बन्द भयो गोपिकृष्ण सिनेमा हल

काठमाडौं । कुनै समय एकै छानामुनी सुरुमा दुईवटा र त्यसको लगत्तै चारवटा सिनेमा हल स्थापना गरेर एउटा नयाँ इतिहाँस बनाएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण हल यतिबेला बन्द हुने अबस्थामा पुगेको छ ।

हल सञ्चालक पक्षले अब यही १ फागुन बाट गोपिकृष्ण हल बन्द हुने घोषणा गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै गोपिकृष्ण मूभिजको व्यबस्थापन समितिले यो सिनेमा हल १ फागुनबाट बन्द गर्ने घोषणा गरेको हो ।

बिज्ञप्तिमा गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक नीरक पौडेलले कोरोनाको समयदेखि बेहोर्नुपरेको आर्थिक घाटाका कारण हल बन्द गर्ने निर्णयमा पुगेका बताएका छन्, ‘कोरोनाकालदेखि नै फिल्म क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यो हलले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणलीले गर्दा फिल्म निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिन्न नै ।’ बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

गोपिकृष्ण मूभिजले यस अघि गोपिकृष्णको नामबाट सिनेमा हल सञ्चालन, एफ एम स्टेशन सञ्चालन, टेलिभिजन सञ्चालन र चलचित्र निर्माण एवम् वितरण गर्दै आएको थियो । जस मध्य गोपिकृष्णले आफ्नो टिभी फिल्मलाई गत वर्ष नै नारी टेलिभिजन बनाएको छ । यो कम्पनीको रेडियो पनि पछिल्लो समय त्यतिधेरै एक्टिभ छैन ।

केही वर्ष अघिसम्म सबैभन्दा ठुलो सिनेमा हलका रुपमा गोपिकृष्ण मूभिज परिचित थियो । शहरमा थुप्रै सुविधासम्पन्न मल्टिप्लेक्सहरु खुल्दै गर्दा गोपिकृष्णले आफुलाई समय अनुसार सुविधा सम्पन्न रुपमा परिवर्तन गर्न सकेन । एक समय सबैभन्दा बढी शेयर निर्मातालाई फिल्म प्रदर्शनबापत दिने भनिएको यो हल यही कारण यतिबेला बन्द हुन पुगेको हो ।

केही वर्ष अघिसम्म गोपिकृष्णले एउटै कम्प्लेक्समा सातवटा सिनेमा हल सञ्चालन गर्दै आएको थियो । गत २०७२ सालको भूकम्पपछि पनि केही वर्षसम्म ७ वटै हल सञ्चालन गरेको यो कम्पनीले चार वर्ष अघि गोपि, कृष्ण, राधा र मिरा हल रहेको भवन भत्काएर यो त्यहाँ १४ तलाको नयाँ व्यबसायिक भवन बनाउने घोषणा गरेको थियो । तर त्यो भवनको निर्माण अहिलेसम्म पनि सुरु भएको छैन । अब बन्ने नयाँ भवनमा पाँच तारे होटल देखि सपिङ सेन्टरसमेत सञ्चालन गरिने भनिएको छ तर त्यहाँ सिनेमा हल खोल्ने’bout केही पनि बताईएको छैन ।

यता सोही कम्प्लेक्समा रहेको अर्को भवनमा अबिस्थत तीन सिनेमा हल ‘ओमः’, ‘नमः’ र ‘शिवायः’लाई दुई वर्ष अघि नाम परिवर्तन गरेर आरजिबी ( रातो, हरियो र निलो) राखेको थियो । यतिबेला भने यी तीन वटै सिनेमा हल पनि बन्द गरिएको गोपिकृष्ण मूभिजले जनाएको छ । यी तीनवटै सिनेमा हलमा पनि पहिलाको जस्तो व्यापार हुन नसकेपछि यसलाई समेत बन्द गर्नु परेको कम्पनीले जनाएको छ । अब गोपिकृष्णले नयाँ हल सञ्चालनमा ल्याउँछ या ल्याउँदैन भन्ने’boutमा कम्पनीले केही जनाएको छ । तर चलचित्र वितरणलाई भने निरन्तरता दिने जनाईएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

epaper

ताजा समाचार

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु