जब पुलको जग खन्दा सडक नै भासियो…

बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट पूर्वाेत्तर क्षेत्रका चारवटा स्थानीय तह हुम्ला र मुगुको मुख्य कोल्टी–मार्तडी सडकखण्ड १७ दिनदेखि रोकिँदा त्यस क्षेत्रमा दैनिक उपभोग्य सामग्री पाउनै मुस्किल भएको छ । सदरमुकाम आउने मुख्य बाटो रोकिँदा बिरामी र सदरमुकाम आउने सेवाग्राहीसमेत प्रभावित भएका छन् ।

दैनिक उपभोग्य सामग्री पाइनै छाड्यो

सो सडकखण्डको अनाई खोलामा पुलको जग खन्ने क्रममा सडक भत्किएपछि यातायात आवागमन प्रभावित बनेको हो । निर्माण कम्पनी आईएस पावर अफ ज्वाइन्ट भेन्चर दीपायलले पुल निर्माणको जिम्मा लिएको भए पनि सडक भत्किएपछि उसले नयाँ डाइभर्सन नबनाउँदा समस्या भएको हो ।

पुलको जग खन्दा भत्केको बाटो बनाउन कतैबाट पहल भएको छैन । बाटो बिग्रेको केही घण्टामा प्रमुख जिल्ला अधिकारी र जिल्लाका केही सरकारी प्रतिनिधि त्यस ठाउँमा गएका थिए । तर, उनीहरूलाई ठेकेदारले गलत ब्रिफिङ गरेर झुक्याएको पाइएको छ ।

पूर्वाधार विकास कार्यालय साँफेबगरका प्रमुख रुद्र बोगटीले डाइभर्सन निकाल्न त्यहाँका स्थानीयले जग्गा नदिएकाले समस्या भएको बताए । निर्माण कम्पनी आईएस पावर अफ ज्वाइन्ट भेन्चर दीपायलका इन्जिनियर भुवन मल्लले पूर्वाधारले आफूहरूलाई साइड देखाइदिए तत्काल खोल्ने बताए । ‘स्थानीयले आफ्नो जग्गाको क्षतिपूर्ति मागिरहेका छन्, त्यो दिन कोही तयार छैनन्, हामीले जबर्जस्ती खोल्न मिल्दैन,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले आफूहरूले आंशिक रूपमा भए पनि बाटो सुचारु गर्न ठेकेदारलाई भनेको बताए । स्थानीयले नयाँ डाइभर्सन खोल्ने जग्गाको क्षतिपूर्ति मागेको र कहीँ कतैबाट दिन सकिने व्यवस्था नहुँदा समस्या भएको उनले बताए ।

खाद्य अधिकार सञ्जाल कोल्टीका अध्यक्ष महेश कार्कीले सडक भत्किएपछि निर्माण कम्पनीले डाइभर्सन नबनाउँदा ठूलो समस्या भएको बताए । ‘हाम्रो क्षेत्रमा रहेको कोल्टी डिपोमा चामल सकिएको छ, १६ दिनदेखि कोल्टीमा कुनै पनि गाडी आउन सकेका छैनन्, बजारमा खाद्यान्न अभाव हुँदै गएको छ, सेवाग्राही पनि आउनसकेका छैनन्,’ कार्कीले भने, ‘एउटा ठेकेदारले बाटो बन्द गरेको अवस्था छ, राज्यले पनि आँखा नदेखेझैं गरेको छ ।’

कोल्टी उद्योग वाणिज्य संघका अध्यक्ष काशिराम थापाले यथाशक्य चाँडो बाटो सञ्चालनमा आउनुपर्ने बताए । ‘यहाँ आउने कुनै पनि सामान आउनसकेको छैन, बजारका पसलमा पनि कुनै सामान आउन पाएका छैनन्,’ बाटो सञ्चालनमा आउन नसक्दाको समस्या देखाउँदै उनले भने, ‘बिरामीलाई पनि सुविधा सम्पन्न ठाउँमा उपचारका लागि पठाउनसक्ने अवस्था छैन, फलस्वरूप बाटोकै कारण बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आएको छ ।’

बाजुरामा कोल्टी विमानस्थल सञ्चालनमा छ । तर, भनेको बेला जहाज पाइँदैन । जहाज अभावमा बिरामीले ज्यान गुमाउनु यहाँ सामान्य नै लाग्छ ।

नागरिक अगुवा अनिल शाहीले एक जना ठेकेदारका कारण धेरै जनाले पीडा भोग्नुपरेको बताए । ‘एक जना ठेकेदारका कारण धेरैले समस्या भोग्नुपरिरहेको छ, एक दिन होइन दुई दिन होइन, दुई साताभन्दा बढी भइसक्यो, अझै बाटो खोल्ने सुरसार छैन, योभन्दा लाजमर्दाे के हुन्छ ?’ नागरिक अगुवा शाहीले भने, ‘राज्य नै नभएको अनुभूति हुन थालेको छ ।’

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख उमेश भण्डारीका अनुसार, यातायात नचल्दा लिमिटेडमा मौज्दात रहेको खाद्यान्न सकिँदै गएको छ, अहिले १ सय ७० क्विन्टल मात्र चामल मौज्दात छ । त्यो चामल कारागारका कैदी र विपद्का लागि अनिवार्य राख्नुपर्ने हुन्छ ।

प्रमुख भण्डारीले भने, ‘सदरमुकामसम्म त धनगढीबाट चामल आउँदै छ, कोल्टी क्षेत्रमा एक महिनादेखि चामल छैन, कसरी चामल पठाउने उपाय नै छैन, बाटो नबनुन्जेल यहाँबाट चामल पठाउन सकिने अवस्था नै छैन, बाटो बनाउन पनि कतैबाट पहल भएको छैन, कवाडी डिपोका लागि उठेको चामल पनि पठाउन सकिएको छैन ।’

बडिमालिका नगरपालिका–३ का रणबहादुर रोकायाले खाद्यान्न अभावले धेरै समस्या भएको बताए । ‘अघिल्लो महिना १० किलो चामल पाएका थियौं, त्यसपछि पनि धेरैपटक लिन गयौं तर पाउनसकेका छैनौं,’ स्थानीय रोकायाले भने, ‘भोकमरी हुने अवस्था आएको छ, बारीमा गहुँ पाकेको छैन, खाद्यान्नमा पनि चामल आएको छैन, जहान बच्चा कसरी पाल्ने भन्ने समस्या छ ।’

बाजुरामा आफ्नो उत्पादनले तीन महिना मात्र खान पुग्ने जनसंख्या ४० प्रतिशत छ । हरेक वर्ष ११ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने गरेको छ । त्यसको पूर्ति खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडले गर्दै आएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मीनप्रसाद जोशीका अनुसार, जिल्लाको पूरा क्षेत्रफलको ९ दशमलव २१ प्रतिशत खेतीयोग्य जमिन रहेको छ । त्यसमा जम्मा सिञ्चित क्षेत्र १ दशमलव ४२ प्रतिशत मात्र रहेको छ । अर्थात् ७ दशमलव ७९ प्रतिशत जमिनमा सिँचाइ सुविधा छैन । जिल्लाको कुल २० हजार १ सय ५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ हजार १ सय १५ हेक्टरमा मात्र सिँचाइ सुविधा रहेको छ । खेतीका लागि यहाँ अकासेपानीको भर पर्नुपर्ने अवस्था छ ।

बाजुरा खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो । बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने कृषि कार्यालयको तथ्यांक छ । कृषि ज्ञान केन्द्रका प्रमुख जोशीले भने, ‘हाम्रो जिल्ला खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो, बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ, यस वर्ष गहुँ खेतीसमेत त्यति राम्रो भएको छैन, २० प्रतिशत उत्पादन घटेको छ, हाम्रोमा तीन महिना मात्र खाना पुग्ने ४० प्रतिशत जनसंख्या छ ।’

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा