मकवानपुर । केन्द्रीय राजनीतिमा सत्ता समीकरण नयाँ बनेसँगै यसको प्रभाव बाग्मतीमा कस्तो पर्ला ? अहिले यस’bout चर्चा चुलिएको छ, तर यसै होला भन्ने अवस्था छैन । सबै पर्ख र हेरको चरणमा छन् ।
दलहरू पर्ख र हेरको अवस्थामा
केन्द्रमा सत्ता समीकरणसँगै बाग्मतीमा पनि सरकार फेरबदल हुने पक्का छ । तर, यहाँको अंकगणितअनुसार भने केन्द्रमा झैं गठबन्धन सहज छैन । केन्द्रको गठबन्धनअनुसार बाग्मतीमा एमाले र माओवादी केन्द्रको सरकार बन्नुपर्नेछ । तर, यी दुई दलसँग प्रदेश सरकार गठनका लागि संख्या पुग्दैन । १ सय १० सदस्य रहेको बाग्मती प्रदेशसभामा सरकार बनाउनका लागि ५६ सिट आवश्यक पर्छ । तर, एमालेको २१ र माओवादी केन्द्र २७ गरी ४८ सिट मात्रै छ । ८ सिट पुग्दैन ।
प्रदेशमा सरकार गठनका लागि ७ सिट रहेको नेकपा समाजवादी र २ सिट रहेको हाम्रो नेपाली पार्टीको पनि साथ चाहिन्छ । अथवा, नेकपा समाजवादी र ३ सिट रहेको नेपाल मजदुर किसान पार्टीलाई सहभागी गराउँदा पनि सरकार गठनका लागि सिट पुग्ने देखिन्छ । अर्को विकल्प भनेको नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समीकरण हो । बाग्मतीमा राप्रपाको १३ सिट रहेको छ । तर, केन्द्रीय सत्ता समीकरणमा राप्रपा सहभागी नभएकाले प्रदेशमा सहभागी हुने सम्भावना पनि न्यून देखिन्छ ।
बाग्मतीमा यसअघि कांग्रेस–माओवादी गठबन्धनका आधारमा बनेका सरकारहरू नयाँ समीकरणसँगै फेरिने पक्का भएपछि अब कुनकुन दलले कुनकुन मन्त्रालय पाउने भन्नेमा आन्तरिक अड्कलबाजी सुरु भएको छ ।
हाल बाग्मतीमा माओवादी नेतृत्वको सरकार छ । बाग्मती प्रदेशमा मुख्यमन्त्री नफेरिने लगभग पक्कापक्की नै भए पनि मन्त्रीहरू भने फेरिन्छन् । गत १० पुसमा बनेको गठबन्धनअनुसार बाग्मती प्रदेश सरकार कांग्रेसहितको गठबन्धनमा थियो । बाग्मतीमा कुनै पनि दलको एकल बहुमत नभएकै कारण तीनभन्दा बढी दलको समीकरण अनिवार्य छ । केन्द्रको ढाँचामा एमाले र माओवादीसहितका नयाँ सत्ता साझेदार दलहरू मिल्दा पनि यहाँ अन्य दलको समर्थन अनिवार्य छ ।
केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग समीकरण बन्यो, प्रदेशमा यस पार्टीले निर्वाचन प्रक्रियामा भाग नलिएपछि शून्य छ । केन्द्रमा जसपा पनि छ, तर बाग्मती प्रदेशमा पनि जसपाका सांसद शून्य छ ।
बाग्मतीमा कांग्रेस ३७ सिटसहित पहिलो दल हो । दोस्रो दल एमालेसँग २७ सिट छ । माओवादीसँग २१, एकीकृत समाजवादीसँग ७, राप्रपासँग १३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को ३ र हाम्रो नेपाल पार्टीसँग २ सिट छ ।
राप्रपाले प्रदेश सरकारमा आफ्नो उपस्थिति’bout कुनै निर्णय नगरेको जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापाले केन्द्रको निर्णयबिना आफूहरू बोल्ने अवस्था नभएको बताए । ‘अहिले हामी पर्ख र हेरकै अवस्थामा छौं,’ थापाले भने । अहिले माओवादी केन्द्रकै नेतृत्वमा प्रतिपक्षमा रहेको राप्रपा फेरि उसैको नेतृत्वमा सत्ता पस्ने सम्भावना कम भएको थापाले बताए ।
माओवादी नेतृत्वको प्रदेश सरकारको साझेदार रहेको कांग्रेससँग चारवटा मन्त्रालय थियो । सत्ता समीकरण अहिले नसकिएको कांग्रेसका तर्फबाट प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री भएका रामकृष्ण चित्रकारले बताए । ‘जतिबेला पनि केन्द्रकै चाबीले चल्छ भन्ने होइन, हाम्रो पनि निर्णय हुनसक्छ,’ चित्रकारले भने, ‘नेपाली कांग्रेस संयमित छ, हतारमा निर्णय गर्दैन ।’
यता, नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले केन्द्रकै निर्देशनअनुसार अघि बढ्ने जानकारी दिए । एमालेले बाग्मतीमा मुख्यमन्त्री लिने वा मन्त्रीहरूको नाम टुंगो लगाउने विषय केन्द्रको निर्देशनअनुसार अघि बढ्ने र यस’bout केन्द्र र प्रदेशमा छलफल जारी रहेको उनले बताए ।
सत्तारूढ दल नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न ढकालले प्रदेशमा एमाले र माओवादीको समर्थनले सरकार नबन्ने हुँदा समर्थनका लागि अन्य पार्टीको विचार बुझ्ने काम भइरहेको बताए ।
बाग्मतीमा कांग्रेससँग प्रदेशमा अर्थ, पर्यटन, उद्योग तथा प्रशासन र खानेपानी ऊर्जा गरी चारवटा मन्त्रालय थिए ।
कर्णालीमा कांग्रेस मन्त्रीहरूद्वारा राजीनामा, समर्थन पनि फिर्ता
कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । उनीहरूले मंगलबार दिउँसो राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् ।
कांग्रेसबाट अर्थमा वेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार बीसी मन्त्री बनेका थिए ।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि राजीनामा दिएको ती मन्त्रीले पत्रकार सम्मेलनमार्फत बताएका छन् । साथै, कांग्रेसले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएका छन् ।