संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि २८ पिर्के रोटे पिङ

लमजुङ । लमजुङमा संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गाउँलेले झन्डै ५ लाख खर्चेर २८ पिर्के रोटे पिङ बनाएका छन् । बेंसीसहर नगरपालिका–४ को फोस्रेगाउँका बासिन्दाले २८ पिर्के रोटे पिङ बनाएका हुन् ।

संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ती गाउँलेले २८ पिर्के रोटे पिङ बनाएको बताएका छन् । उनीहरूलाई त्यस कामका लागि करिब २ महिना लगाएर रोटे पिङ हालेको बताएका छन् । त्यसका लागि गाउँ छिमेक र नजिकको जंगलमा पाइने चिलाउने र लाँकुरीका काठ प्रयोग गरी सो कार्य गरेको स्थानीय बुद्ध मिलन युवा क्लबका अध्यक्ष मीनबहादुर तामाङले बताए । उनका अनुसार प्रायः बडा दसैं र तिहारको उत्सवका बेलामा थप रौनक भर्न रोटे पिङ बनाउने प्रचलन रहेको थियो तर ऐले जिल्लाका अधिकांश जनजाति बस्ती ग्रामीण पर्यटनतर्फ आकर्षित भएका छन् । सो रोटे पिङ फोस्रे गाउँमा रहेका तामाङ समुदायको सक्रियतामा बनाइएको हो ।

अध्यक्ष तामाङले भने, ‘यतिबेला गाउँमा जम्मा ११ घर रहेका छन्, तिनै परिवारका युवाको सक्रियतामा २८ पिर्के रोटे पिङ निर्माण गरिएको हो ।’

२८ पिर्के पिङ नेपालमै नौलो र पहिलो रहेको हुनुपर्छ बुद्ध मिलन समाज फोस्रेका अध्यक्ष देवमाया तामाङले बताइन् । उनका अनुसार पिङको माध्यमबाट मौलिक संस्कृति संरक्षण गर्ने, गाउँ ठाउँको प्रचारप्रसार गर्ने र पर्यटन प्रवद्र्धन गरी गाउँको आय आर्जनमा वृद्धि गरिने लक्ष्य रहेको छ ।

तामाङ समुदायले २८६०औं सोनाम ल्होछार पर्व सन्दर्भमा सो पिङको निर्माण गरिएको हो ।

फेस्रे गाउँमा निर्माण गरिएको सो २८ पिर्के रोटे पिङ निर्माणका लागि कुल ४ लाख ७५ हजार रुपैयाँ लगानीमा निर्माण गरिएको सो वडाका अध्यक्ष गमबहादुर गुरुङले बताए । उनका अनुसार सो पिङ निर्माणका लागि वडा कार्यालयले २० हजार रुपैयाँ प्रदान गरेको छ ।

बेंसीसहर नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ लगानी गरेको निर्माण समितिका संयोजक राजकुमार तामाङले बताए । उनका अनुसार बाँकी रकम गाउँ समुदाय, फोस्रे घर भई हाल विभिन्न ठाउँमा बस्दै आएका, देशविदेश रहेका तथा अन्य तामाङ समुदाय तथा संघसंस्था र व्यक्तिबाट सहयोग संकलन गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग