चार घण्टा जति ल्यापटमा काम गरेपछि देब्रे पाता दुख्न थालेको ६ महिना जति भयो ।
‘ल्यापटप चलाएर हो । मलाई पनि यस्तै हुन्छ ।’ एकजना सहकर्मीले आफुलाई पनि त्यहि समस्या भएको सुनाए ।
‘तपाईले पानी कम खानु भो । पानी धेरै खानुस् ठिक हुन्छ ।’ अर्काले सुझाब दिए ।
‘बिहानै उठेर योगा गर्नुस् । ठिक हुन्छ ।’ अर्का सहकर्मीको सुझाब थियो ।
‘चिया कम गर्नुस् ।’ अर्का शुभचिन्तकले नयाँ उपाय सिकाए ।
गज्जबको स्वभाव छ हाम्रो । शरीरमा कुनै समस्या छ भनेर सुनायो भने अस्पताल जा कसैले भन्दैन । उपचार पद्दपि भने सबले सिकाउछन् । साथीहरुको सुझाब सुन्दा लाग्छ । मेरा सबै साथीहरु डक्टर हुन्, सबलाई सबथोकको ज्ञान छ । मात्रै समाचार लेख्दा चाँहि बेला बेला ढंग पु-याउदैनन् ।
पातो दुख्ने क्रम रोकिएन । अस्पताल गएँ । डक्टरले सबै चेकजाँच गरे । रिपोर्ट नर्मल आयो । डक्टरले कुनै औषधी दिएनन् र सुझाब दिँदै भने ‘एक्सरसाइज हल्का गर्नुस्, ठिक हुन्छ ।’ सरकारी अस्पतालमा जाँच गराउदाको फाइदा अनुभुति गरेँ ।
फेरि अफिसमा सुनाएँ ‘रिपोर्ट सबै नर्मल छ । तर, पातो दुख्न ठिक भएन ।’
काठमाडौंमा हुँदा आइरन लगाएको पाइन्ट, पालिस हानेको जुत्ता र कोट भिरेर कंक्रिटको शहरमा लखर लखर हिँडिरहेको यो ज्यान अहिले बाको म्याजिक कम्पनिको एकजोर चप्पल र पाइन्ट काटेर बनाएको हाफपाइन्ट लगाएर तिँदुको रुखमा चढेर मस्ती गरिरहेको छ ।

नयाँ सुझाब दिए ‘प्राकृतिक उपचार गर्नुस् । थेरापी गर्नुपर्छ ।’ मेरो पातो दुख्ने बहस जारी थियो । कोरोना ‘केभिड १९’को महामारी सुरु भयो । चीनवाट सुरु भएको कोरोना संक्रमणको महामारी नेपालमा पनि आयो ।
संक्रमण नियन्त्रणका लागि प्रारम्भमा आईसोलेसन वार्ड बनाएको सरकारले ठाउँ ठाउँमा क्वारेन्टाइन स्टेशन बनायो, गच्छे अनुसार । अन्तिममा महामारीले भयाबह रुप नलेओस् भन्दै सिंगै मुलुक लकडाउन ग-यो ।
लकडाउन घोषणा हुने दिन दिउसो (चैत्र १०) गते दिउसो हामीले अफिसमै निर्णय गरेका थियौ । ‘भोलीदेखी अफिस नआउने होम क्वारेन्टाइनमा बसेर काम गर्ने ।’
दिउसो लकडाउनको हल्ला मात्रै थियो । साँझ सरकारले लकडाउन घोषणा ग-यो । लकडाउनपछि हामीसंग दुईटा मात्रै विकल्प थियो । भोलीपल्टदेखि दिनभरि कोठामै बसेर काम गर्ने वा गाउँ जाने । सामान्य पारिवारिक सल्लाह भयो भात खाने र बाईकमा गाउँ जाने । दुइटा बाइक, यात्रु पाँच जना । बाइकमा थप एकसिटको आवश्यकता प-यो ।
‘ए भाई घर जाने हैन ?’ छिमेकी भाइलाई फोन गरेँ ।
‘म त जान्न होला दाई ।’ उसले चासो देखाएन ।

‘ए भाई लकडाउन त लम्बिन्छ । दिनभरि के गरेर बस्ने हामी त जान लागेको । संगै जाम ।’ मेरो कुरा सुनेपछि उसले थोरै चासो देखाउदै भन्यो । ‘दाई म भात खाएर फोन गर्छु ।’
गाउँका अरु ३/४ जनालाई फोन गरेँ । सबैलाई त्यहि कुरा दोहो-याएँ । ‘लकडाउन लम्बिन्छ । काठमाडौमा त बिजोक हुन्छ । राती १० बजे भएपनि हिँड्म । सबलाई गाउँ जाम भनेर उकास्नुको उद्देश्य थियो । पहिलो त राती बाइकमा एक्लै हिँड्दा बाटोमा केही हुन्छ कि भन्ने डर । अर्को कसैको बाइकमा सिट खाली भैहाल्यो भने सबै जना जान पाइन्छ ।
राती १० बजे काठमाडौंबाट धादिङका लागि (१०२ किलोमिटर) यात्रा गरियो । नागढुंगाको चेकपोष्ट अगाडी जम्मा हुने र त्यसपछि संगै जाने सल्लाह भयो । एउटा बाइकमा दुई र अर्को बाइकमा तीन गरेर पाँचजनाको यात्रा सुरु भयो ।
थापाथली चोकसम्म त त्यतिधेरै यात्रु भेटिएन । त्रिपुरेश्वरवाट अगाडी लागेपछि हामीजस्तै एउटै बाइकमा तीनजना यात्रा गर्नेहरु थुप्रै भेटिए । कलंकीबाट अगाडी लागेपछि त बाटो जामै भयो । मोटरसाइकल, कार र ट्याक्सि काठमाडौंको खाल्डोबाट बाहिरिन हतारिएको दृष्य सडकमा प्रष्ट देखिन्थ्यो ।
काठमाडौं भित्रने सवारीको संख्या उती थिएन । बाहिरिने सवारी साधन तँछाड मछाड गर्दै कुदिरहेका थिए । सडकमा कुनै पनि सवारी साधनले ‘फुलस्पिड’ हाँक्न पाएका थिएनन् । रातीको साँढे २ बजे घरमा पुग्दा घरका मान्छे आगो तापेर बसिरहेका रहेछन् ।
‘किन नसुत्या त अहिलेसम्म ?’ आमाले भन्नु भो ‘राति राति आका छौ तिमारु नआइ के निन्द्रा लाग्छ र ।’ गाउँमा बाइक आउनेक्रम जारी थियो । घरमाथीको सडकमा रातभरी बाइकको आवाज आइरह्यो ।
०००
बिहान उठेपछि चराको आवाज सुनियो । भँगेराको चिरबिर त काठमाडौमा पनि सुनेकै हो तर, बिहानी पख गाउँमा कराउने चराको आवाजमा एकखालको संगीत हुन्छ । चैतलाई रुढो महिना भन्छन् । पछिल्लो समय मान्छेहरु शहर केन्द्रित भएकाले रुखोपन घटेको महसुस् हुन्न । बलिया हातपाखुका भएकाहरु खाडीमा रमाउन थालेपछि भित्रीबारी भन्दा तल्लो ग-हामा बोटबिरुवा हुर्किन थालेका छन् । बोटबिरुवा हुर्किएपछि गाउँमा नयाँ नयाँ चरा आउन थालेको छ । वर्खायाममा चितुवा अाहरा खाेज्दै घरमै आइपुग्छ ।
एक्लै फुत्त दुईदिन गाउँ आउदा पनि रमाइलो मान्ने म जस्ताका लागि यसपालीको लकडाउन ‘दसै’ भयो । अहिले हामी सबै जम्मा भएका छौं । अहिले हाम्रो घरमा एकछाकमा ११ वटा थालमा भात पस्किन पर्छ ।
११ गते दिउसोलाई आमाले मल बोक्नका लागि २ जना खेताला खोज्नु भएको रहेछ । २५ वर्षपछि खेतालासंगै मोल बोक्ने अवसर जुरेकोमा म मख्ख थिएँ । बिहानभरि अफिसको काम गरेँ । १० बजेदेखी दिउसो ३ बजेसम्म २१ खेप मल बोकेँ ।
मैले भने ‘अब मेरो अफिसको काम गर्नुछ ।’ म हातखुट्टा धोएर फेरि उही किबोर्डमा औंला ठटाउन थालेँ । खेतालाहरु कुरा गर्दै थे । ‘काठमाडौं बसेको मान्छे कहाँ दिनभरि टिक्न सक्छ ।’
मैले अफिसको काम गर्नु छ भनेको कुरालाई उनीहरु ठट्टा सम्झदै थे । मैले कुनै प्रतिक्रिया जनाइन ।
अहिले गाउँमा बारीमा मकै छर्ने, खेतमा मकै गोड्ने, दाउरा काट्ने, दाउरा बोक्ने, पत्कर सोहोरे मलखाल्डोमा हाल्ने बेला हो । गाउँ आएपछि हरेक दिन मैले कम्तिमा दैनिक पाँच घण्टा भब्य शारीरिक श्रम गर्ने गरेको छु । माइलो भाई बाख्रा फर्म खोल्न भन्दै गाउँ आएको १ महिना भयो । अहिले बाख्राको खोर बन्दैछ । त्यही खोरका लागि एकदिन थाम बोकेँ । ढुंगा बोक्ने, गा-हो लगाउने कामको फेहरिस्ती भनिसाध्यै छैन ।
पछिल्लो समय मान्छेहरु शहर केन्द्रित भएकाले रुखोपन घटेको महसुस् हुन्न । बलिया हातपाखुका भएकाहरु खाडीमा रमाउन थालेपछि भित्रीबारी भन्दा तल्लो ग-हामा बोटबिरुवा हुर्किन थालेको छ । बोटबिरुवा हुर्किएपछि गाउँमा नयाँ नयाँ चरा आउन थालेको छ । वर्खायाममा चितुवा घरमै आउन थालेको छ ।

गाउँमा केरा सार्ने सिजन पनि अहिले नै हो । हरेक दिन साँझपख खाल्डो खन्दै केरा सार्ने काम जारी छ । असारमा फलफूल लगाउने योजना अनुरुप एकमिटर गहिरो र फराकिलो १० वटा खाल्डो खनियो । खन्ने क्रम जारी छ ।
सारमा भन्दा लकडाउन मेरो लागि दसैं भयो यसपाली । यति खुलेर यति मस्तले आफुले चाहेको काम गर्न पाएको २५ वर्षपछि यसैपाली हो । कतिलाई अचम्म लाग्ला अहिले मेरो देब्रो पातो दुख्न छाडेको छ ।
सबै मान्छे होमक्वारेन्टाईनमा बसुन् र कोरोनाको संक्रमण नफैलियोस् भनेर सरकारले लकडाउन घोषणा गरेकोमा म सचेत छु । अरु बेला हुँदो हो त म हरेकको घरमा गएर गाइले दुध कति दिन्छ, बाख्रा कति छ । गोरु पाल्दै हुनुहुन्छ कि ट्याक्टरले जोत्न थाल्नु भयो सबै सोध्थेँ । यसपाली म आफ्नो घर बाहेक कसैको घरमा गएको गएको छैन । तर, खेतबारीमा निस्फिक्री घुमेको छु । मस्तले काम गरेको छु ।
काठमाडौंमा हुँदा आइरन लगाएको पाइन्ट, पालिस हानेको जुत्ता र कोट भिरेर कंक्रिटको शहरमा लखर लखर हिँडिरहेको यो ज्यान अहिले बाको म्याजिक कम्पनिको एकजोर चप्पल र पाइन्ट काटेर बनाएको हाफपाइन्ट लगाएर तिँदुको रुखमा चढेर मस्ती गरिरहेको छ । साँझतीर जैशेढाबमा ऐंसेलु खाने कार्यक्रम पनि छ ।







