इटहरी । बडो ताम झामका साथ बिहीबार देखि सुरु भएको क्यान इनफाेटेक सुनसरी पहिलो दिन नै आन्तरिक अवलोकनकर्ता नपाएपछि सुनसान बनेको छ ।
क्यान सुनसरी भित्रै जुँगाको लडाइ चल्दा र अहिलेको नेतृत्वकर्ता माथि प्रश्न उठाउँदै सदस्यहरू रुष्ट बनेपछि यो वर्ष लगाइएको क्यान इन्फाेटेक सुनसरी २०२४ असफलता तर्फ धकेलिएको छ । ६५ वटा स्टल राखिएको क्यान इन्फाेटेक २०२४मा २१ वटा बाहेक सबै स्टल खाली देखिएका छन् । परिवारका सदस्य र आफन्त भेला गरेर आयोजना गरेको क्यान इन्फाेटेककाे कोसी प्रदेश सामाजिक विकाश मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरे ।
खाली कुर्सीको अगाडी मन्त्रीको सम्बोधन
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले अघाडीकाे कुर्सी सबै खालि देखेपछि मन्तव्य २ मिनेटमै सिद्ध्याए । त्यति मात्र हैन मन्त्री कार्कीले स्टलहरूको पनि अवलोकन गरेका थिए ।
अवलोकनको क्रममा अधिकांश स्टलहरू खाली देखेपछि आयोजकलाई मन्त्री कार्कीले स्टल किन खाली भनेर प्रश्न गरेका थिए । कार्यक्रमको शुभारम्भमै वरियता बिगारेर उपेक्षा गरेपछि इटहरी उपमहानगरका मेयर हेम कर्ण पौडेल कार्यक्रम स्थलबाट मन्तव्य नै नराखी हतारमा निस्किएका थिए ।
५ दिन सम्म चल्ने क्यान मेलामा १ लाख आन्तरिक अवलोकनकर्ता भित्र्याउने र ३ करोड सम्मको कारोबार गर्ने लक्ष्य राखिए पनि पहिलो गासमै ढुङ्गा भने बराबर भएको छ । १४० भन्दा बढी सदस्य रहेको क्यान सुनसरीमा सदस्यहरू नै उपस्थित देखिएका थिएनन् ।
आयोजक भित्रैका सदस्यहरूले खाली स्टल’bout चित्त नबुझेको भनी गुनासो समेत गरेका थिए । इन्फाेटेकमा नेपाली सफ्टवेयर स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवर्द्धन गर्ने भनिए पनि प्रायजसो स्टलहरूमा एजुकेसन , कन्सल्टेन्सी,हाेटल लगायत अन्य क्षेत्र हावि देखिएका थिए ।
विभिन्न सामग्री उपकरणहरू सुपथ मूल्यमा पाउन सकिने भनिएता पनि स्टलमा प्रविधिसँग जोडिएका कुनै सामग्री देखिएका थिएनन् । कोसी प्रदेश स्तरीय इन्फाेटेक भनिए पनि इटहरीका सीमित कम्प्युटर व्यवसायी र आयोजक आफैले स्टलहरू बुकिङ गरेका थिए ।
क्यान सुनसरी इटहरी क्षेत्रका केही क्म्प्यूटर व्यवसायीहरूका कब्जामा परेपछि धरान , इनरुवा , दुहबी लगायतका सदस्यहरू निस्कृिय रहेका छन् । विगतमा १४० भन्दा बढी सदस्यहरू रहेको क्यान सुनसरी अहिले केही परिवारका १५-२० जनामा सीमित रहेको छ । २०७२ चैत्र ९ गते क्यान सुनसरी विघटन गरी क्यान महासङ्घ खडागरेकाे ७ दिन बित्न नपाउँदै धरान क्षेत्रबाट क्यानमा आबद्ध सदस्यहरूले सामूहिक प्रेस विज्ञप्ति जारी गर्दै संस्थाबाट बाहिरिएको घोषणा गरेका थिए ।
अनावश्यक कागजी प्रक्रियामा उल्झन पार्दै निर्वाचनमा निषेध गरेपछि रुष्ट हुँदै क्यानबाटै धरान बाहिरिएको थियो । हालेका नेतृत्वले सदस्यहरूलाई रिझाउन नसक्दा सञ्चालन गरिएको इन्फाेटेक खल्लो हुने सम्भावना देखिएको छ ।
इटहरी भित्रै पनि निषेधको राजनीति हुँदा क्यानमा आबद्ध केही व्यवसायीहरू निस्कृिय झैँ बनेका छन् । नेपालमा उत्पादन भएका सूचना प्रविधिको विकास , संरक्षण तथा प्रवर्द्धन गर्ने भनी आयोजना गरिएको यस्ता इन्फाेटेक प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा स्थानीय तथा प्रदेश सरकारको बजेट झ्वाम्म पार्ने बाहेक अरू उपलब्धि केही देखिएको छैन ।






