रुरल सहकारी प्रकरणः सहकारीका अध्यक्ष र सचिवको मिलेमतोमा बचतकर्ताको करोडौं गोलमाल

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा रहेको रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आङबाबु राई, सचिव विनोदमणि राई मिलेर सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेको पाइएको छ । अध्यक्ष र सचिवले कारोबार नै नभएका आफन्तको नाममा पासबुक बनाएर रकम फिर्ताका लागि भन्दै आफूहरूसँग उल्टै रकम असुल गरेको सहकारीका एक पदाधिकारीले बताए ।

सहकारीका एक पदाधिकारीका अनुसार रुरल सहकारीका अध्यक्ष र सचिव मिलेर झन्डै ५ करोड रुपैयाँ गोलमाल गरेका छन् । २०७५ सालसम्म ५० लाख नाफामा रहेको सो सहकारी त्यसपछि क्रमशः घाटामा गएको देखाउँदै बचतकर्ताबाट उठाइएको रकम घडेरी र अन्य निजी कम्पनीमा लगानी गरेपछि समस्या देखिन थालेको सहकारीका एक पदाधिकारीले बताए । सहकारीका अध्यक्ष आङबाबु राई एमाले नेतासमेत भएकाले सहकारीका अन्य पदाधिकारी बोल्नसक्ने अवस्थामा नभएको सहकारीका एक सदस्यले बताए ।

– बचतकर्ताबाट उठाएको रकमबाट अध्यक्ष, सचिव र कोषाध्यक्षलाई मासिक तलब भत्तादेखि जग्गा खरिदसम्म

– लेखापरीक्षण नै शंकास्पद रहेको अनुगमन समितिको निष्कर्ष

नेपाल रुरल डेभलपमेन्ट फाउन्डेसनको नामबाट खुलेको सो सहकारीले सर्वसाधारणले बचत गरेको पैसा फिर्ता गर्न नसकेपछि २० जनाभन्दा बढी उजुरी दिने तयारीमा रहेका छन् । सर्वसाधारण नागरिकको लाखदेखि २५ लाख रुपैयाँसम्म सो सहकारीमा लगानी भए पनि अध्यक्ष आङबाबु राई, सचिव विनोदमणि राई, कोषाध्यक्ष अप्सरा श्रेष्ठसहितले मिलेर हिनामिना गरेको सहकारीका पदाधिकारीको दाबी छ । सहकारीकै बचतकर्ता तथा सेयरधनी कामीरिता शेर्पाले १ लाख ५० हजार रुपैयाँ बचत गरेका थिए । तर, शेर्पाले सो सहकारीबाट १ रुपैयाँ पनि फिर्ता पाएका छैनन् । शेर्पा सहकारीमा डुबेको पैसा कसरी उठाउने भनेर तनावमा छन् । उनीजस्तै धेरै बचतकर्ता सहकारी ठगीमा उजुरी दिने तयारीमा छन् ।

सहकारीको पैसा हिनामिना गरेको भन्दै काठमाडौं महानगरपालिकाको सहकारी विभागमा समेत उजुरी परेको छ । रमन गान्धनले घरबहाल कर चुहावट गरी गैरकानुनी कारोबार गर्ने सहकारीलाई अविलम्ब कारबाहीको माग गर्दै महानगरको सहकारी विभागमा उजुरी दिएका हुन् । सहकारीले आर्थिक वर्ष २०७२-०७३ देखि हालसम्म सर्वसाधारणसँग रकम उठाएर कर छल्ने कार्य गरेको भन्दै गान्धनले उजुरी दिएका छन् । काठमाडौं महानगरपालिका सहकारी विभागका विभागीय प्रमुख बलराम त्रिपाठी रुरल डेभलपमेन्ट सहकारीमा केही सर्वसाधारण र पदाधिकारीकै पैसा फसेको बताउँछन् । ‘आफ्नै नाता पर्ने साला र भिनाजुबीच नै रकम लेनदेन भएको देखिन्छ, लाखौं रुपैयाँको हिसाब नै देखिँदैन,’ विभागीय प्रमुख त्रिपाठीले भने, ‘साथै बजारमा केही सर्वसाधारणको पैसा पनि सहकारीमा फसेको भन्ने देखिएकाले हामीले अनुसन्धान गरिरहेका छौं ।’ सहकारी विभागमा सो सहकारीले हिनामिना गरेको भनेर उजुरी परेकाले यथार्थ वस्तुस्थिति के हो भनी अनुगमन सुरु गरिसकेको प्रमुख त्रिपाठीले बताए । सहकारीको लेखापरीक्षणका विषयमा अनुगमनमा गएको टोलीले कागजात शंकास्पद रहेको जनाएको छ । सहकारीको ५ वर्षअघिदेखिको लेखापरीक्षण नै शंकास्पद देखिएको आफूहरूलाई चार्टर्ड एकाउन्टेन्टले जानकारी गराएको सहकारीका एक पदाधिकारीले बताए ।

सहकारीले पालना गर्नुपर्ने नियम कुनै पनि पालना नगरी समानान्तर महानगरको कार्यालयकै हैसियतले गतिविधि गरी कारोबार गरेको आरोप निवेदक गान्धनले लगाएका छन् । त्यस्तै, सर्वसाधारणबाट उठाएको रकमसमेत हिनामिना भएको पदाधिकारीको आरोप छ ।

सहकारीको खाता रहेको बैंकमा कुनै पनि कारोबार नगरी महालक्ष्मी विकास बैंक ठमेलमा सचिव विनोदमणि राई र सदस्य तथा क्यासियर राधिका तामाङका पति चन्द्रप्रभात राईको नाममा खाता सञ्चालन गरी कारोबार गरिरहेको सहकारीकै एक पदाधिकारीले बताए । सहकारीका ती पदाधिकारीका अनुसार क्यासियर तथा सदस्य तामाङले बनाएको कृत्रिम रकम जम्मा भएको पासबुक रकम फिर्ता गरेको देखाई उनका श्रीमान् चन्द्रप्रभात राईलाई सञ्चालक सदस्यकै अधिकारमा जिम्मेवारी सुम्पेको भन्दै सहकारी विभागमा उजुरी परेको छ ।

बचतकर्ताबाट उठाएको रकमले पदाधिकारीको नाममा जग्गा खरिद
सहकारीले सर्वसाधारणबाट उठाएको रकमबाट काठमाडौं भीमढुंगामा १३ लाख रुपैयाँमा १ रोपनी जग्गा खरिदसमेत गरेको ती पदाधिकारीले बताए । सहकारीका पदाधिकारीका अनुसार सर्वसाधारणबाट उठेको पैसाबाट संस्थाकै कोषाध्यक्ष अप्सरा श्रेष्ठ र सदस्य राधिका तामाङको संयुक्त नाममा जग्गा खरिद भएको छ । व्यक्तिका नाममा जग्गा खरिद भएपछि सहकारीकै पदाधिकारी सदस्यहरूले समेत विरोध जनाएका थिए ।

तर, अध्यक्ष र सचिवको मिलेमतोमा कोषाध्यक्ष श्रेष्ठ र सदस्य तामाङको संयुक्त नाममा जग्गा खरिद भएको हो । ‘सहकारी संकटमा परेपछि हामीले सहकारीको जग्गा बेचेर बचतकर्ताको ऋण तिरौं भनेर छलफल ग¥यौं, तर बिक्री हुन सकेन,’ सहकारीका एक सदस्यले भने । सहकारीको नाममा जग्गा खरिद गर्दा पछि अप्ठ्यारो अवस्था आउनसक्ने भएकाले सहकारीकै पदाधिकारीको नाम जग्गा खरिद गर्ने सम्झौता भएको सहकारीका ती पदाधिकारी बताउँछन् ।

सर्वसाधारणबाट संकलन भएको रकम अध्यक्षलगायतका पदाधिकारीले मासिक तलब बुझे
सहकारीले सर्वसाधारणबाट उठाएको रकमबाट सहकारीका अध्यक्ष आङबाबु राईले मासिक ३० हजारको दरले र कोषाध्यक्ष अप्सरा श्रेष्ठले २० हजार रुपैयाँका दरले मासिक तलब बुझ्ने गरेको सहकारीकै एक पदाधिकारीले बताए । ती पदाधिकारीका अनुसार सर्वसाधारणको रकम असुल गरेर पदाधिकारीले मासिक तलब सुविधा भनी लिएको हिसाबको लेखाजोखासमेत नभएकाले सहकारी विभागमा उजुरी दिने तयारीमा रहेको बताए । तपाईंहरूले सर्वसाधारणको बचत रकम किन तलब लिएर ठगी गरेको भनी प्रश्न गर्दा आफूलाई समेत २ लाख तलब भनेर हिसाब मिलान गरेको ती पदाधिकारीले बताए ।

२०७४ सालसम्म नाफा देखाएको संस्था एकाएक संकटमा
सहकारीले आफ्नो आर्थिक लेखापरीक्षणमा २०७४ सालसम्म नाफा देखाई कर चुक्ता गरेको छ । सोही लेखापरीक्षण महानगरपालिकामा पेस गरी अद्यावधिकसमेत भएको छ । नाफा सञ्चालक तथा सदस्यहरूलाई वितरण गरिएको छैन । सो नाफाको वितरणसमेत नगरी त्यसपछि संस्थाको न साधारणसभा बस्यो, न त कर चुक्ता तथा अद्यावधिक नै गरियो । क्रमशः आफन्त र अन्य सर्वसाधारण व्यक्तिहरूलाई ठगी गर्ने कार्य सुरु भएको देखिन्छ । पदाधिकारीबाट संकलन गरेको रकम जम्मा गरी छुट्टै बैंक खाता सञ्चालनसमेत गरेको पाइएको सहकारीका एक सदस्यले बताए । १५ दिनभित्र आफूहरूको सबै पैसा फिर्ता नगरे ठगीमा उजुरी दिने ती सदस्यले जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 838 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अफताव आलमको छोरा राजपुर मेयरमा निर्वाचित