धनगढी । धनगढी उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क रुपमा सहायक सामग्री वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । उपमहानगरपालिकाले गत वर्ष पनि अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरेको थियो । गत वर्ष नगर क्षेत्रका १८९ जनालाई सहायक सामग्री वितरण गरिएको थियो ।
उपमहानगरपालिकाले यसपटक नगर क्षेत्रमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिको खोजी गर्न पाँच स्थानमा स्क्रिनिङ शिविर समेत सञ्चालन गरिएको जनाएको छ । नगरको फूलबारी क्षेत्रमा बुधवार स्क्रिनिङ शिविर सञ्चालन गरिएको थियो । उपमहानगरपालिका कार्यालयले आगामी बैशाख १२ गतेभित्र अन्य चार स्थानमा स्क्रिनिङ शिविर सञ्चालन गरिने जानकारी दिएको छ ।
स्क्रिनिङ शिविरमा अपाङ्गताको किसिम र आवश्यक पर्ने सहायक सामग्रीको पहिचान गर्ने तथा नापजाँच गरिन्छ । नापजाँचपछि अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहायक सामग्री प्रदान गरिनेछ ।
बुधवार (चैत २१ गते) देखि धनगढी उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गर्ने प्रयोजनका लागि स्क्रिनिङ कार्य अघि बढाएको जनाएको छ । बुधवार उपमहानगरपालिकाका वडा नम्बर १४, १८ र १९ का लागि फूलबारी स्वास्थ्य चौकीमा अपाङ्गता स्क्रिनिङ शिविर सञ्चालन गरिएको थियो ।

सो स्क्रिनिङ शिविरमा अपाङ्गता भएका ५५ जनाको पहिचान भएको थियो । धनगढी उपमहानगरपालिकाले सर्वाङ्गीण अपाङ्गता विकास समाजसँगको साझेदारीमा स्क्रिनिङ शिविरमा पहिचान भएका व्यक्तिहरूलाई निःशुल्क रुपमा आवश्यक सहायक सामग्री वितरण गर्नेछ । गत वर्ष धनगढी नगरका १८९ जना अपाङ्गता भएका व्यक्तिलाई २०५ किसिमका सहायक सामग्री वितरण गरिएको उपमहानगरपालिका महिला विकास अधिकृत पंकजा जोशीले जानकारी दिइन् । “गत वर्ष १८९ जनालाई ३२ लाख रुपैयाँको लागतमा २०५ किसिमका सहायक सामग्री वितरण गरेका थियौ” उनले भनिन् ।
आगामी २९ गते उर्मा स्वास्थ्य केन्द्रमा वडा नम्बर १५, १६ र १७ का सेवाग्राहीको स्क्रिनिङ गरिने उपमहानगरपालिकाले जनाएको छ । त्यस्तै, आगामी बैशाख ९ गते वडा नम्बर ९, १० र १२ का सेवाग्राहीका लागि घुइयाँघाट स्वास्थ्य चौकीमा, बैशाख १० गते वडा नम्बर ६, ११ र १३ का लागि घोडसुवा स्वास्थ्य चौकीमा स्क्रिनिङ शिविर सञ्चालन गरिने छ । त्यस्तै, मुख्य बजार क्षेत्रका सेवाग्राहीका लागि बैशाख १२ गते नगरपालिका परिसरमा शिविर सञ्चालन गरिने उनले जानकारी दिइन् ।
महिला विकास अधिकृत जोशीले यस वर्ष स्वीकृत वार्षिक कार्यक्रममा १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा सर्वाङ्गीण अपाङ्गता विकास समाजले अपाङ्गता सहायक सामग्री वितरण गर्न ९ लाख रुपैयाँमा टेन्डर पाएको छ । उनले भनिन्– यस वर्ष शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचेयर, बैसाखी, चस्मा तथा कान नसुन्ने व्यक्तिलाई आवश्यक सहायक सामग्री प्रदान गरिने छ ।
उनले विनियोजित बजेट अपुग भएमा पनि स्क्रिनिङ शिविरमा पहिचान भएका सबैलाई सहायक सामग्री दिन समस्या नहुने बताइन् । उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालित स्क्रिनिङ शिविरमा सहभागी हुन वडाध्यक्ष र सदस्यहरू तथा महिला स्वास्थ्य स्वयंसेविका मार्फत सूचना प्रवाह गरेकोे छ ।






