बढ्न नसकेको वैदेशिक व्यापार

पछिल्लो समय नेपाली अर्थतन्त्रका परिसूचकहरूमा सकारात्मक परिवर्तन देखिएको जनाइएको छ । यसैलाई आधार बनाएर मुलुकको आर्थिक अवस्था सुध्रिने क्रममा रहेको दाबी सरकारको छ । विशेषगरी अर्थतन्त्रका बाह्य परिसूचकहरू जस्तै– शोधनान्तर स्थिति देखिएको बचत, विदेशी मुद्रा सञ्चिति तथा विप्रेषणमा भएको वृद्धि, घट्दो व्यापार घाटाको तथ्यांकलाई आधार बनाएर यस्तो दाबी गरिएको देखिन्छ । नेपाली अर्थतन्त्रमा सबैभन्दा बढी दबाब सिर्जना गर्दै आएको वैदेशिक व्यापार घाटा अहिले कम हुँदै गएको छ । झट्ट हेर्दा व्यापार घाटा घट्नु अर्थतन्त्रका लागि अनुकूल अवस्थाको निर्माण हुँदै गएको अनुमान लगाउन सकिन्छ ।

तथापि, अहिले मुलुकको व्यापार घाटा घट्नुलाई सकारात्मक मान्न सकिने अवस्था भने छैन । यसका पछाडि नेपालको निर्यात बढ्दै गएको र आयात घटेकाले नभई समग्र वैदेशिक व्यापारमा नै गिरावट आएकाले यस्तो अवस्था देखिएको छ । चालू आवको पहिलो महिनादेखि नै निर्यात एवं आयात व्यापारको परिमाण घट्दै गएकाले समग्र व्यापार घाटासमेत घटेको देखिएको हो । मुलुकको अर्थतन्त्रको स्वास्थ्य अवस्थालाई प्रभाव पर्ने प्रमुख क्षेत्रहरूमध्ये वैदेशिक व्यापार पनि एक हो । यसको परिमाण दिन प्रतिदिन घट्दै जानुले अर्थतन्त्रमा पक्कै पनि सकारात्मक सन्देश दिएको छैन ।

भन्सार विभागको पछिल्लो तथ्यांकनुसार चालू आवको पहिलो आठ महिना (साउनदेखि फागुन) सम्मको अवधिमा ११ खर्ब ३० अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोही अवधिको तुलनामा २ दशमलव ७८ प्रतिशतले वस्तु तथा सेवा व्यापार घटेको देखिएको छ । गत वर्ष ११ खर्ब ६३ अर्ब १८ करोड १७ लाख रुपैयाँको वैदेशिक व्यापार भएको थियो । यसैगरी, यस अवधिमा आयात व्यापार गत वर्षको तुलनामा २ दशमलव ६६ प्रतिशतले घटेको छ । यो आवको पहिलो आठ महिनामा नेपालले १० खर्ब ३० अर्ब २२ करोड २७ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ ।

गत वर्ष यो परिमाण १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँबराबरको थियो । यसैगरी, यस अवधिमा निर्यात व्यापार पनि घटेको छ । गत आवको आठ महिनामा नेपालले १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेकामा यस वर्ष भने ३ दशमलव ९९ प्रतिशतले घटेर १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ । निर्यातको तुलनामा आयातको परिमाण धेरैघटेको कारण व्यापार घाटा गत वर्षको तुलनामा २ दशमलव ५२ प्रतिशतले घटेको देखिएको छ । यस अवधिमा मुलुकको व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म यो घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँ थियो ।

नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात व्यापार एकअर्काबीच अन्तरसम्बन्धित छन् । पछिल्लो समय मुलुकबाट निर्यात हुने अधिकांश वस्तुहरू आयातीत वस्तुमा निर्भर हुने गरेका छन् । विगतका वर्षहरूमा नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरूमा पाम (ताडी वा खजुर) तेल, भटमास तेल तथा सूर्यमुखी तेलजस्ता वस्तुहरू पर्ने गरेका थिए । नेपालमा यी वस्तुको आन्तरिक उत्पादन भने पर्याप्त छैन । यी वस्तु उत्पादन तथा प्रशोधनका लागि आवश्यक कच्चा पदार्थ इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, थाइल्यान्ड, युक्रेन, ब्राजिल, अर्जेन्टिनालगायत मुलुकबाट आयात गर्ने गरिएको थियो ।

अहिले भने यस्ता कच्चा पदार्थहरूको आयात अप्रत्याशित रूपमा घटेको छ । यसैकारण यी वस्तुहरूको निर्यातसमेत घटेको छ । आव २०७८÷०७९ मा भएको कुल निर्यातमा करिब ३५ प्रतिशतभन्दा बढी योगदान पु-याएका सूर्यमुखी, पाम र भटमासको तेल अहिले प्रमुख निर्यात हुने वस्तुको सूचीमा समेत मुस्किलले पर्ने गरेका छन् ।

मुलुकको कुल निर्यातमा ३५ प्रतिशत योगदान पु¥याएका सूर्यमुखी, पाम र भटमासको तेल प्रमुख निर्यात वस्तुको सूचीमा मुस्किलले देख्न सकिन्छ

चालू आवको पहिलो आठ महिनामा नेपालबाट निर्यात भएका मुख्य १० वस्तुहरूमा क्रमशः फलामे पाता, सेन्थेटिक यार्न, ऊनी गलैंचा कार्पेट, तयारी पोसाक, फलफूलको जुस, अलैंची, प्लाइउड, प्रशोधित पाम तेल, जुटबाट बुनिएका कपडा र जमोठ कपडा पर्न सफल भएका छन् । अहिले प्रमुख निर्यात हुने वस्तुमा पर्न सफल कतिपय वस्तुहरू अघिल्ला आवहरूमा नामसमेत मुस्किलले भेट्ने गरिन्थ्यो । यसले नेपालको निर्यात व्यापार अस्थिर रहेको पुष्टि गर्छ । वर्षैपिच्छे मात्र नभई महिनैपिच्छे प्रमुख निर्यात हुने वस्तुको संरचनामा परिवर्तन आएको देखिन्छ । यसले गर्दा कुनै ठोस दीर्घकालीन सोच, योजना र कार्यक्रमबिना नै नेपालको निर्यात व्यापार अघि बढेको छ भन्दा फरक नपर्ला ।

गत आठ महिनाको अवधिमा निर्यात व्यापारमा जस्तो आयात व्यापारको संरचनामा भने धेरै उतार चढाव देखिएको छैन । विगतका वर्षहरूमा धेरै आयात हुने वस्तुहरूको नै वर्चस्व देखिन्छ । यस अवधिमा आयात भएका प्रमुख १० वस्तुहरूमा क्रमशः डिजेल, पेट्रोल, एलपी ग्यास, एचआरसिट (स्पातको फ्ल्याट रोल्ड), शुद्ध फलाम, तयारी कपडा, मोबाइल÷टेलिफोन, एलोपेथिक औषधि, सुन र विद्युतीय सञ्चालित÷जीप÷कार÷भ्यान पर्न सफल भएका छन् । आयातीत वस्तुको संरचनामा खासै परिवर्तन नभए पनि गत वर्षको तुलनामा आयात परिमाणमा गिरावट आएको छ । आयातमा गिरावट आउँदा वस्तु तथा सेवाको आप्रवाह मात्र घट्दैन, मुलुकको प्रमुख राजस्वको स्रोतमा समेत प्रतिकूल असर पर्न जान्छ ।

तथापि, अद्यावधिक अवधिमा गत वर्षको तुलनामा समग्र आयात घटे पनि राजस्व संकलन भने बढेको जनाइएको छ । चालू आवको आठ महिनामा मुलुकभरका भन्सार कार्यालयबाट २ खर्ब ७१ अर्ब राजस्व संकलन भएको तथ्यांक छ । गत आवको यसै अवधिमा २ खर्ब ४३ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । भन्सार अनुगमन तथा निरीक्षण र राजस्व नीतिमा गरिएको सुधारका कारण आयात घट्दा पनि राजस्व संकलन बढाउन सफल भएको भन्सार विभागका अधिकारीहरूले दाबी गरेका छन् । तर पनि, चालू आवको राजस्व संकलनले सरकारको लक्ष्य भेट्टाउन सकेको छैन ।

वर्तमान समयमा निर्यात एवं आयात व्यापारमा नयाँ–नयाँ वस्तुहरूको हिस्सा बढ्दै गए पनि समग्र वैदेशिक व्यापार घट्दै जानुले आन्तरिक अर्थतन्त्र अझै पनि चलायमान नभएको सन्देश दिएको छ । बजारको समग्र मागमा आएको कमी तथा उत्पादन लगतको वृद्धिले गर्दा ठूला तथा मझौला उद्योगहरू पूर्ण क्षमतामा नचलेको अवस्था छ । यसैगरी, पछिल्लो समय मुलुकमा देखिएको सहकारी संकटले समेत साना तथा लघु उद्यमीहरू मर्कामा परेका छन् । यसको असर मुलुकभित्रै सञ्चालमा रहेका व्यापार व्यवसायमा समेत पर्दै गएको छ । कतिपय सहरी क्षेत्रका उद्योगी तथा व्यवसायीहरू पलायन भएका छन् । व्यापारिक भवनहरूका सटरहरू बन्द भएका देखिएका छन् । यसैगरी, मुलुकको निर्माण क्षेत्रसमेत अहिले सुस्ताएको अवस्था छ ।

कृषि, उद्योग तथा सेवा क्षेत्रका उत्पादनलाई सन्तुलित तरिकाले अगाडि बढाएको खण्डमा निर्यात व्यापारले लय समात्ने आँकलन गर्न सकिन्छ

सरकारले पुँजीगत खर्चमा वृद्धि गर्न नसक्दा यस क्षेत्रले समेत आन्तरिक अर्थतन्त्र चलायमान बनाउन कुनै भूमिका खेल्न सकेको छैन । यसको सोझो असर समग्र आन्तरिक उत्पादन, रोजगारी तथा आम्दानीको क्षेत्रमा देखिएको छ । मुलुकभित्रै रोजगारी र आम्दानीका अवसरहरू खुम्चिँदै जाँदा रोजगारीका लागि बिदेसिने युवाको संख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । वैकल्पिक आम्दानीका स्रोतहरूको अभावले मानिसहरूको क्रयशक्तिसमेत घट्दै गएका कारण बजारमा वस्तु तथा सेवाहरूको मागमा समेत कमी आएको बताइएको छ । अन्तत, यसको प्रतिकूल प्रभाव उत्पादन क्षेत्रमा पर्न गएको छ ।

एकातिर उद्योग तथा कलकारखानाहरू पूर्ण रूपमा चल्न नसक्दा आवश्यक कच्चा पदार्थ तथा अन्य सामग्रीहरू पर्याप्त मात्रामा आयात गर्न सकेका छैनन् भने अर्कोतिर उत्पादनमा आएको कमीले निर्यात व्यापारमा समेत गहिरो असर पर्न गएको छ । निर्यातको परिमाणको तुलनामा आयातको परिमाण धेरै हुनाले मुलुकले सधैभरि व्यापार घाटाको सामना गरिरहेको छ । यसले मुलुकको अर्थतन्त्रका विभिन्न आन्तरिक परिसूचकहरूमा समेत नकारात्मक प्रभाव पार्दै आएको छ ।

यसैकारण व्यापार घाटा न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुपर्ने जरुरी देखिन्छ । तर, अहिले देखिएको जस्तो आयात–निर्यात दुवैमा आएको संकुचनले गर्दा घटेको व्यापार घाटाले भने अर्थतन्त्रलाई टेवा पु¥याउनसक्दैन । मुलुकले वैदेशिक व्यापारबाट लाभ प्राप्त गर्नका लागि निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनको नीति अगाडि सार्नुपर्ने आवश्यकता देखिन्छ ।

आत्मनिर्भर अर्थतन्त्र तथा वैदेशिक व्यापारको विस्तारका लागि नेपालले तुलनात्मक तथा प्रतिस्पर्धात्मक लाभका क्षेत्र तथा वस्तुहरूको पहिचान गरी उत्पादन वृद्धिका उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकता देखिएको छ । मुलुकको आन्तरिक उत्पादन वृद्धिले मात्र यहाँका किसान, उत्पादक, उद्यमी र राज्यका लागि फाइदाजनक हुनसक्छ । नेपालले आफूले उत्पादन गरेर निर्यात गर्नसक्ने सम्भावना भएका धेरै वस्तुहरू रहेका विभिन्न अध्ययनहरूले देखाएका छन् । नेपालको अर्थतन्त्रको आकार, भौगोलिक अवस्थिति तथा भूपरिवेष्ठितता, विकासको स्तर, अनुदानलगायतका पक्षलाई विचार गर्दै अन्तर्राष्ट्रिय व्यापारको ग्र्याभिटी मोडेलका आधारमा विश्वबैंकले नेपालको निर्यात व्यापार’bout प्रक्षेपण गरेको जनाइएको छ ।

सो प्रतिवेदनमा हाल जति मूल्यबराबरको वस्तु विदेशमा निर्यात गरिरहेको छ, त्यसको करिब १२ गुणा बढी निर्यात क्षमता नेपालको रहेको बताइएको छ । तर, हालसम्म त्यो अवसर नेपालले गुमाइरहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । यसका लागि आन्तरिक उत्पादन तथा उत्पादकत्व वृद्धिबाहेक अरू विकल्प देखिँदैन । मुलुकको कृषि, उद्योग तथा सेवा क्षेत्रको उत्पादनलाई सन्तुलित तरिकाले अगाडि बढाएको खण्डमा मात्र निर्यात व्यापारले लय समात्नसक्ने आँकलन गर्न सकिन्छ ।

निर्यात व्यापारको प्रवद्र्धनसँगै आयात व्यापारले समेत गति लिने कुरामा दुईमत छैन । तथापि, नेपालमै उत्पादन कच्चा पदार्थमा आधारित उद्योगहरूको प्रवद्र्धन गरेर उत्पादन र उत्पादकत्व वृद्धि गरेको खण्डमा मात्र नेपालको वैदेशिक व्यापार स्थिर हुनुका साथै यसबाट अपेक्षित लाभ लिनसक्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोज साह मेयरमा निर्वाचित