यसरी मनाइन्छ तोरन्ल

मनोज शेरचन

धवलागिरिको काखमा बसेका थकाली जातिहरूको एक मात्र महान् चाड तोरन्ल हो । यो चाड फागु पूर्णिमामा पर्ने गर्छ । थकालीहरूले भगवान्पछिको स्थान आफ्ना मृत्यु भएका पितृलाई दिएर तोरन्लमा विभिन्न परिकार चढाउने गर्छन् । यस महान् चाडलाई पितृ चढाउने चाड भनिन्छ । थकालीहरूले यो चाड सबैजना मिलीजुली हर्ष उल्लासका साथ मनाउने गर्छन् ।

थकालीहरूको पेसाहरू खेती, बस्तुपालन, होटल तथा व्यापार नै मुख्य हो । व्यापारिक प्रवृत्तिको र दूरदर्शिताका कारण उनीहरू परापूर्वकालबाटै उपल्लो मुस्ताङ, तिब्बत र भारतमा गएर व्यापार गर्ने गर्थे ।

परापूर्वकालदेखि नै व्यापारको सिलसिलामा जहाँ पुगे पनि उनीहरू तोरन्लमा भने आफ्नै गाउँघर फर्कने गर्छन् र सबै फर्कन्छन् । यदि, परिवारको कुनै सदस्य यस चाडमा फर्किएर नआएको खण्डमा गाउँघरले मृत्यु भएको अनुमान गरी सो व्यक्तिको काजकिरियासमेत गर्ने गरेका कथनहरू पनि छन् ।

तोरन्ल चाड विशेषगरी तीन दिन मनाउने गरिन्छ । अर्थात् फागु पूर्णिमाको दिनलाई माझमा पारी अघिल्लो दिन र पछिल्लो दिन गरी तीन दिन पितृ चढाउने कार्य गरिन्छ । झाँक्री खलक (पुरोहित खलकहरू)ले भने एक दिन बढी अर्थात् चार दिन पितृ चढाउने कार्य गर्छन् । यस चाडको अवसरमा पुरुषहरूले धस (धनुवाण) र महिलाले नाकाभोटी (कौडी), कैई (ढुंगाको गोटी) खेलेर एकआपसमा रमाइलो गरी मनाउने चलन छ ।

परापूर्वकालमा कमजोर आर्थिक स्थितिका कारण पनि नयाँ लुगा किन्न र मिठा परिकारहरू खान तोरन्ल नै कुर्नुपथ्र्यो । त्यसैले यो चाड आउँदा गाउँघरमा बच्चादेखि वृद्धासम्म साह्रै रमाउँथे । साथै, आफ्नै भाषा र आफ्नै भाकामा तोरन्लका गीतहरू गाएर नाचेर हर्षउल्लासका साथ मनाउँथे ।

गीतको बोल
चुङ्गीलम झ्योङ्बे, सोम्म्रा भृबे तोरन्ल, झ्योङ्जी तोरन्ल ।
घोइला सम्ब पोब, स्है सम्ब सोल्बरी, झ्योङ्जी तोरन्ल ।।

अर्थात् १२ महिनामा तीन दिन हर्ष उल्लासका साथ मनाइने सबैको प्यारो चाड तोरन्ल आउनुभयो । सबै जनाले नयाँ कपडा फेर्न पाउने, मृत्यु भएका पितृहरूलाई नयाँ र मिठा परिकारहरू खुवाउन पाउने साथै आफूहरूले पनि प्रसादका रूपमा खान पाउने चाड तोरन्ल आउनुभयो भनिएको हो । यस्ता, धेरै मिठामिठा टुक्काहरू जोडेर तोरन्लका गीत गाउने चलन छ । प्रत्येक वर्ष यो चाड आउनु केही दिनअघिबाटै घरलाई विशेष रूपले सफा गरी रङरोगन गरिन्छ । यस चाडमा रक्सी र जाँड अनिवार्य रूपमा चाहिने हुँदा सोको व्यवस्था गरिन्छ । विभिन्न थरिका फलफूलहरू र रोटीहरू तयार गरिन्छ । पितृ चढाउने कार्य मध्यरातमा (राति १२ बजेपछि भाले बास्नुअघि) गरिन्छ ।

पहिलो दिनकै मध्यरात जसरी नै पितृ चढाउने कार्य गरिन्छ । तेस्रो दिनको मध्यरातमा पनि पहिलाकै मध्यरातहरूमा झै पितृ चढाउने कार्य गरिन्छ । भोलिपल्ट बिहान भएपछि नुहाएर अंगुमा बत्ती बालिन्छ । रक्सी, जाँड, चिया, दूध र अण्डा चढाएर सम्पूर्ण परिवारले पितृहरूसँग आशीष माग्छन्

पहिलो दिनको मध्यरातलाई आफ्ना मृत्यु भएका पितृहरूलाई घरमा बोलाएर स्वागत गरिने दिनका रूपमा लिइन्छ । मध्यरातमा घरकामुलीहरू (बुबाआमा) उठेर घरआँगन बढारकुँडार एवं लिपपोत गरी नुहाएर नयाँ कपडा फेरी करुवामा चोखो पानी घरमा भिœयाइन्छ । सो करुवामा विभिन्न फूलहरूका साथै धुपीका पत्ता अनिवार्य राखी सजाइन्छ । रक्सी, जाँड, दूध, चिया, दही, अन्डा, विभिन्न थरिका फलफूलहरू, रोटीहरू, विभिन्न थरिका साग सब्जीहरूका परिकारहरू, माछा मासुका विभिन्न परिकार पकाएर सालको पातमा चढाइन्छ । घरका मुली पुरुषले अंगुमा (दियामा) बत्ती बाली चढाउने कार्य शुभारम्भ गरिन्छ । सबै पितृ उपस्थित भएको अनुभव गरी दुवै जनाले पितृहरूलाई छुयाफुल्जी (विशेष प्रकारको कार्य) गरिन्छ । मक्कलको आगोमा सुर (उवाको पिठो, मह र घिउको मिश्रण) हालिन्छ र पानी चढाइन्छ । चढाइएका सम्पूर्ण परिकारको स–साना टुक्राहरू मक्कलको आगोमा हाली पितृहरूलाई खानुहोस् भनी पुकारिन्छ । अर्थात् मृत्यु भएका पितृहरूले आगोमा चढाइएका खानेकुराहरूको धुवाँबाटै परिकारहरू खानुहुन्छ भन्ने थकालीहरूको जनविश्वास छ । यी कार्यपछि मुली पुरुषले खे थेव (पितृहरूलाई रक्सी, जाड चढाउने विशेष प्रकारको कार्य) गर्छन् । पुनः चढाएका सबै परिकार स–साना टुक्राहरू सालको पातमा दुइर्वटा भाग लगाइन्छ र घरबाहिर आँगनमा राखिन्छ । एउटा भाग सम्पूर्ण चराचुरुंगीहरूका लागि र अर्को भाग आफ्ना घरमा सेवकका रूपमा बसेर मृत्यु भएका सम्पूर्ण सेवकहरूका लागि चढाइन्छ । यी सम्पूर्ण कार्य सकेपछि बाँकी रहेका परिकार पितृहरूको प्रसादका रूपमा सम्पूर्ण परिवारले ग्रहण गर्ने परम्परा छ ।

दोस्रो दिन चिरदाह पूर्णिमा पर्ने हुँदा यस दिनमा आफ्ना छोरी ज्वाइँहरू, नाति–नातिनाहरू र भान्जा–भान्जीहरूलाई बोलाएर पितृहरूको प्रसाद र मिठामिठा परिकारहरू बनाएर खुवाउने चलन छ । यस दिनमा खुवाउनाले ठूलो पुण्य मिल्छ भन्ने थकालीहरूमा जनविश्वास रहिआएको छ । छोरी विवाह गरेको पहिलो तोरन्ल परेको खण्डमा रक्सी जाँडका साथ चौरासी व्यञ्जन बनाएर कोसेली ल्याउनुपर्छ । अथवा रक्सी र कुखुराको भाले कोसेली लिएर माइती आउने चलन छ । सो दिन मध्यरातमा पितृहरूले आफ्नो जीवनकालमा अति मनपराउने परिकारहरू बनाएर चढाउने गरिन्छ ।

पहिलो दिनकै मध्यरात जसरी नै पितृ चढाउने कार्य गरिन्छ । तेस्रो दिनको मध्यरातमा पनि पहिलाकै मध्यरातहरूमा झै पितृ चढाउने कार्य गरिन्छ । भोलिपल्ट बिहान भएपछि नुहाएर अंगुमा बत्ती बालिन्छ । रक्सी, जाड, चिया, दूध र अण्डा चढाएर सम्पूर्ण परिवारले पितृहरूसँग आशीष माग्छन् ।

आशीषको बोल
छैई ए ढाव छेपाङ म्हे प्रे छै छेई पूरा ए बरदान
रिहीसी न्हाङ्ल झैलम्याङ ।
न्होर ए ढाव अरक्या जबमु प्रे न्होर पूरा ए बरदान
रिहीसी न्हाङ्ल झैलम्याङ ।
घाङ् घते मिरवे, छो घते खिल्वे, स्हयो घटे छयाव,
चु आशीष न्हाङ्ल झैलम्याङ ।

अर्थात्, पहिलो टुक्कामा, हे पितृहरू ! हाम्रो सपरिवारलाई आयु दिने भगवान्सँग दीर्घायु चिरन्जीवी र निरोगी हुने आशीर्वाद मागिदिनुहोस् भनिएको हो ।

दोस्रो टुक्कामा, हे पितृहरू ! धनकी देवी लक्ष्मीसँग आफ्नो घरमा प्रशस्त धन, द्रव्य आउने वरदान मागिदिनुहोस् भनिएको हो ।

तेस्रो टुक्कामा आफ्नु घरमा सम्पत्तिले पहाडजस्तै चुलिने, जसरी तलाउको पानी कतै नबगीकन जम्मा भएर सधैं बस्छ, जसरी दही बाक्लो भएर जमेर बस्छ, त्यसरी नै घरमा सम्पत्ति नघटी अटल भई रहिरहने र घरको लक्षिन कहिल्यै पनि बाहिर नजाने आशीर्वाद दिनुहोस् भनिएको हो ।

यस्ता धेरै मिठा टुक्काहरू भनी पितृहरूसँग आशीष मागिन्छ । अन्त्यमा अर्को वर्ष फेरि यसैगरी पितृहरूलाई स्वागत गर्दछु भनी पितृहरूलाई आफ्नै लोकमा अर्थात् स्वर्गमा फर्कनुहोस् भनी बिदा माग्ने गरिन्छ ।

साथै, तोरन्ल चाडसँगै सबै पितृहरूको बिदा माग्दा यस प्रकारका गीत गाइन्छ ।

तितिन जे क्योप्रो धुर्म धोतो नाङ्सेदो तोरन्ल
धुर्म सैजम झ्योङ्व लसी नाङ्सेदो तोरन्ल ।।

अर्थात् पहिलो लाइनमा, यस वर्षको आजको दिनबाट अर्को वर्षको यही समयसम्मका लागि बिदा भएर राम्रोसँग जानुहोस्, तोरन्ल चाड ।

दोस्रो लाइनमा अर्को साल फेरि यसै समयमा आउनेगरी राम्रोसँग जानुहोस्, तोरन्ल चाड भनिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नुवाकोटको बेलकोटगढी नगरपालिका –११ मा कांग्रेसको प्यानल नै बिजयी