काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी फैलिएसँगै नेपालमा रहेका ३ हजार २ सयभन्दा बढी विदेशी नागरिक आफ्नै देश फर्किएका छन् । लकडाउनपछि विदेशी नागरिकलाई स्वेदश फर्काउन दिनहुँ अन्तर्राष्ट्रिय उडान चार्टर हुँदै आएका छन् ।
नेपालमा लकडाउनको अवधि थपिनुका साथै भिसा अवधि सकिएर अलपत्र परेका विदेशीहरू आफ्नो देशको दूतावाससँग समन्वय गरेर स्वदेश फर्किएका छन् । कोरोना भाइरसको महामारीपछि हाल विश्वको आधा जनसंख्या लकडाउनमा छ । स्वदेश फर्कनेमा कोरोना भाइरसबाट अति प्रभावित अमेरिका, जर्मन, फ्रान्सलगायतका मुलुकका नागरिक छन् । शनिबारसम्म कतार एयरवेयजले आठपटक चार्टर गरेर विदेशी नागरिक लगेको छ ।
आफ्ना नागरिकलाई स्वदेश फर्काउन जर्मन, फ्रान्स, अस्ट्रेलियालगायतका मुलुकले कतार एयरवेज चार्टर गरेका थिए । कतार एयरलाइन्स शनिबार काठमाडौंबाट क्यानेडियन नागरिकलाई लिएर उडेको छ । त्यसरी फर्कनेमा २ सय ५० जना क्यानेडियन नागरिक छन् ।
दिल्लीमा रहेको क्यानेडियन दूतावासको पहलमा शनिबार कतार एयरवेजमार्फत स्वदेश फर्केका हुन् । साथै सोही जहाजमा ४३ जना अस्ट्रेलियन नागरिक पनि स्वेदश फर्किएका छन् । यसअघि नेपालमा रोकिएका २ सय ५७ जना अस्ट्रेलियन नागरिक घर फर्किसकेका छन् ।
शुक्रबार मात्रै टाइटन एयरको चार्टर विमान २ सय ४८ बेलायतीलगायतका विदेशी नागरिक बोकेर फर्केको छ । चार्टर विमानमा बेलायती, पोल्यान्ड, पोर्चुगल, अमेरिका र सेन्ट लुसियाका नागरिक पनि छन् । यसअघि कतार एयरलाइन्समार्फत स्वेदश फर्किनेमा जर्मनका ९१७ नागरिक छन् । उनीहरूलाई कतार एयरवेजले दोहासम्म पु¥याएको थियो । गत साता मात्रै ती विदेशी नागरिक कतार एयरवेजमार्फत फर्किएका हुन् ।
त्यस्तै, फ्रान्सका ६ सय ८, अमेरिकाका ६ सय ७ जना नागरिक, नेदरल्यान्डका १ सय ५६ जना, मलेसियाका ६६ जना र चेक रिपब्लिकका १ सय २ जना छन् । नेपालले चैत ११ बाट मुलुकभर लकडाउनको घोषणा गरेको थियो । लकडाउनसँगै अन्तर्राष्ट्रिय उडानहरू सबै अनिश्चितकालीन बन्द भएपछि नेपाल आएका पर्यटक अलपत्र परेका थिए । कतिपयको यो लकडाउनको समयमा भिसा अवधि पनि सकिएको अध्यागमन विभागले जनाएको छ ।
पछिल्लो तथ्यांकअनुसार नेपालमा कूटनीतिक मिसनमा झन्डै ५ हजार विदेशी नागरिक रहेका छन् । नेपालमा करिब १० हजार विदेशी नागरिक प्रवेश (भिसा) अनुमति पत्र थपेर बसेका छन् ।