सर्लाही। सर्लाहीमा एक बोरा धान चोर्न आएको व्यक्तिलाई प्रतिकार गर्दा एक वृद्धाको हत्या भएको छ। प्रहरीले बागमती नगरपालिका–४, जिरायतमा एक वृद्धाको हत्यामा संलग्न युवकलाई आज सार्वजनिक गरेको छ ।
जिरायत जंगल टोल बस्ने ७० वर्षीया पार्वतीकुमारी महतोको अस्ती मंगलबार बेलुका घरमै हत्या भएको थियो । प्रहरीले पार्वतीको हत्यामा संलग्न रहेको आरोपमा रौतहटको बृन्दावन नगरपालिका–५, नरकटिया बस्ने ३९ वर्षीय प्रमोद झा भन्ने प्रमोद चौधरीलाई पक्राउ गरी सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । प्रमोदले प्रमिलादेवीको अनुहारमा काठको मुढो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनायो । प्रमोदले जिरायत क्षेत्रमा ज्याला मजदुरी गर्थे ।
वृद्धा पार्वतीको टाउको समेतमा चोट भई रक्ताम्य अवस्थामा शव फेला परेको थियो । प्रहरीको अनुसन्धानमा मृतकको घर कोठामा ७ बोरा धान मध्ये ६ बोरा धान मात्र रहेको खुल्न आएको थियो । बागमती नगरपालिका वडा नं.४ स्थित घिमिरे चौकमा रहेको किराना पसलमा जडान गरेको सि.सि.टि.भि. फुटेज हेर्दा प्रमोद झा भन्ने प्रमोद चौधरीले मृतकको घरमा रहेको धानको बोरा चोरी गरि किराना पसलमा बिक्री गर्न गएकोमा पसलवालाले खरिद नगरे पश्चात सो बोरा बोकी जादै गरेको देखिएको अनुसन्धानमा खुलेको थियो ।






