नेपालमा पछिल्ला केही दिन यता कोरोना संक्रमण भएका व्यक्तिको संख्या थपिएको छैन । यो हाम्रा लागि निकै खुसीको विषय हो । पछिल्लो ६ दिनदेखि कोरोना संक्रमण भएका कोही पनि व्यक्ति नभेटिनुले हामी दिन प्रतिदिन सुरक्षित हुँदै गइरहेको सहजै अनुभूति गर्न सकिन्छ । हालसम्म कोरोना संक्रमित देखिएका ९ जनामध्ये पनि एक जना सञ्चो भएर घर फर्किसकेका छन् भने अन्य आठ जना पनि सञ्चो हुने क्रममा रहेका चिकित्सकले बताएका छन् ।
विश्वमा फैलिएको कोरोना भाइरसको भयावह अवस्थालाई हेर्दा हामी धेरै सुरक्षित देखिएका छौं । हामीले धेरै नै सतर्कता अपनाएका छांै त्यसैले पनि कोरोनाको संक्रमण फैलने क्रम बढ्न नपाएको हो । सरकारले सुरुका दिनदेखि नै विशेष सर्तकतासमेत अपनाउँदै आइरहेको छ भने नागरिकले पनि सरकारी नियमको पालना गर्दै आइरहेका छन् । सरकारका कार्यक्रम र नागरिकस्तरमा देखिएको जागरुकताका कारण आजका दिनसम्म आइपुग्दा कोरोनाको संक्रमण भयावह हुन पाएको छैन । कोरोना भाइरस आयतित संक्रमण भएकाले तेस्रो मुलुक र भारतबाट आउने व्यक्तिलाई केही महिनासम्म रोक्न सक्ने हो भने नेपाल अझै सुरक्षित हुनेछ । त्यसैले सरकारले आगामी दिनमा यो विषयलाई गम्भीर भएर सोच्नुपर्छ । सुरुमा एक साताका लागि गरिएको लकडाउन थप गर्दै २१ दिन पु¥याइएको छ । अब ३ वैशाखमा २१ दिन पुगेपछि भने सरकारले लकडाउनको प्रकृतिलाई केही खुकुलो बनाउनुपर्छ । लगातारको लकडाउनले नागरिकको जनजीवन अस्तव्यस्त हुन पुगेको छ । दैनिक ज्याला गरेर खाने विपन्न नागरिक भोकभोकै बस्न बाध्य हुन थालेका छन् । आमनागरिकमा लगातार घरभित्रै बस्नुपर्दा विभिन्न खाले मानसिक समस्या देखिन थालेको छ । त्यसैले सरकारले यस्ता विषयमा पनि गम्भीरतापूर्वक सोचविचार गर्न जरुरी छ । अहिले सरकारले सातै प्रदेश गरी ११ स्थानबाट ¥यापिड टेस्ट किटमार्फत परीक्षण थालेर परीक्षणको दायरासमेत फराकिलो पारिरहेको छ । दैनिक चार सयलाई परीक्षणमा सहभागी गराउने लक्ष्यअनुसार सरकार अघि बढिरहेको छ ।
सिंगो अन्तर्राष्ट्रिय जगतले नै कोरोना भाइरसको महाविपत्तिको सामान गर्नुपरिरहेको छ । यस्तो अवस्थामा सरकार, नागरिक समाज, तथा विभिन्न संघसंस्था र समुदायको साझा सहयोग र सहकार्यबाट मात्रै कोरोनाविरुद्धको युद्ध जित्न सकिन्छ । फेरि हामीकहाँ त अहिले धेरै सकारात्मक संकेतसमेत देखिएको छ तर यस्तो अवस्थामा पनि केहीनिहीत स्वार्थ राख्ने कुतŒवहरू विभिन्न बहाना र रूपमा सलबलाउन थालेका छन् । यस्तो महाविपत्तिको समयमा पनि विभिन्न बखेडा निकालेर सरकारलाई घेराबन्दीमा पार्न खोजिएको छ । सानासाना त्रुटिलाई उचाल्ने र तिललाई पहाड बनाउने काम गरिएको छ । यो ठूलो मूर्खता हो । यस्तो महाविपत्तिमा राष्ट्रिय एकता र सहकार्यको सन्देश दिन छोडेर आफ्नो स्वार्थसमूहको हितमा कुनै पक्ष दौडन्छ भने तिनीहरू आफंै पतन हुने निश्चित छ । यस्तो अवस्थामा सरकारले पनि सकेसम्म लचिलो बनेर सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्छ र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । आमनागरिक पनि सकारात्मक सोचका साथ अघि बढ्दै सरकारले थालेको कोरोनाविरुद्धको लडाइँमा हातेमालो गर्नुपर्छ ।






