्सकका लागि आवश्यक पीपीई, स्वास्थ्य उपकरण, औषधिको व्यवस्थामा लाग्नु जरुरी छ । पशुपतिनाथले बचाउँछन् भन्ने सोचका धनीहरूलाई अब त बच्चा जन्मिसक्यो कहिले भोटो सिलाउँछौ ? भन्ने कतर्कले सताउन सक्छ ।
यस जैविक युद्धमा शहीद घोषणाको व्यवस्थाले स्वास्थ्यकर्मीको सम्मान र उनीहरूको बलिदानको उच्च मूल्यांकन हुनेछ । पीपीई नभएकामा उपलब्धता र भएकामा पनि सदुपयोगको अनुगमन जरुरी छ । त्यसले मात्र कोरोनाविरुद्ध लडाइँमा सबै स्वास्थ्यकर्मी मानसिक रूपमा तयार हुने देखिन्छ । स्वास्थ्यकर्मीहरूको कामप्रति आभार व्यक्त गर्दै मनोबल बढाउनु जरुरी छ । जनतालाई घरमा सुरक्षित राखेर कहिले अस्पतालमा, कहिले क्वारेन्टाइन त कहिले आइसोलेसन तथा सीमानाका खट्ने चिकित्सक नै हुन् । घरमै बसेर भए पनि उनीहरूको आत्मबल बढाउने, सकारात्मक अनुभव प्रचारप्रसार गर्ने अभियान चलाउने गर्नु जरुरी छ ।
हिम्मत गरौं र हौसला बढाऔं
कोरोना संक्रमणका बेला सबैले सुझाउने कुरा भनेको ‘घरमै बस’ भन्ने हो । अहिले घरमै बस्न छुट नपाउने भनेका स्वास्थ्यकर्मी हुन् । संक्रमणको उच्च जोखिममा रहेका र महामारीको अग्रपंक्तिमा रही काम गर्ने र बिरामीको उपचारमा खटिने चिकित्सकहरू नै हुन् । तिनैलाई बिनासुरक्षा बिरामी मानसिकतामा कसरी बिरामीको उपचारमा लगाउन सकिएला ? वुहानकै घटनामा अन्यभन्दा स्वास्थ्यकर्मीमा संक्रमणको खतरा तीन गुणा बढी थियो । स्वास्थ्यकर्मीले पनि घरपरिवार अन्य बिरामीलाई संक्रमित बनाएका थिए । पछि त ४२ हजार स्वास्थ्यकर्मी अन्यत्रबाट वुहानमा ल्याई उपचारमा संलग्न गराउनुपरेको थियो । ती स्वास्थ्य कर्मीलाई घर जान प्रतिबन्ध गरिएको थियो । रातारात उनीहरूका लागि विशेष किसिमका सुरक्षा पोसाक पीपीई तयार गरी हरेकलाई लगाउन दिइएको थियो । तर, नेपालले हरेकलाई पीपीई दिन सक्षम होला कि नहोला ? अमेरिकामा कार्यरत अस्पतालले संक्रमितसँग सम्पर्कमा आएकालाई घरमै क्वारेन्टाइनमा बस्नका लागि बिदा दियो । यसो गर्दा अस्पताल खाली भए । तसर्थ, नेपालका लागि समयमै मापदण्डअनुसारका पीपीई उपलब्ध गराई जोगाउन जरुरी छ ।
अन्त्यमा, स्वास्थ्यकर्मी पीपीई मात्र उपलब्ध भए जहसुकै जतिबेला पनि उपचार गर्न तयार रहेको सबैलाई अवगत छ । विगतमा पनि स्वास्थ्यकर्मी उपचारबाट पन्छिएका छैनन् वर्तमानमा पनि पन्छिदैनन् । भविष्यमा पनि पन्छिनेवाला छैनन् । स्वास्थ्यकर्मी पैसा र जागिरभन्दा पनि नागरिक र देशलाई कसरी जोगाउने भन्नेमा चिन्तित छन् । हालको समयमा राष्ट्रलाई स्वास्थ्यकर्मी र स्वास्थ्यकर्मीलाई सरकार र जनताको ढाडस, प्रोत्साहन हौसला र उपचार गर्न पीपीईको आवश्यकता छ ।






