काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा गरेकै दिन नेपालमा उत्सव मनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूजाआजा गरेर रामको मूर्तिको प्राण प्रतिष्ठा गरिरहँदा नेपालको जनकपुर, वीरगन्जलगायत विभिन्न धार्मिक मन्दिरमा दीप प्रज्ज्वलन गरिएको हो । प्राण प्रतिष्ठाका लागि मोदीले ११ दिन विशेष अनुष्ठा गरेका थिए ।
प्राण प्रतिष्ठा पूजा सम्पन्न भएपछि मोदीले भगवान् राम विवाद होइन समाधान भएको बताएका थिए । रामको आदर्श, मूल्य र शिक्षा अनुकरणीय रहेको भन्दै मोदीले राष्ट्रनिर्माणमा समाहित हुन देशवासीलाई आह्वान गरे ।
प्राण प्रतिष्ठा गरिएको रामको बाल्यकालको अवस्था दर्शाउने सो मूर्ति ५१ इन्च अर्थात् ४ दशमलव २५ फुट अग्लो छ । यस मूर्तिमा पाँच वर्षका बालक रामलाई हातमा स्वर्णीम धनुष र वाण लिएर उभिएको अवस्थामा देखाइएको छ । मैसुरका प्रसिद्ध मूर्तिकार अरुण योगिराजले यो मूर्ति कुँदेका हुन् । मूर्ति कालो ढुंगाबाट बनाइएको हो ।
प्राण प्रतिष्ठापछि प्रधानमन्त्री मोदीले २२ जनवरी २०२४ क्यालेन्डरमा लेखिने सामान्य तिथि नभएर यो कालचक्रलाई बदलेको दिनका रूपमा याद गरिने बताए । उनले आजको दिनलाई हजारौंहजार वर्षसम्म पढिने र स्मरण गरिने बताएका छन् । उनले सयौं वर्षको प्रतीक्षा, धैर्य, अनगिन्ती त्याग र तपस्यापछि टेन्टबाट दिव्य मन्दिरमा रामललाको बास भएको बताए ।
‘रामलला अब टेन्टमा रहनेछैनन्, दिव्य मन्दिरमा रहनेछन्,’ प्राण प्रतिष्ठा कार्यक्रमपछि आयोजित समरोहमा भारतीय प्रधानमन्त्री मोदीले भने, ‘अहिलेको यो क्षण अलौकिक र पवित्र छ ।’ उनले भूमि पूजनपछि नै सम्पूर्ण रामभक्तमा उत्साह बढाएको र मन्दिर निर्माणसँगै विश्वास बढाउँदै लगेको बताउँदै प्राण प्रतिष्ठापछि सबैमा खुसी छाएको र पूरा देशले दीपावली मनाउने बताए ।
उनले न्यायका पर्याय भगवान् रामको मन्दिर पनि न्यायोचित तरिकाबाटै बनेको बताए । उनले भारतको न्यायपालिकाप्रति आभारसमेत प्रकट गरे । उनले रामको मन्दिरलाई शान्ति, आपसी सद्भाव र समन्वयको प्रतीक भनेका छन् । रामको मन्दिर निर्माणका कारण देशमा आगो लाग्ने केहीको विचार पूर्ण रूपमा निरस्त भएको उनको भनाइ थियो । उनले राम मन्दिरको निर्माणले आगो होइन, ऊर्जाको जन्म दिएको बताए । ‘राम आगो होइन, ऊर्जा हो, राम विवाद होइन, समाधान हो,’ मोदीले भने, ‘भारतीय संस्कृतिप्रतिको अटुट विश्वास आजको प्राण प्रतिष्ठाले देखाएको छ ।’
उनले देशमा निराशाका लागि रत्तिभर स्थान नहरेको भन्दै अर्को हजार वर्षको सबल भारतको निर्माणका लागि आजकै दिन सबैले शपथ लिनुपर्ने समेत बताए । ‘अब भारतको समय हो, भारत अब अगाडि बढ्दै छ, हामी रोकिनेछैनौं, विकासको उचाईंमा पुग्नेछौं,’ भारतीय प्रधानमन्त्री मोदीले भने, ‘हाम्रो भविष्य अतितभन्दा धेरै सुन्दर हुन गइरहेको छ ।’
राजर्षि जनक र राजा दशरथकै समयदेखि मिथिला र अबधबीच रहिआएको सम्बन्धलाई अझ प्रगाढ बनाउन राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सोमबार साँझ जानकी मन्दिरमा सवा लाख दीप बाल्नुका साथै विशेष आरतीसमेत गरिएको छ ।
अयोध्या नेपालको पनि धार्मिक समुदायसँग गाँसिएको भूमि हो । यसको सीधा सम्बन्ध भगवान् राम र जानकी (सीता)सँग गाँसिएको छ । ५ सय वर्ष पुरानो इतिहास बोकेको अयोध्याको राम मन्दिरको यो आधुनिक ‘प्राण प्रतिष्ठा’मा नेपालका धेरै धार्मिक अगुवाहरू उत्साहित यस कारण पनि हुनु स्वाभाविक हो ।
जानकी भूमि जनकपुर र राम भूमि अयोध्याको यो साइनो धर्मले मात्रै नभएर वैवाहिक साइनोले पनि गाँसिएको छ । हरेक वर्ष विवाह पञ्चमीमा ‘जन्ती’ लिएर जनकपुर आउने अयोध्या होस्, चाहे ‘शुभकार्य’हरूमा ‘कोसेली’ पठाउने जनकपुर, यो साइनो नेपाल–भारत सम्बन्धमा अर्को एउटा आयाम पनि हो ।
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरका तर्फबाट चाँदीको धनुष वाणलगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूललगायत ३ हजारबढी कोसेली अयोध्या पठाइएको थियो । नेपालका तर्फबाट राम मन्दिरको प्राण प्रतिष्ठामा सहभागी हुन जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र मन्दिरका उत्तराधिकारी रामरोशन दास अयोध्या पुगेका थिए ।
अयोध्या हिन्दू र मुस्लिमका कारण लामो समयदेखि विवादमा पर्दै आएको थियो । ९ नोभेम्बर २०१९ मा भारतको सर्वोच्च अदालतले अयोध्यायको सो भूमि राम जन्मभूमिको भनी फैसला गरेपछि राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने बाटो खुलेको हो । अदालतले सो ठाउँलाई ‘रामको जन्मस्थल’ भनेर अदालतले मान्यता दिएको थियो । सोमबार राम मन्दिरको अभिषेक हुँदा दशकौंदेखि बाबरी मस्जिदभित्र राखिएको रामको पुरानो मूर्ति पनि ठूलो र नयाँ मूर्तिका साथमा मन्दिरको गर्भगृहमा विराजमान भएको छ ।
३१ वर्षअगाडि ६ डिसेम्बर १९९२ का दिन हिन्दूवादी कार्यकर्ता र समर्थकहरूको लाखौं भिडले अयोध्यामा रहेको बाबरी मस्जिदको संरचनालाई ध्वस्त पारेका थिए । त्यही मस्जिद रहेको स्थानमा राम मन्दिरको निर्माण भएको हो ।
भारतीय जनता पार्टीले सन् १९८० को दशकमा राम मन्दिर निर्माणको विषयलाई आफ्नो प्रमुख मुद्दा बनाएको थियो । त्यही मुद्दाले भाजपालाई बलियो राजनीतिक शक्ति बनाउँदै लगेर यतिबेला केन्द्रदेखि प्रदेशहरूमा सरकार चलाउने तहमा पु-याएको छ । सरकारमा आएपछि राम मन्दिर निर्माण गर्ने घोषणालाई भाजपाले पूरा गरेको छ ।
९ नोभेम्बर २०१९ मा भारतको सर्वोच्च अदालतले विवादित बाबरी मस्जिद र राम जन्मभूमिको जग्गाका विषयमा फैसला सुनाएको थियो । अदालतले विवादित क्षेत्रको विषयमा राम जन्मभूमि मन्दिरको पक्षमा फैसला गरेको थियो । मस्जिद निर्माणका लागि भने अन्यत्र ५ एकड जमिन दिने निर्णय सुनाइएको थियो । त्यसको केही महिनापछि प्रधानमन्त्री मोदीले ५ अगस्ट २०२० मा मन्दिरको शिलान्यास गरेका थिए । मन्दिरको गर्भगृह र पहिलो तलाको निर्माण पूरा भएपछि रामको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।






