संखुवासभा । राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा पुश तथा बाली बिमा लागु गरिने भएको छ । संखुवासभाको सदरमुकाम खाँदबारीमा सम्पन्न भएको ४० औं वार्डेन सम्मेलनले राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा पुश तथा बाली बिमा लागु गर्ने २३ बुँदे संकल्प प्रस्ताव पारित गरेको छ ।
संरक्षित क्षेत्रमा दिगो लगानी भन्ने मूल नाराका साथ सदरमुकाम खाँदबारीमा वार्डेन सेमिनार तथा २२ औँ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षको बैठक आज सम्पन्न भएको हो । मध्यवर्ती क्षेत्र उपभोक्ता र ब्यवस्थापन समितिको संस्थागत र संरचनागत सुधार गरी समानुपातिक र समावेशी बनाउने नियमावली संधोभन सहित विभिन्न २३ बुँदे संकल्प प्रस्ताव पारित गरिएको छ । १९ गते देखि सुरु भएको ४० औं वार्डेन सेमिनार तथा २२ औँ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षको बैठक आज सम्पन्न भएको हो ।
प्रकृति संरक्षण शिक्षालाई सम्पूर्ण संरक्षणकर्मीलाई साझा शिक्षालय बनाउन आवश्यक नितिगत ब्यवस्था,भौतिक पूर्वाधारको निर्माण, जनशक्तिको ब्यवस्थापन तथा तालिम मार्फत विकास गर्दै लैजाने, पशु तथा बाली बिमाको लागि बिशेष पहल गर्ने लगायतका २३ बुँदे संकल्प प्रस्ताव पारित भएको मकालु बरुण राष्ट्रिय निकुञ्जका प्रमुख भूमिराज उपाध्ययले जानकारी दिए ।
त्यस्तै मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिलाई राष्ट्रिय संजाललाई संस्थागत मान्यता प्रदान गर्ने गरी मध्यवर्ती क्षेत्र ब्यवस्थापन परिषदको छुट्टै कोष संचालनको लागि कानुनी ब्यवस्था मिलाउनु पर्ने संकल्प प्रस्ताव पारित भएको राष्ट्रिय निकुञ्जका प्रमुख उपाध्ययले बताए । सम्मेलनमा १२ वटा निकुञ्जका वार्डेन, सिकार आरक्षणका १ र वन्यजन्तु आरक्षणका १ जना वार्डेन सहभागि भएका थिए ।
त्यस्तै, ६ वटा संरक्षण क्षेत्रका अधिकृत र २ जना प्राणी उद्यानका अधिकृत पनि सहभागि थिए । सम्मेलनमा १३ जना मध्यवर्ती उपभोक्ता क्षेत्रका अध्यक्ष सामेल भएका थिए । संरक्षित क्षेत्रलाई आत्मनिर्भर बनाउन संरक्षित क्षेत्रमा उपलव्ध कोषहरु रचनात्मक रुपमा कसरी परिचालन गर्ने, नयाँ लगानी कसरी र कुन क्षेत्रमा भित्राउने बिषयमा सम्मेलनमा छलफल गरिएको थियो ।
त्यस्तै गरी संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र र राष्ट्रिय निकुञ्जको नियमावली संशोधन गर्ने संकल्प पारित गरिएको छ । निकुञ्ज आरक्षमा खटिएका सेनाका गणपति, गुल्मपति सहित सम्मेलनमा १ सय ५० जना सहभागि भएका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विकास विभागले सम्मेलन आयोजना गरेको हो ।
राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागको स्थापना पश्चात् २०३८ सालदेखि प्रत्येक वर्ष वार्डेन सेमीनार गर्न थालिएको हो । त्यस्तैगरी २०६० सालदेखि मध्यवर्तीे क्षेत्र ब्यवस्थापन समितिअध्यक्ष सम्बन्धित निकुञ्ज आरक्षमा तैनाथ नेपाली सेनाका गण, गुल्मका गुल्मपतीको समेत सहभागीता रहदै आएको छ ।






