काठमाडौँ । पछिल्लो समय मन्दीको प्रभाव नेपाली गीत संगीत र म्युजिक भिडियोमा पनि परेको अभिनेता तथा मोडल सागर लम्साल ‘बले’ले बताएका छन् । बिहिबार काठमाडौंमा एक समारोहबीच गायक नरेश बुढाथोकी र सुन्दर मगरको स्वर रहेको गीत ‘अब अर्को जुनीमा’ को भिडियो सार्वजनिक कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘पहिलाको जस्तो म्युजिक भिडियो धेरै बनिरहेको छैन । तथापि अरुको तुलनामा मैले भने नियमित रुपमा भिडियो पाईरहेको छु ।’ हप्तामा तीन दिन टेली सृँखलाको छायाँकनमा व्यस्त भए पनि दुई दिन भने म्युजिक भिडियोलाई आफुले दिने गरेको पनि उनले बताएका छन्,‘मैले काम गर्दा निर्माण टिमले नेपाल झैँ सहजता दिनुभयो । मैले सक्दो मेहनत गरेको छु ।“
अब अर्को जुनीमा र अर्को एउटा गीतको भिडियोलाई आफुलाई ६ दिनको लागि अमेरिकामै बोलाईएको उनले बताए । ती दुई गीतको छायाँकन अमेरिकामा सकेर आफु एक साता भित्रै नेपाल आएको पनि उनले बताए । त्यहाँ व्यबसायिक कलाकार नभएपछि आफुलाई नेपालबाट बोलाईएको पनि उनले जानकारी गराए ।
बिहिबार रिलिज गरिएको गीतमा गायक मगरकै शब्द र सङ्गीत रहेको छ । यो गीतको भिडियोमा सागरसँगै दिलाशा बस्नेत, सृष्टी तिमल्सिना, शुभम श्रेष्ठ (मिराकल) लगायतको अभिनय रहेको छ । नेपट्युन इन्टरटेन्मेन्ट एलएलसी नामाक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा अमेरिकाको मनोरम दृश्यलाई समेटिएको छ ।
गायक बुढाथोकीले गीतलाई अडियो झैँ भिडियोमा पनि राम्रो बनाइएकोमा खुसी व्यक्त गरे । विदेशमा छायांकन भएता पनि भिडियोलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखिएको पनि उनले जिकिर गरे ।
गीतकार तथा गायक मगरले गीतलाई आधुनिक शैलीमा तयार पारेका बताए,‘यो गीतले प्रेमभाव व्यक्त गर्नुका साथै जीवनको महत्वलाई दर्शाएको छ । यसले रोमान्टिक फिल दिनुका साथै महत्वपूर्ण कथा पनि व्यक्त गरेको छ’, उनले भने । गीतमा उनले गम्भीर भावलाई प्रस्तुत गरेको बताए ।
सार्वजनिक भिडियोमा हेयर एण्ड मेकअप समिता श्रेष्ठ, कलर राजेन्द्र मोक्तान, सम्पादन मनोज कार्की, गीएफएक्स सन्तोष डिजाइन, निर्देशन र छायांकन शिशिर खातीले गरेका छन् । गीतलाई दिलाशा बस्नेतले निर्माण गरेका हुन् ।






