स्याङ्जा । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा समानुपातिक प्रणाली राखेका कारण गठबन्धन अनिबार्य भएको बताएका छन् । नेपाली काँग्रेस स्याङ्जाको जिल्ला सम्मेलनको उदघाटन गर्दै सभापति देउवाले समानुपातिक निर्वाचन बनाएकाले गठबन्धन आवश्यक रहेको बताएका हुन् । समानुपातिक व्यवस्थाले कुनै पनिदलको स्पष्ट बहुमत नआउने भएकाले काँग्रेस गठबन्धन गरेर निर्वाचन र सरकार निर्माण गरेको सभापति देउवाको भनाई थियो ।
सम्मेलनमा बोल्ने नेता तथा कार्यकर्ताले काँग्रेसले गठबन्धन गर्दा क्षती बोकेको आरोप लगाएपछि सभापति देउवाले एकदलको मात्रै बहुमत आउन कठिन हुने व्यवस्थाका कारण गठबन्धन गरेको सुझाएका थिए । सत्तारुढ गठबन्धन ५ बर्ष जाने उनले बताए । यसमा काँग्रेस अडिग र प्रतिवद्ध रहेको समेत सभापति देउवाले बताए । यो देश सबैको हो उनले भने,‘पछाडी परेको समुदायले पनि सरकार र सदनमा प्रतिनिधित्व गर्न पाउनुपर्छ ।’ निर्वाचनबाट सदनमा पुग्न नसक्ने समुदायको पनि प्रतिनिधित्व हुनुपर्छ भनेर नै समानुपातिक प्रणाली राखेको उनले भने ।
मुलुकमा प्रजातन्त्रको उदयसगै धेरै विकास भएको उल्लेख गर्दै सभापति देउवाले मुलुकले अझै फड्को मार्ने बताए । नेपालमा आर्थिक उपार्जनको सम्भावना भनेको विद्युत भएको बताउदै सभापति देउवाले भर्खरमात्रै भारतसगँ विद्युत किन्ने सम्झौता भएको बताए । हाम्रो विद्युत किन्ने मुलुक भनेको भारत मात्रै भएकोले यो सम्झौतापछि मुलुक समृद्ध बन्ने बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले युवापुस्तालाई स्वदेशमा नै रोक्न जरुरी रहेको बताए । देशमा केही छैन भन्ने सन्देश फैलाउदा युवा शक्ति विदेश पलायन हुने अवस्था सिर्जना भएको बताए ।
भुभाग अनुसार विकासको नीति बनाउन सुझाव दिदै सभापति देउवाले स्थानीय स्रोत साधनको सही सदुपयोग गर्नुपर्ने बताए । कांग्रेस कार्यकर्ताहरुलाई निरास नहुन आग्रह गर्दै सभापति देउवाले कांग्रेसले सवैलाई मिलाएर लैजाने र देश विकास गर्ने जिकिर गरे ।
सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले स्याङ्जाको विकासका लागि आफु कटिबद्ध भएर लागेको दावी गरे । देशको विकासका लागि कांग्रेस एकजुट हुनु पर्ने उनले बताए । स्याङ्जा २ निर्वाचन क्षेत्रबाट निर्वाचित भएको मन्त्री गुरुङ्ले सिद्धार्थ राजमार्ग र आँधीखोला हाईड्यामका लागि आफ्नो पहल भईरहेको बताए ।
केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री डा. शशाङ्क कोइराला, सहमहामन्त्री जीवन परियारले स्याङ्जामा कांग्रेसको संगठन बलियो र सशक्त रहेको बताएका थिए । स्याङ्जा परिवर्तनको लागि संघर्ष गर्ने जिल्ला भएको बताउदै आगामी निर्वाचनमा काँग्रेस पाटीलाई निर्वाचित गराउनेगरी लाग्न सुझाव दिए ।
कार्यक्रममा केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल, गोविन्द भट्टराई, किरण पौडेल, सरस्वती अर्याल तिवारी, प्रदेश सभापति शुक्रराज शर्मा, प्रदेश उपसभापति तथा प्रदेश सांसद कल्पना तिवारी, मेखलाल श्रेष्ठ, पूर्व सांसद मोहन प्रसाद पाण्डे, प्रदेश सांसद भोजराज अर्याल, गण्डकी प्रदेशका पुर्व सांसद भागवत प्रकाश मल्ल, कार्यबहाक सभापति केदार काफ्ले, जिल्ला सचिव गुरु भट्टराई लगायतका बक्ताहरुले जिल्ला सम्मेलनको शुभकामना व्यक्त गर्दै पार्टीलाई सशक्त बनाउनयुवा पुस्तालाई विशेष स्थान दिनुपर्ने बताएका थिए ।
सम्मेलनमा कांग्रेस स्याङ्जाका सभापति तथा संघीय सांसद राजु थापाले जिल्लाको प्रथम सम्मेलनले स्याङ्जा काँग्रेस अझै शशक्त हुने बताएका थिए । सम्मेलनमा नेपाली काँग्रेसका लामो समय योगदान गरेका योद्धाहरुलाई सम्मान गरिएको थियो ।