राजनीति विचार तथा सिद्घान्तबाट निर्देशित हुन्छ । विश्वजगत्मा लागू भएका राजनीतिमा मुख्य रूपमा प्रजातान्त्रिक र गैरप्रजातान्त्रिक प्रणाली रहेको पाइन्छ । नेपालमा राणाहरू गैरप्रजातान्त्रिक वा निरंकुश थिए । प्रजातन्त्रका लागि संघर्ष गर्दा धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गंगालालहरू शहीद भए । राणाहरूको डर, त्रास र उत्पीडनका बीचमा नेपाली कांग्रेसले प्रजातन्त्रका लागि संघर्ष ग¥यो । कांग्रेसको नेतृत्वमा भएको जनआन्दोलनको २००७ सालमा प्रजातन्त्र आयो । प्रजातन्त्रपछाडि राजा महेन्द्रले राजनीतिक ‘कू’ नगरुन्जेलको अवधिमा राजनीतिक दलहरू र नेतागणहरू पनि वैचारिक रूपमा चुकेकाले राजनीतिक स्थिरता हुनसकेन । २००७ सालदेखि २०१५ सालसम्ममा सरकारहरू बन्ने र भत्कनेक्रम जारी रह्यो ।
२००७ सालदेखि २०१५ सालसम्म राजनीतिक दलहरूको अनुभवको अभावले गर्दा राजनीति अस्थिरता भयो भनेर मन बुझाउन सकिने अवस्था थियो । २०१५ सालको आमनिर्वाचनपछाडि बीपी कोइरालाको नेतृत्वमा बनेको सरकारप्रति समाजको ठूलो आशा र भरोशा थियो । समाजमा राजनीतिक स्थिरता र विकासको अपेक्षा भएको समयमा राजा महेन्द्रले राजनीतिक ‘कू’ गरे । निरंकुश शासनको सुरुवात भयो । २०१७ सालदेखि २०२८ सालसम्मको महेन्द्रको शासनकाललाई राजनीतिक दृष्टिकोणले उचित नमानिए तापनि मुलुक विकास र सुशासनका दृष्टिकोणले अब्बल रहेको सामाजिक मूल्यांकन छ । यसो हुनुका पछाडि राजा महेन्द्रमा प्रस्ट राजनीतिक चिन्तन र मुलुक विकासको खाका हुनु हो ।
राजनीतिमा सैद्घान्तिक आधार चाहिन्छ । विचारबाट गाइडेड राजनीतिले मात्र विकास र स्थायित्व दिनसक्छ । लोकतान्त्रिक व्यवस्था विश्वका धेरै मुलुकहरूले अवलम्बन गरेका छन् । लोकतान्त्रिक प्रणालीको एउटा व्यवस्था संघीयता विश्वका २७ वटा मुलुकमा रहेको पाइन्छ । यसले मुलुक विकास र सुशासनका लागि लोकतन्त्र वा संघीय प्रणाली निर्विकल्प व्यवस्था हो भन्ने कुरा देखाउँदैन । गैरप्रजातान्त्रिक राज्य व्यवस्था भएका मुलुकहरूले द्रुत रूपमा विकास गरेका दृष्टान्तहरू छन् । राजाहरूले प्रत्यक्ष रूपमा शासन गरेका खाडीमुलुकहरू विकास र सुशासनका अब्बल मुलुकहरू हुन् । यसैगरी, सार्क मुलुक भुटान पनि राजाको प्रत्यक्ष शासन व्यवस्थामा विकासमा फड्को मारिरहेको छ । कम्युनिस्टहरूको दर्शनबाट राज्य सञ्चालन गरेको गैरप्रजातान्त्रिक मुलुक चीन आज विश्वको शक्तिशाली बनेको छ । कम्युनिस्ट मुलुक भनिने रुसको विकास र समृद्घि पनि प्रशंसा गर्नलायक नै छ ।
आजका विकसित मुलुकहरूको राजनीतिक व्यवस्था र विकासको मोडेलको अध्यययन गर्दा कुनै पनि राजनीतिक व्यवस्था विकासको बाधक होइन रहेछ भन्ने देखाउँछ । बरू विकास र सुशासन राजनीतिक व्यवस्थाका सञ्चालकहरूको योग्यता र क्षमतामा निर्भर हुने रहेछ । हाम्रो मुलुकका सन्दर्भमा कुरा गर्दा राजनीतिक व्यवस्था विकासको बाधक होइन । व्यवस्थालाई सञ्चालन गर्ने नेतृत्वमा वैचारिक विचलन आएकाले आज मुलुक हरेक क्षेत्रमा कमजोर बन्दै गएको छ । संसदीय व्यवस्था भएका युरोपका मुलुकहरू सम्पन्न छन् । प्रजातन्त्रको भरपुर उपयोग गरेको अमेरिका संसारको शक्तिशाली मुलुक भएको छ ।
हाम्रा मुलुकका राजनीतिक दलहरूमा वैचारिक प्रदूषणले डेरा जमाएको छ । दलहरूले राजनीतिलाई पद र पैसामा उपयोग गरिरहेका छन् । लोकतन्त्र, संघीयता, समावेशिता, समानुपातिक आदि इत्यादिको शब्दजालमा जनतालाई अल्झाएर जानी नजानी मुलुकलाई तहसनहस बनाउने काम गरिरहेका छन् । ठूला भनिएका दलहरू नेपाली कांग्रेसले बीपीको समाजवादलाई अनुसरण गर्न नसक्दा कहिले माओवादीको पछाडि त कहिले एमालेका पछाडि लागेको अवस्था छ । कांग्रेसजस्तो लेगेसी भएको दलले जनताको काम गर्ने, भ्रष्टाचार नगर्ने, भ्रष्टहरूलाई दण्ड दिने, विकासमुखी हुने हो भने माओवादीजस्तो कुनै पनि राजनीतिक विचार नमिल्ने दलसँग गठबन्धन गर्नुपर्दैनथ्यो । सत्ताका लागि कम्युनिस्टहरूसँग हारगुहार गर्नुपर्ने थिएन ।
त्यसो त नेपालमा कम्युनिस्ट नै छैनन् । माक्र्सवाद, लेनिनवाद, माओवाद र यसभित्रका विभाजित झुण्डहरू सबै वैचारिक प्रदूषणका उपज हुन् भन्नेहरू धेरै छन् । अझै आलोचना गर्नेहरूले कम्युनिस्टहरू कमाउ कम्पनीका सेयरहोल्डरहरू हुन् भन्ने गरेको पनि सुनिन्छ । वास्तवमा नेपालका कम्युनिस्टहरू गुट, फुट र समूहगत विभाजन हुनुको पछाडि राजनीतिमा देखापरेको वैचारिक प्रदूषण नै हो । यिनीहरूमा कुनै सिद्घान्त नै देखिँदैन । आपसी झगडा, असमझदारी, द्वन्द्व र अवसरको खोजीमा यिनीहरू टुक्रिएका छन् । जो सत्तामा रजगज गरेका छन्, उनीहरूले आपूmलाई सर्वहाराको नेतृत्व भन्छन् । तर, व्यवहारमा यिनीहरू द्रव्यवादी प्रमाणित भएका छन् । नेतृत्वमा पुगेको दुई–चार वर्षमैै काठमाडौंमा घर, घडेरी, गाडी, घोडा, सेयर, सुन, चाँदी, आदि इत्यादि सम्पत्ति आर्जन गरेर ऐश आरामको जिन्दगी बिताउने नवधनाढ्यहरूलाई कसरी कम्युनिस्ट भन्ने ?
दोस्रो जनआन्दोलनपछाडि लोकतन्त्र शब्दलाई धेरै प्रयोग गरियो । तर, राजनीतिक दलहरूमा लोकतान्त्रिक चरित्र भएन । दलसँग जोडिएका कार्यकर्ता वा समर्थकहरू या त अन्धभक्त छन्, या त स्वार्थले काम गरेको छ । कांग्रेसजनहरूले नेतृत्व जस्तो भए पनि गणेश परिक्रमा गर्न छाडेका छैनन् । निर्वाचनमा असक्षमहरूलाई भोट हाल्छन् । यो अभ्यास एमाले र माओवादीमा अझै जबर्जस्त देखिन्छ । पछिल्लो समयमा निर्वाचन चिह्न घण्टी बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेकाहरूले अरू सबै खराब र आपूmहरू मात्र असल भएको दाबी गर्छन् । यिनीहरूका पछाडि लागेका केही युवाले अन्य दलहरूलाई सत्तोसराप गर्नुबाहेक कुनै पनि राजनीतिक सिद्घान्त तथा वैचारिक दृष्टिकोण देखिँदैन । यसरी हेर्दा राजनीतिक दलहरूमा देखिएको वैचारिक प्रदूषण र स्वार्थगत अभ्यासका कारण मुलुक राजनीतिक गोलचक्रमा फसेको छ ।
राजनीतिक दलहरूले सत्ताका लागि जस्तोसुकै काम गर्न पनि पछि नहटेकाले मुलुक चौतर्फी समस्याहरूको भुमरीमा फसेको हो । मुलुकलाई उद्योगीकरण गरी रोजगारीको सिर्जना गर्नुपर्नेमा यसो नगरेर शिक्षित युवाहरूलाई वैदेशिक रोजगारीमा जान बाध्य बनाउने काम सरकारमा पालैपालो जाने राजनीतिक दल र यसको नेतृत्वले गर्दै आएको छ । अहिले रोजगारीका लागि लाखौंको संख्यामा युवापुस्ता विदेश पलायन भएका छन् । अधिक जनसंख्या मुलुक बाहिर छ । अझै दिन प्रतिदिन हजारांैको संख्यामा दक्ष, अर्धदक्ष तथा अदक्ष जनशक्ति पलायन भएको छ । राजनीतिक बेथितिका कारण युवापुस्तामा विदेशमोह बढ्दै गएको पाइन्छ ।
राज्यले शिक्षामा ठूलो लगानी गरेको छ । तर, दूरदर्शी नेतृत्वको अभावका कारण शिक्षा क्षेत्र तहसनहस भएको छ । शिक्षा र आयआर्जनको सम्बन्ध नहुँदा विश्वविद्यालयहरूमा विद्यार्थी भर्ना संख्या घट्दै गएको तथ्यांकहरूले देखाउँछन् । डाक्टर, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षा, न्यायलगायतका संकायहरूमा विद्यार्थीहरूको भर्ना कोटा पुग्न छाडेको छ । शिक्षित युवाहरूको आकर्षणको केन्द्र विदेशी युनिभर्सिटीहरू भएका छन् । हरेक वर्ष हजारौंको संख्यामा विद्यार्थी र अर्बांै रुपियाँ बिदेसिएको छ । राज्यसँग यस्तो शैक्षिक तथा आर्थिक बहाव रोक्ने कुनै पनि ठोस कार्ययोजना देखिँदैन ।
राजनीतिमा सिद्घान्त, निष्ठा र इमानदारिता नभएकाले प्रजातन्त्रका ३३ वर्षमा ३० पटक सरकारहरू परिवर्तन भए । कुनै पनि सरकार ५ बर्ष टिक्न सकेनन् । २०७९ सालमा भएको निर्वाचनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भए तापनि ३२ सिट ल्याएको तेस्रो माओवादी दलले सरकारको नेतृत्व गर्न साम, दाम, दण्ड, भेदको नीति अवलम्बन गर्दै कहिले एमाले त कहिले कांग्रेसलाई उपयोग गरिरहेको छ । अन्य साना भनिएका दलहरू सत्तामा जान पाएपछि जोसँग पनि जोडिएका छन् । राजनीतिमा यसभन्दा बढी वैचारिक प्रदूषण के हुनसक्छ ? १४ महिनामा तीनपटक सरकार परिवर्तन भइसकेको छ । अब २०८४ सालसम्ममा कतिवटा सरकारहरू बन्ने हुन् ?
अन्त्यमा लोकतान्त्रिक राज्य व्यवस्थामा नेतृत्व गर्ने राजनीतिक दलहरूमा लोकतान्त्रिक आचरण अनिवार्य हुन्छ । मुलुक निर्माण गर्न प्रस्ट दृष्टिकोण चाहिन्छ । नेतृत्वमा स्वार्थ त्याग्नसक्ने ऋषि मन चाहिन्छ । नेतृत्व क्षमताको खाँचो हुन्छ । मुलुक र जनताभन्दा ठूलो राजनीतिक दल र सत्ता होइन भन्ने वैचारिक दृष्टिकोण चाहिन्छ । दलहरू यहीँ चुकेका छन् । नाता, दाता र स्वार्थमा फसेका छन् । अब यसो नगरून् ! राजनीतिलाई मुलुक र जनताको हितमा उपयोग गरून् । दलहरूले आपूmले अवलम्बन गरेको राजनीतिक सिद्धान्त, निष्ठा र विचारलाई मार्गदर्शन बनाऊन् । राजनीतिक दलहरूमा झाँगिएको वैचारिक प्रदूषणको अन्त्य हुन सकोस् !






