मुभी अर्थात् चलचित्र, जसलाई सिनेमा, मोसन पिक्चर तथा फिल्म पनि भन्ने गरिन्छ र आमनेपाली जनजिब्रोमा फिलिम र पिक्चरले चिनिन्छ, आधुनिक युगको प्रमुख र निकै लोकप्रिय मनोरञ्जनको साधान हो । तर, हाम्रो समाजमा पिक्चरले मान्छे बिर्गाछ भन्ने पनि चलन छ । त्यो एक हदसम्म सत्य पनि हो, त्यो ’cause आफ्नो कामधन्दा वा पढाइलेखाइ छोडेर फिल्मको किरो बन्ने हो भने फिल्मले अवश्य नै मानिस बिर्गाछ । तर, राम्रा चलचित्र कहिलेकाहीँ हेर्ने हो भने चलचित्रले मानिसको थकित मनलाई मनोरञ्जन दिनुकासाथै मानिसलाई शिक्षा, उत्प्रेरणा तथा दिशानिर्देशसमेत गर्छ ।
राम्रा चलचित्रले दर्शकलाई २—३ घण्टा यसरी बाँध्छन् कि दर्शक पर्दामा हराउँछन् । सम्भवतः मानिस यसरी र यत्तिबेर एकाग्रचित्त अन्य कुनै चिजमा हँुदैनन् । त्यसैले त किताबको पाठ याद नहुने विद्यार्थीलाई पनि चलचित्रको एक—एक संवाद र दृश्य याद हुन्छन् । प्रायः दर्शकलाई थाहा हुन्छ, चलचित्र एक नाटक हो, कलाकारहरूको अभिनय हो, सत्य घटना होइन तर पनि चलचित्र हेर्ने क्रममा उसले चलचित्रलाई सत्य घटना नै ठान्छ, सक्कली कथा नै मान्छ अनि ऊ कथासँगै हाँस्छ, रुन्छ, खुसीले उफ्रिन्छ । साँच्चै मुभिले मानिसको मनमा म्याजिक नै पैदा गरिदिन्छ ।
चलचित्र यस्तो साहित्य हो, जसलाई हेर्न, सुन्न र अनुभव गर्न सकिन्छ । त्यो ’cause दर्शकले चलचित्र हेरेका मात्र हँुदैन, संवाद र गीत सुनेका पनि हुन्छन्, चलचित्रको कथाको बगाइसँगै आफूलाई कलाकारको अभिनयमा समाहित पनि गरेका हुन्छन् । त्यसैले चलचित्रले मानव मनमस्तिष्कमा निकै ठूलो प्रभाव पार्छ । चलचित्रको कतिपय प्रभाव प्रत्यक्ष नै अनुभव हुन्छ भने अधिकांश प्रभाव मानिसको अवचेतन मनमा गएर बस्छ । अवचेतन मन, मानिसको त्यो मन हो, जसले मानिसको संसारलाई हेर्ने दृष्टिकोण, आचारविचार र उसको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका निभाउँछ ।
चलचित्रको प्रभाव प्रत्यक्ष अनुभव हुने भए पनि अधिकांशतः मानिसको अवचेतन मनमा गएर बस्छ
कलेज पढ्नेबेलाका कुरा हो । मेरो एउटा महत्वपूर्ण काम बिग्रिपछि म निकै हतास र निराश भएको थिएँ । मलाई खाना रुचि थिएन, कसैसँग बोल्न मन थिएन । मलाई रातभरि निद्रा परेन । निद्रा नपरेपछि मैले मन नलगाइ¬ नलगाइ टिभी खोलें । टिभीमा निर्देशक मोहन सिन्हाको हिन्दी फिल्म इम्तिहान आइरहेको थियो । केहीबेर हेरेपछि मलाई फिल्मले निकै आर्कषित ग¥यो । कभी रुक जना नही तु हारके गीतले निकै प्रभावित पा¥यो । मेरो मन एकाएक परिवर्तन भयो, नुन खाएको कुखुराको जस्तो भएको मेरो टाउको माथि उठ्यो, निराश मेरो मनमा एकाएक आशाको ज्योति जल्यो । इम्तिहानले म्याजिक ग¥यो । चलचित्रले कसरी मानिसको मन परिवर्तन गरिदिन सक्दोरहेछ भन्ने कुरा मैले त्यसेबेला प्रत्यक्ष अनुभव गरेको थिएँ ।
मुभीले मेडिसिनको काम गर्छ भन्ने तथ्य मैले धेरै पहिला नै आफैं अनुभव गरेका भए तापनि सन् २००२ तिर आएर माइन्डबडी मेडिसिनको अध्ययनका दौरानमा मैले सिनेमाथेरापीका पिता तथा मुभी डाक्टरको उपनामले चर्चित डा. गैरी सोलोमन, डा. बिर्जिट वोल्ज र डा. न्यासी पेस्के आदिबाट सिनेमाथेरापीका ’boutमा धेरै कुरा सिक्ने मौका पाएँ । सिनेमाथेरापीका क्षेत्रमा उनीहरूको चामत्कारिक प्रयोग सुन्न र देख्न पाएँ । सानैदेखि फिल्मप्रति रुचि राख्ने भएकाले पनि सिनेमाथेरापीले मलाई आकर्षित गर्नु स्वाभाविकै थियो । त्यसैले मैले सिनेमाथेरापीलाई कग्निटिभ थेरापीसँगै प्रयोगमा ल्यान सुरु गरें । सिनेमाथेरापीलाई मुभी थेरापी, मोसन पिक्चर थेरापी, रिलथेरापी तथा मुभी मेडिसिन पनि भन्ने गरिन्छ ।
सन् २००४ तिरको कुरा हो, मैले प्रेमिकाले अर्कै केटासँग विवाह गरेपछि डिप्रेस्ड भएका र तीन महिना एन्टिडिप्रेसेन्ट खाएर पनि ठीक नभएका काठमाडौंका एक युवकको केस हेरेको थिएँ । ती युवक निकै उदास थिए, बारम्बार आउने प्रेमिकाको सम्झनाले निकै स्ट्रेसफुल पनि थिए । मैले उनलाई कग्निटिभ थेरापीका साथै मुभी थेरापीद्वारा उपचार गर्ने निधो गरें र उनलाई विद्युविनोद चोपडाद्वारा निर्देशित हिन्दी चलचित्र मुन्ना भाई एमबीबीएस हेर्न लगाएँ । कस्तो अचम्म भयो कि एन्टिडिप्रेसिन्टले ठीक नभएका ती युवक मुन्ना भाइ हेरेर ठीक भए । यो मेरो पहिलो मुभी प्रेस्क्रिप्सन थियो ।
दर्शकलाई मनोरञ्जन दिई व्यापार गर्ने उद्देश्यले निर्माण गरिएका चलचित्रले पनि ‘सिनेमाथेरापी’को काम गर्न सक्छन्
सयुंक्त परिवारमा बस्ने एक जना भद्रपरुष आफ्ना दाजुुभाइको खिचातानीले गर्दा निकै तनावमा थिए । मैले उनलाई ऋषिकेश मुखर्जीद्वारा निर्देशित हिन्दी चलचित्र बावर्ची प्रेस्क्राब्ड गरें । उनले मेरो सल्लाहबमोजिम घरमा दाजुभाइसँग बसेर त्यो चलचित्र हेरे । बावर्चीले कमाल नै ग¥यो, दाजुभाइबीच एकअर्कालाई हेर्ने नकारात्मक दृष्टिकोण नै फेरिदियो । दाजुभाइको सम्बन्ध पुनः बाल्यकालमा जस्तो सुमधुर हुन पुग्यो । यस्ता उदाहरणहरू थुप्रै छन् ।
निको नहुने क्यान्सरबाट थला परेका र एचआइभी एड्सको सिकार भएका कतिपय रोगीलाई राजेश खन्नाद्वारा अभिनित हिन्दी चलचित्र आनन्दले बाँचुन्जेल खुसी र आनन्दसँग, आफूले गर्न सक्ने कार्य गरेर जिउन सिकाइदिएको छ । शिक्षक पेसाबाट एकदमै निराश बनेका एक शिक्षकलाई तुलसी घिमिरेद्वारा निर्देशित र अभिनित चलचित्र दक्षिणाले उनको जीवन नै फेरिदिएको छ । अहिले उनले दक्षिणाका हरि सरलेझैं शिक्षा पेसामा आफूलाई समर्पण गरिदिएका छन् । उनले मानसम्मान र प्रतिष्ठा पनि निकै कमाएका छन् ।
चलचित्र धेरै किसिमका हुन्छन् । तर, चलचित्र चाहे कलात्मक होस् वा व्यावसायिक होस् । कथानक होस् वा वृत्तचित्र होस्, सबैमा थेरापीको गुण विद्यमान हुन्छ । तर, कुन रोग र रोगीलाई कस्तो सिनेमा थेरापी वा म्युजिक थेरापीका रूपमा प्रयोग गर्ने भन्ने कुरा जान्न विशेषज्ञको सल्लाह आवश्यक हुन्छ । रोगीले आफैं उचित चलचित्र वा गीत छनोट गर्न सक्दैनन् । प्रायः रोगीले उल्टो रोग बढाउने खालका चलचित्र हेर्न वा गीत सुन्न मन पराउँछन । जस्तो कि डिप्रेस्ड व्यक्तिले प्रायः उदास गीत सुन्न र यस्तै फिल्म हेर्न चाहन्छन् । तर, यस्ता गीत तथा फिल्मले उसको उदासी झन् बढाउँछन् । त्यसैले यस्ता व्यक्तिलाई हस्यौली ठटयौलीप्रधान चलचित्र र उसको नकारात्मक सोचलाई सकारात्मक बनाउने खालका चलचित्र हेर्ने तथा उत्साह जगाउने खालका संगीत सुन्ने सल्लाह दिनुपर्छ ।
हिजोआज विकसित मुलुकमा सिनेमाथेरापी माइन्डबडी मेडिसिनको प्रमुख टेक्निकका रूपमा उदाएको छन् । मनोजन्य रोगका लागि निकै उपयोगी पनि देखिएको छ । यहाँ उल्लेखनीय कुरा के भने मानिसका लगभग ८० प्रतिशत रोग मनका कारण नै पैदा हुन्छन् । त्यसो त कतिपय शारीरिक रोगको उपचारका लागि पनि सिनेमाथेरापी प्रयोगमा ल्याउन सकिन्छ । त्यसैले दर्शकलाई मनोरञ्जन प्रदान गरी व्यापार गर्ने उद्देश्यले निर्माण गरिएका चलचित्र मेडिसिनका रूपमा उपयोग आउनु निकै खुसीको कुरा हो । तर, बिडम्बना के भने २१औं शताब्दीमा पनि नेपालको मनोचिकित्सा केवल औषधिमा मात्र निर्भर छ । नेपालमा साइकोथेरापीको पनि विकास हुन सकेको छैन । त्यसैले नेपालमा साइकोथेरापी विकास हुन जरुरी छ ।






