काठमाडौं । कवि तथा गीतकार कला सेरेङले काठमाडौंमा एक समारोहबीच कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक गरेकी छिन् । काठमाडौंमा समारोहबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले पुस्तक र एल्बम बिमोचन गरेका हुन् ।
सँग्रह भित्र ११५ शीर्षकका गीत तथा कविता रहेका छन् । परदेशमा रहँदा घरदेशको सम्झनालाई विषयवस्तु केन्द्रित रहेका छन् । मातृभूमि नेपालको वनपाखा, गाउँघर, सर्वोच्च शिखर सगरमाथा, बाबुआमा, पुर्खाले सिंचेको मातृभूमिप्रति माया, मायाप्रितीका शब्द उनिएका छन् । अढाइ दशकदेखि कर्मथलो हङकङमा रहेकी सेरेङको यो पहिलो कृति हो ।
कला, साहित्यले देशमा परिवर्तन ल्याउनसक्ने बताउँदै कुलपति भुपाल राईले पुस्तक कृति’bout बोल्दै कवि कला सेरेङको कविताबाट उर्जा मिल्ने भनाई राखे । उनले कविताले मानिसलाई रुवाउन र हसाउन सक्ने भएकोले साहित्यमा ठूलो शक्ति लुक्ने बताए ।
यस्तै सो कार्यक्रममा बोल्दै प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धनप्रसाद सुवेदीले कला साहित्य मार्फत मानिसका भोगाइ र बिम्बहरु प्रस्फुटन हुने बताए ।
कार्यक्रममा कवि तथा गीतकार कला सेरेङले आफ्नो अनुभव र भोगाइलाई कविता तथा गीत मार्फत पस्कन खोजेको जनाईन् । आफ्नो कविताले नेपाली साहित्य क्षेत्रमा एउटा इँटा थप्ने काम गरेको उनको भनाई थियो,‘मैले नेपाली साहित्यको इतिहास पढेर, सिद्धान्त घोकेर कुनै रचना रचेको छैन । मनमा आएका कुरा लेख्दै जाँदा पुस्तक तयार भएको हो,’ उनले भनिन् ।
सोही कार्यक्रममा सार्वजनिक गरिएको कला सेरेङको गीत ‘अतितका यादहरू’ मा संगीतकार बीबी अनुरागीले संगीत दिएका छन् । गायिका अन्जु पन्तले गाएको यो गीतको भिडियोमा ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकली वाच्पुको ग्रामीण जनजीवन समेटिएको छ । परम्परागत कृषक परिवारको जीवनशैली प्रस्तुत गरिएको छ । भिडियोमा कला सेरेङ र उनका जीवनसाथी सीएम सुनुवार स्वयंले अभिनय गरेकी छिन् ।






