वीरगन्ज । वर्षौं मन्दिरको जग्गा अतिक्रमणको कोपभाजनमा परेको वीरगन्जस्थित जानकी मन्दिरको जग्गा अतिक्रमणमुक्त गरी भगवान् रामसीताको सालिक स्थापनासँगै प्राणप्रतिष्ठान गरिएको छ । भारतको अयोध्यामा भगवान् रामको मन्दिर स्थापना र रामललाको प्रतिमालाई प्राणप्रतिष्ठा गरिएकै दिन वीरगन्जको रामजानकी मन्दिरमा पनि मूर्ति स्थापना गरी प्राणप्रतिष्ठान गरिएको हो ।
यो कार्यले वीरगन्जका हिन्दुधर्मावलम्बीमा डबल उल्लास छाएको छ । उता भारतको अयोध्यास्थित राम मन्दिर र वीरगन्ज १० मा भएको जानकी मन्दिरमा संयोगले एकै दिन रामसीताको मूर्तिमा प्राणप्रतिष्ठान भएपछि वीरगन्ज त मधेस प्रदेशको अरू जिल्लाभन्दा अझ राममय भएको हो । सोमबार बिहानैबाट वीरगन्जमा जयश्रीरामको नारा गुन्जिएको छ । सडकमा रामसीताको आस्थासँग जोडिएका ध्वजापताकाले वीरगन्ज सहरलाई नै चिटिक्क पारी हरेक सडकबाट जयश्रीरामको नारासहित -यालीहरू निकालिएका छन् । जताततै राम र हनुमान अंकित झन्डा फहराइएका छन् ।
पर्साको ठोरीमा रामको जन्मभूमि भएको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भनेको केही वर्षभित्रै जिल्लाको ठोरीमा नभई सदरमुकाम वीरगन्जमा रामसीताको मन्दिरमा सर्लक्क भगवान्को सालिक अनावरण गरी प्राणप्रतिष्ठान भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पाँच सय किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन भइरहँदा मधेसभरि उल्लासमय वातावरण त बनेकै छ । भगवान् रामको ससुराली जनकपुरधामसहित मधेसका अधिकांश मठमन्दिर रंगरोगन गरेर चिटिक्क बनाइएका छन् ।
त्रेतायुगमा नेपाल र भारतको सांस्कृतिक सम्बन्ध जोडिएको र सोही सम्बन्धका कारण अयोध्यामा उत्सव छाउँदा नेपाल पनि उल्लासमय बनेको सर्वसाधारणको भनाइ छ । त्रेतायुगमा राम र सीताको वैवाहिक सम्बन्धले दुई देशलाई एक सूत्रमा बाँधेकोले उता रामललाको प्राणप्रतिष्ठाको अवसरमा यता मधेस प्रदेश पनि राममय भएको उनीहरूको भनाइ छ । सबै हिन्दु सनातन धर्मावलम्बीका लागि यो गौरवको कुरा भएको पनि स्थानीय दिपु गुप्ताले बताए ।
भारतमा हुने राम मन्दिरको प्राणप्रतिष्ठाका लागि सीताको माइती गाउँ धनुषाबाट चाँदीका धनुष वाणलगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूलसहित १ हजारभन्दा बढी भार अयोध्या पठाइसकेको जानकी मन्दिर सञ्चालक समितिले पहिले नै सार्वजनिक पनि गरिसकेको थियो ।
राम मन्दिरको प्राणप्रतिष्ठाका दिन धनुषाको जानकी मन्दिरमा १ लाख २५ हजार दीप बाल्नुका साथै विशेष आरती गरिने तयारी गरिएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र साहले बताए ।
वीरगन्ज महानगरपालिकामा २०७९ सालमा आएका नयाँ जनप्रतिनिधिको सक्रियतासँगै व्यक्तिको कोपभाजनबाट यहाँको जानकी मन्दिरको जग्गा अतिक्रमणमुक्त गराई मन्दिरको जग्गामा भगवान् रामसीताको सोमबार प्राणप्रतिष्ठा गरिएको छ । यस कार्यले पनि वीरगन्जबासीमा भने डबल उल्लास भएको छ ।
वीरगन्ज महानगरपालिकासहित मधेस प्रदेशका १ सय ३६ वटै पालिकाले छिमेकी राष्ट्र भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठान हुने दिन भव्य दिपावली गर्ने तयारी गरिरहेका समयमा वीरगन्ज अझ आफ्नै नगरभित्र कब्जा भएको जानकी मन्दिरको जग्गा मुक्तिपछि सो स्थानमा रामसीताको मूर्तिमा प्राणप्रतिष्ठा भएपछि सोमबार साँझ यसको उल्लासमा लागातार ४५ मिनेट आतिसवाजी गरिएको छ । वीरगन्जमा स्थापित जानकी मन्दिरमा भगवान् रामसीता र हनुमानको मूर्तिमा प्राणप्रतिष्ठा गर्ने महानगरापालिकाले नै अगुवाइ गरेको हो । साँझ भव्य आरती हुने र वीरगन्जमा नमुना दीप प्रज्ज्वलन गर्ने समेत कार्यको आफूहरूले नै अगुवाइ गरेको वीरगन्ज महानगरपालिकाका महानगरप्रमुख राजेशमान सिंहले बताए । पालिकाकै अगुवाइ भएपछि यहाँका स्थानीय स्वस्र्पmूर्त कार्यक्रममा होमिएका हुन् ।
सोमबारका दिन माछामासु, मदिराजन्य पदार्थ सेवन तथा बिक्रीवितरण नगर्न वीरगन्ज महानगरद्वारा सूचना जारी गरिएको थियो । यो कार्यका लागि पूर्णरूपले रोक लगाइएको महानगरले जनाएको छ । सूचनाको अवज्ञा गरी माच्छामासु तथा मदिराजन्य पदार्थ सेवन वा बिक्रीवितरण गर्ने पसल व्यक्तिलाई कानुनी कारबाहीसहित जरिमाना गर्ने चेतावनी समेत पालिकाले दिएको थियो ।
उता छिमेकी मुलुक भारतको अयोध्या र पर्साको वीरगन्जमा नै भगवान् रामसीताको मूर्ति र प्राणप्रतिष्ठाको लहरले मधेस प्रदेश हिन्दुहरूका आरध्यदेव भगवान्को आस्थामा लपक्कै भएको थियो ।






