महिलाको बाहुल्यता रहेको एक मुठ्ठी बादल सकियो

काठमाडौं । बहुसँख्यक महिला कलाकारहरुलाई समेटेर नयाँ चलचित्र एक मुठ्ठी बादल निर्माण गरिएको छ । गत महिनाबाट पोखरामा छायाँकन हुँदै आएको यो चलचित्रको नयाँ वर्ष २०८१ सँगै छायाँकन सम्पन्न भएको छ ।

यो चलचित्रलाई हारा शर्माले निर्देशन गरेकी हुन् । चलचित्रको लेखक पनि उनी आफैं हुन् । यो चलचित्रमा महिलाले चलचित्र निर्माणका विभिन्न विभागहरूमा प्रमुखको भूमिका निर्वाह गरेको उनले बताईन् । पोखराका लामाचौर र आसपासका ठाउँमा खिचिएको यो चलचित्रको छायाँकन २२ दिनमा सकिएको पनि निर्देशक शर्माले जानकारी गराईन् ।

यो चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाइँ, मनिष निरौला, गौरव विष्ट, सहयोग राज अधिकारी, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ। प्रस्तुत कलाकार तथा प्राविधिकको संलग्नतामा विविध प्रतिभाले क्यामेरा पछाडि मात्र नभई अगाडि पनि महिलालाई सशक्तिकरण गर्ने स्पष्ट सन्देश दिने विश्वास लिइएको छ।

डक्सकुल र प्लान इन्टरनेशनल नेपालले सन् २०२१ मा गरेको एक अनुसन्धानले नेपालमा चलचित्रकर्मीहरू भित्रको महत्त्वपूर्ण लैङ्गिक असमानतालाई प्रकाश पारेको थियो। अध्ययन्को निष्कर्ष अनुसार, नेपाली चलचित्रमा १० प्रतिशतभन्दा कम महिलाहरूले चलचित्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । यही कुरालाई मध्यनजर गर्दै निर्माण टिमले महिलाहरू प्रमुख, रचनात्मक र प्राविधिक भूमिकाहरूमा फस्टाउन सक्ने वातावरण निर्माणका लागि मुख्य विधाहरूमा महिलाको भूमिका चयन गरेको हो । यसले फिल्म निर्माणमा विध्मान लैङ्गिक असमानता र असन्तुलनलाई चुनौती दिने विश्वास लिएको छ ।

साहारा शर्माको लेखन तथा निर्देशन रहेको चलचित्रमा छायाँकारको भूमिका लिन ड्यानले निर्वाह गरेकी थिइन् । भियतनामकी ड्यानको यो तेश्रो फिचर चलचित्र हो भने, एक मुठ्ठी बादल पहिलो नेपाली फिचर चलचित्र हुनेछ । यसैगरी प्रडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड, र प्रमुख सहायक निर्देशक मर्णा जेम्स रहेका छन् ।

निकुन श्रेष्ठको कार्यकारी निर्माता रहेका चलचित्रलाई अभिमन्यु दीक्षित, अनुप पौडेल, र सामीप्यराज तिमल्सेनाले संयुत्त रुपमा निर्माण गरेका हुन् । गौथली इन्टरटेन्मेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिज को प्रस्तुति रहेको चलचित्रमा महिला कलाकारलाई नै मुख्य भूमिकामा रहेका छन् । ८ मार्च अर्थात नारी दिवस, तथा, महाशिवरात्रीको अवसर पारेर चलचित्रको शुभ मुर्हत सँगै सुटिङ्ग सुरु गरिएको थियो । चलचित्रलाई अर्को वर्षमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

निर्देशक सहारा शर्माले चलचित्रको निर्माण अप्ठेरो र चुनौतीपूर्ण रहे पनि सिकाइका हिसाबले उपलब्धिपूर्ण भएको बताइन्,‘के भइरहेको थियो भोग्दा मात्र थाहा हुन्थ्यो तर म प्राविधिक टिम र कलाकारको मप्रतिको भरोसा र अथक मेहनतका लागि आभारी छु ।’

फिल्म खिच्न भनेर भियतनामबाट काठमाडौँ आएकी २८ वर्षीय लिन ड्यानले खराब मौसम र भाषाको समस्याका बीच पनि नेपालको लाइटिङ र क्यामरा क्रुको परिश्रमले सुटिङ भनेकै समयमा सकिएको बताइन्,‘जब हामीले लास्ट सट भन्यौँ , त्यो क्षण साँच्चिकै गज्जब थियो । फिल्म सकिएको कुराले हामी सबै यति खुसी थियौँ कि, सारा कलाकार र प्राविधिक यो क्षण महसुस गर्न एकसाथ उभिएका थियौँ,’ उनले भनिन् ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग