काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरूको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
दुवै नेताको उपस्थितिमा दुवै मुलुकका महान्यायाधिवक्ता कार्यालयस्तरीय कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारीपत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले हस्ताक्षर गरेका थिए ।
निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच पनि लगानी आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ बिन जसिम अल थानीले हस्ताक्षर गरेका थिए ।
कतारी राजा अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा बुधबार अपराह्न काठमाडौं आइपुगेका थिए । उनले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए । भेटमा राष्ट्रपतिले हमासले बन्धक बनाएका विपीन जोशीको रिहाइका लागि पहल गरिदिन अमिरसँग आग्रह गरेका थिए भने उनको सम्मानमा बुधबार साँझ राजकीय भोजको आयोजनासमेत गरेका थिए । दुईदिने नेपाल भ्रमण सकेर अमिर बुधबार नै स्वदेश फर्किसकेका छन् ।
नेपाल र कतारबाट दौत्यसम्बन्ध स्थापित भएको ४७ वर्ष पूरा भएको छ । यी दुई मुलुकबीच २१ जनवरी १९७७ देखि कूटनीतिक सम्बन्ध कायम भएको हो । कूटनीतिक सम्बन्ध कायम भएको झन्डै २७ वर्षपछि मात्र सन् २००४ मा कतारमा नेपाली दूतावास स्थापना भएको हो । त्यसको झन्डै ८ वर्षपछि ११ जुलाई २०११ बाट नेपालमा कतारले दूतावास स्थापना गरेको थियो । त्यसयता कतार नेपालको असल मित्रराष्ट्रका रूपमा परिचित हुँदै आएको छ ।
कतारमा नेपालीहरूको प्रवेश सन् १९८६ को दशकतिर भए पनि विधिवत रूपमा सन् २००५ मा नेपाल र कतारबीच श्रम सम्झौतापत्रमा हस्ताक्षर भएपछि मात्रै कतारमा नेपालीहरूको उपस्थिति बाक्लिँदै गएको पाइन्छ । नेपालले श्रम सम्झौता नवीकरणका लागि प्रस्ताव गर्दै आए पनि कतारले चासो दिएको छैन । सम्झौता नवीकरणका लागि श्रम मन्त्रालय र कतारी श्रम तथा रोजगार मन्त्रालयको प्राविधिक कमिटीबीच ११ पटक छलफल भइसकेको छ ।
तर, अमिरले नेपाल भ्रमण गरेका बेला श्रम सम्झौता नवीकरण गर्ने धेरैले आशा राखेको भए पनि त्यो भने पूरा भएन । कतारमै कार्यरत रहेका धेरै नेपाली श्रमिकहरू पनि श्रम सम्झौता नवीकरण गर्ने विषयमा नेपालले कुरा उठाओस् भन्नेमा आशावादी थिए । तर, त्यस विषयमा केही नभएपछि उनीहरूले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् ।
श्रम सम्झौता नवीकरण नहुँदा कतारमा कर्यरत रहेका अन्य मुलुकका कामदारले भन्दा नेपाली कामदारले कम तलब पाउने गरेका छन् । कतारमा हाल विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६ सय ५० नेपाली कार्यरत छन् । तीमध्ये ११ हजार ९० जना महिला कामदार छन् ।






