मिटरब्याजपीडित किसानका माग सम्बोधन गर्न सरकारसँग खनालको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजपीडित किसानका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

मेची–महाकालीबाट सुरु भएको मिटरब्याजपीडितको काठमाडौंसम्मको यात्रालाई समर्थन गर्दै नेता खनालले पीडाबाट पूर्ण रूपले मुक्त बनाउने ढंगले कदम चाल्न र मिटरब्याज पीडकहरूलाई कडा कारबाही गर्नसमेत सरकारसँग माग गरेका हुन् ।

‘मिटरब्याजपीडित किसानहरू मेची र महाकालीबाट आन्दोलनमा उत्रिन बाध्य भएका छन्, यो आन्दोलन दलाल पुँजीवाद र तिनीहरूका राजनीतिक प्रतिनिधिले भूमिहीन, गरिब र मध्यम किसान जनतामाथि गर्दै आएको मिटरब्याजी भनिने निर्मम, क्रूर र भयावह शोषण, अन्याय, अत्याचार र जनलुटका विरुद्ध जारी किसान आन्दोलन हो,’ खनालले भनेका छन् ।

केही महिनाअघि पीडित किसानले विभिन्न जिल्लाबाट ११ दिन पैदल हिँडेर राजधानी पुगेर आन्दोलन गर्दा पनि सरकारले पीडाको सम्बोधन गर्न नसकेको खनालले बताएका छन् । ‘सरकारले किसानका माग पूर्ति गर्न र उनीहरूलाई लुट र अत्याचारबाट मुक्त पार्ने ठोस र क्रान्तिकारी कदम उठाउनसकेन, जुन कानुन बन्यो, त्यसले किसानहरूलाई कुनै राहत र समाधान दिन सकेन, किसानहरूमाथि भइरहेका लुट र अत्याचारहरू यथावत जारी रहे, त्यसले गर्दा फेरि आज मिटरब्याजपीडित किसानहरू पुनः आन्दोलनमा उभिन बाध्य भएका छन्, मिटरब्याज पीडकहरूका विरुद्ध किसानले सुरु गरेको स्वतस्फूर्त वर्गसंघर्ष हो, यो बिल्कुलै न्यायपूर्ण आन्दोलन हो,’ खनालले एक विज्ञप्ती जारी गर्दै उल्लेख गरेका छन् ।

उनीहरूका समस्यालाई आधारभूत रूपले समाधान गर्न सरकारले कदम चाल्नुपर्ने निष्कर्ष उनको छ । ‘किसानलाई यस पीडाबाट पूर्ण रूपले मुक्त बनाउने ढंगले कदम चाल्न, मिटरब्याज पीडकहरूलाई कडा कारबाही गर्न र किसानलाई अधिकतम न्याय दिने हिसाबले क्रान्तिकारी कदम चाल्न म सरकारसँग जोडदार माग गर्छु, अन्यथा परिस्थिति अझ जटिल बन्ने कुरा छर्लंग छ,’ नेता खनालले भनेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवा र प्रचण्ड धनगढीमा, देउवा गृह जिल्ला पनि जाने