स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता रहेको बताएका छन् ।
स्याङ्जाको हरिनास गाउँपालिकास्थित मातृभूमि माध्यामिक विद्यालयको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भनिन्, ‘भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धताअन्तर्गत नै भर्खरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ कदम चालेको छ ।’ उनले सरकार भ्रष्टाचार शून्यमा झार्ने अभियानमा छ । यो हाम्रो प्रतिबद्धता हो भन्दै यसमा सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
मन्त्री अर्यालले प्राविधिक शिक्षा आजको आवश्यकता भएको भन्दै अब सबै विद्यालयमा प्राविधिक शिक्षाको पढाइ हुनुपर्नेमा जोड दिए । शैक्षिक संस्थालाई बेरोजगार उत्पादनको केन्द्र बनाउन नहुने उनको भनाइ छ । मन्त्री अर्यालले भनिन्, ‘विद्यालयलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाउनुहँुदैन । बिस्तारै सबै विद्यालयमा प्राविधिक शिक्षा लागू गर्ने सरकारको लक्ष्य हो ।’
यसैबीच हरिनासको गाउँपालिकाको छैठौं गाउँसभा एवं हिउँदे अधिवेशनको उद्घाटन गर्दै मन्त्री अर्यालले जन चाहनाअनुरूप विकास निर्माणमा लाग्न जनप्रतिनिधिलाई आग्रह गरिन् । ‘निर्वाचनमा जुन पार्टीबाट चुनाव लडे पनि समग्र विकासका निम्ति एकजुट भएर सबै लाग्नुपर्छ’, उनले भनिन्, ‘अहिलेको मात्र नभएर पचासौं वर्षपछिसम्म काम लाग्ने दीर्घकालीन योजना बनाएर दिगो विकास निर्माणमा लाग्नुहोस् ।’