सिन्धुली । महिलालाई चारदिनसम्म बन्धक बनाई कुटपिट गरेको आरोप लागेका १० जनालाई जिल्ला अदालत सिन्धुलीले मंगलबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।
जिल्ला न्यायाधिस रमेश शर्मा पौडेलको आदेशमा उनीहरुलाई पुर्पक्षको लागि थुनामा पठाईएको हो । जिल्ला अदालत सिन्धुलीले कमलामाई नगरपालिका ४ ढकालगाउँका स्थानीयले स्थानीय सारदा थापालाई ४ दिनसम्म घरको खाँवो, पोल र स्यापमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न रहेको आरोप लागेका १० जनालाई नै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
थुनामा जानेहरुमा कनपा ४ ढकालगाउँका एक्क बहादुर खड्का, मिलन देवकोटा, निकेश ढकाल, विष्णुकुमार ढकाल, इश्वर पोखरेल, पीडितका श्रीमान सन्तोष थापा, लक्ष्मी पोखरेल खड्का, गणेश भन्ने कुल विक्रम देवकोटा, लिला खड्का र विर विक्रम ढकाल रहेका छन ।
उक्त घटनामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले सारदाको घटनास्थलबाट उद्दार गरेका थिए । पुस ८ गते सारदाको उद्धार गरि उपचार गरेर पीडितलाई सेफ हाउसमा राखिएको छ ।
सात जनालाई पुस ८ गते नै प्रहरीले पक्राउ गरेको थियो । लक्ष्मी पोखरेल खड्का, गणेश भन्ने कुल विक्रम देवकोटा, लिला खड्का अहिलेसम्म फरार रहेका छन ।
पीडित थापाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आफ्ना श्रीमान सन्तोष थापा सहित १० जना विरुद्ध शरीर बन्धक, कुटपिट अंगभंगमा मुद्दा दर्ता गरेकी थिईन । उनको मुद्दा पुस ११ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दर्ता भएको थियो ।
जिल्ला अदालत सिन्धुलीले उक्त मुद्दा हेर्दा हेर्दैमा राखेको छ । अदालतमा माघ ४ गते दर्ता भएको मुद्दामा अदालतले निरन्तर बहसपछि मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । सारदालाई श्रीमान सन्तोष थापाले लिएको ऋण नतिरेको भन्दै गाउँलेहरुले बन्धक बनाएर कुटपिट गरेका थिए ।






