बान्जडामा हट्यो खानेपानीको चरम समस्या

कालिकोट । वर्षाैंदेखि खानेपानीको चरम समस्या झेल्दै आएका पलाँताको बान्जडा, लार्फा र मिजुबाडावासीले खानोपनीको समस्याबाट मुक्ति पाएका छन् ।

पलाँताको बान्जडा, लार्फ, मिजुवाडा, ढकेना र सितलागाउँका घर आँगनमै खानेपानी पुगेपछि पानीकै लागि दिनभरि गाउँकै एक सार्वजनिक कुवामा लाम लागिरहनुपर्ने बाध्यताबाट बान्जडाबासीले दसकौंपछि मुक्ति पाएका हुन् ।

४ सय घरधुरीका आँगनमै धारा

जिल्लामा खानेपानीको अभाव खेपेका विभिन्न गाउँवासीले पलाँताको खाडा–बान्जडाजस्तै काकाकुलको अवस्था भयो भनेर कुनै समय उदाहरण दिने गर्थे । अहिले त्यही खाडा बान्जडा र लार्फामा ४ सयभन्दा बढी घरधुरीमा घरघरमा पानीको धारा पुगेको छ ।

‘२०७४ सालको स्थानीय तहको निर्वाचनसम्म हामीले ४ घण्टा लगाएर एक गाग्रो पानी बोक्थ्यौं,’ पलाँता गाउँपालिका–२, लार्फाकी स्थानीय नानी दर्जीले भनिन्, ‘अहिले त धेरैको घरघरमा पानीको धारा आइसकेको छ, केहीको आउन बाँकी छ ।’

उनले थपिन्, ‘खानेपानी ल्याउनकै लागि पिठिउँमा डोको बोकेर ४ घण्टाको पैदल बाटो हिँड्नुपथ्र्याे, एक गाग्री खानेपानी भर्न दिनभर सार्वजनिक कुवामा लाइन लाग्नुपथ्र्याे । यस्ता समस्या झेलेकी हुँ, अहिले घरको आँगनमै पानी आउँदा खुसीको सीमा छैन, यति मात्र होइन अहिले त घरको बारीमा सिचाइँसमेत हुने गरेको छ । तरकारी पनि खान पाइएको छ ।’

घरआँगनमै खाने पानी आउँदा नानी दर्जी मात्र होइनन्, बान्जडा निवासी अमना प्याकुरेलको पनि खुसीको सीमा नै रहेन । वर्षले ७६ पुगेकी अमनाको दुःख सुनिनसक्नुको छ ।

‘बिहान पानी भर्न जाने चिन्ताले राति निन्द्रा नै आउँथेन, कतिबेला उज्यालो होला र डोको बोकेर पानी ल्याउन जाउँला भनेर मनमनमै चिन्ता पसिरहन्थो, यस्ता दुःखबाट मुक्ति पाइयो, बाँचेपछि सबै देख्न पाइन्छ भन्थे, हो रहेछ,’ अमनाले भनिन् ।

सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना (सुसा)का संयोजक धिरबहादुर भण्डारीका अनुसार जिल्लाकै सुक्खा क्षेत्र पलाँताको बान्जडा, मिजुवाडा, लाफा, राडुनेटा, ढकेना र सीतलगाउँका घरमा घरघरमा खानेपानी धारा पुगेको छ । खानेपानी योजनाबाट सबै समुदायमा गरी जम्मा ४ सय ३८ घरधुरीको घरघरमा धारा पुगेको हो ।

३ करोड रुपैयाँ लागतमा आयोजनाभित्र ४ सय ४१ मिटरसहितका धारा र विद्यालयमा शौचालय निर्माण गरिएको भण्डारीले बताए । ‘आयोजना सम्पन्न भइसकेका छन्, अब केही दिनमै गाउँपालिकालाई हस्तान्तरण गर्नेगरी तयारी भइरहेको छ,’ उनले भने ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाका अनुसार ४ सय ३८ घरमा खानेपानीको धारासहित पानी खसिसकेको छ ।

‘बान्जडा, लार्फा, मिजुवाडावासीले सदियौंदेखि खानेपानीको चरम अभाव झेल्नुपरिरहेको थियो । अहिले यो समस्या समाधान भएको छ, अब धौलगोहवासीले दिनभरको समय लगाएर लाइनमा बसेर पानी खानुपर्ने बाध्यताबाट मुक्ति पाएका छन,’ गाउँपालिका अध्यक्ष रोकायाले भने ।

पलाँता क्षेत्र अन्य क्षेत्रभन्दा विकट र दुर्गम छ । सुक्खा क्षेत्रमा पानीको स्रोत नै छैन । टाढाबाट खानेपानी बान्जडा क्षेत्रमा ल्याउनु निकै चुनौतीको विषय रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

epaper

ताजा समाचार

असनमा आजदेखि हरेक शनिबार सवारी निषेध