डडेल्धुरा । व्यावसायीक रुपमा गरिने तरकारी खेतीमा बिषादीको मात्र भेटिएको छैन । डडेल्धुराका विभिन्न बजारबाट नमुना संकलन गरी प्रयोगशालामा गरिएको जाँचमा बिषादीको मात्र नभेटिएको हो ।
नेपाल सरकारको कृषि तथा पशुपंछि विकास मन्त्रालय कृषि बिभाग केन्द्रिय कृषि प्रयोगशाला बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई अत्तरिया, कैलालीले गरेको जाँचमा बिषादीको मात्रा उच्च नदेखिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख खेमराज पनेरुले जानकारी दिए ।
उनका अनुसार डडेल्धुराका विभिन्न बजारबाट फूलगोपी, टमाटर, केरा लगायतका फलफूूल तरकारीको नमूना संकलन गरि जाँच गरिएको थियो । तरकारीमा प्रयोग हुने बिषादीमा हुने कार्बामेट र अर्गानोफसफेटले मानव स्वास्थ्यमा असर पुग्ने प्रयोगशालाले जानकारी दिएको छ । उनले भने, डडेल्धुराका बजारबाट नमुना संकलन गरिएका तरकारी र फलफूलमा यसको मात्रा न्यून देखिएको छ । यी तत्वको मात्रा ३५ प्रतिशत भन्दा माथि भयो भने बिष युक्त अर्थात स्वास्थ्यमा हानि पुगाउने गर्छ । तर जाँच गरिएको तरकारीमा यस्तो देखिएको छैन ।
जाँच गरिएको तरकारी फूलगोपीको एउटा नमूनामा कार्बामेट ०.६२१ र अर्गानोफसफेट ३.८२४५, अर्काे नमूनामा कार्बामेट २.१२१५, अर्गानोफसफेट ३.१८७८, तेस्रो नमूनामा कार्बामेट ०.३०१४, अर्गानोफसफेट ६.०३८१ भेटिएको रिपोर्ट प्रयोगशाला एकाईको रिपोर्टमा देखिएको उनले जानकारी दिए । यस्तै टमाटरको एक नमूनामा कार्बामेट १.९९८४, अर्गानोफसफेट २.५३५६, दोस्रो नमूनामा कार्बामेट ९.५५६६, अर्गानोफसफेट १६.४११ र तेस्रो नमूनामा कार्बामेट ६.९९४७, अर्गानोफसफेट ४.८६३६ प्रतिशत देखिएको छ । र केराको नमूनामा कार्बामेट ७.५९६८, अर्गानोफसफेट ५.०७३८ प्रतिशत पाईएकाले यहाँको तरकारी फलफूल उपभोग योग्य रहेको रिपोर्ट प्राप्त भएको उनले जानकारी दिए ।
तरकारी र फलफूलको नमूना संकलन जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ५ को बागबजार, तुफानडाडा र अमरगढी नगरपालिका वडा नं. ११ को सल्लाघारी बजारबाट गरि जाँच गरिएको कार्यालय प्रमुख पनेरुले बताए । प्रयोगशालाको रिपोर्ट अनुसार तरकारीमा यी तत्व ३५ प्रतिशत भन्दा कम भए उपभोग्य, ३५ प्रतिशत भए केही दिन राखेर पर्खने र ४५ प्रतिशत भन्दा माथि भए विसर्जन गर्ने उल्लेख गरिएको छ ।
डडेल्धुरामा वर्खे र हिउदे गरि एक हजार तीन सय ७१ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिदै आएको छ । प्रतिहेक्टर उत्पादकत्व १३.४ प्रतिशत रहेको छ । वर्षभरीमा १८ हजार ४६१ किलोग्राम तरकारी उत्पादन हुने गरेको तथ्यांक कृषि ज्ञान केन्द्रको रहेको कार्यालय प्रमुख पनेरुले बताए । उत्पादनको १० प्रतिशत मात्रै डडेल्धुरामा खपत हुने र ९० प्रतिशत तरकारी निर्यात हुने गरेको जानकारी उनले दिए ।






