सिन्धुली । मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिकाको खाङसाङ र सोखुखोलामा निर्माणाधिन पक्कि पुल एघार वर्ष बढी भईसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । पुल समयमा नबन्दा स्थानीयलाई मात्र हैन मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी नेपालका पहाडी जिल्ला र पूर्वबाट काठमान्डौ जाने यात्रुहरुलाई सास्ती भएको छ । पटक पटक बाढीका कारण आवतजावतमा समस्या हुँदै आएको छ ।
मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मी खण्ड
त्यस्तै सडक दिनानुदिन जिर्ण बन्दै जाँदा यात्रुहरुलाई सास्ती भईरहेको छ । यात्रा कष्टकर बन्दै गएको छ । सडकको काम पूर्ण नहुनु, सडकको मर्मत समयमा हुन नसक्दा खुर्कोटदेखि घुर्मिसम्मको सडक दयनिय भईरहेको छ ।
खुर्कोट घुर्मि सडक खण्डमा रहेका ठूला पहिरोहरु हैवार पहिरो, कुखुरेटार पहिरो, कालिआँप पहिरोका कारण पनि सडक जिर्ण अवस्थामा पुगिरहेको छ । पटक पटक सडक अवरुद्ध समेत हुदै आएको छ ।
सडक र पुल समयमा नबन्दा नागरिकले सास्ती पाएको भन्दै पूर्वाधार निर्माणलाई प्रभावकारी बनाउन माग गर्दै फिक्कल गाउँपालिकाले पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यालयमा पटक–पटक ध्यानाकर्षण समेत गराउँदै आएको छ । यहि क्रममा विहिबार फिक्कल गाउँपालिकाले आयोजनालाई फेरी लिखित रुपमा ध्यानाकर्षण गराएको हो ।
फिक्कल गाउँपालिकाका स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु लगाएतले आयोजनाको कार्यालय काठमान्डौमा पुगि ध्यानाकर्षण पत्र बुझाएका हुन । उक्त ध्यानाकर्षणपत्र गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले आयोजनाका निर्देशक कुवेर नेपालीलाई बुझाएकी हुन ।
एघार वर्षदेखि मध्यपहाडी राजमार्गको दुई पुल र सडक निर्माण अलपत्र भएपछि फिक्कल गाउँपालिकाले पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाको ध्यानाकर्षण गराएको छ ।
गाउँपालिकाको तर्फबाट बुझाईएको उक्त ध्यानाकर्षणपत्रमा राजमार्गको घुर्मि खुर्कोट खण्डमा पर्ने सोखुखोला पुल, खाङसाङ खोलाको पुल निर्माण तत्काल सक्नुपर्ने, उक्त सडकखण्डमा पर्नेमा हैवार पहिरो, कुखुरेटार पहिरो, कालिआँप पहिरोको दिगो व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ ।
यस्तै सडकका विभिन्न खण्डमा सडक पक्कि गर्ने काम नभएको, सडकको मर्मत संहार नहुँदा जिर्ण हुँदै गएको भन्दै पूर्वाधारको दिगोपनाका लागि ध्यानाकर्षण गरिएको हो ।

यस्तै बजार क्षेत्रहरु ग्वालटार, फिक्कलको खाङसाङवेसी, निगुरेबेसी, झगरेबेसी, सुम्नामबेसी, सोखुबेसी, तीनखण्डे, तर्किनीबेसी, च्याकुटार क्षेत्रमा पैदलयात्रुका लागि फुटपाथ निर्माण गर्नुपर्नेमा समेत आयोजनाको ध्यानाकर्षण गराईएको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले बताईन ।
ध्यानाकर्षण बुझ्दै आयोजना प्रमुख नेपालीले पुल निर्माणको लागि खरिद नियमावलीको १३ संशोधन अनुसार एक पटकलाई निर्माण कम्पनीलाई काम गर्ने मौका दिने र नबनेमा सम्झौता रद्द गर्ने प्रतिवद्धता जनाए । सोखुखोला पुल र खाङसाङ पुल पप्पु कन्ट्रक्सनले अलपत्र पारेपछि सम्झौता रद्द गरि आत्रेय निर्माण कम्पनीलाई ठेक्का दिईएको थियो । आत्रेयले पनि समयमा काम गरेको थिएन ।
यस्तै पहिरो नियन्त्रणका लागि विज्ञबाट अध्ययन गराउने र बस्ती तथा बजार क्षेत्रमा फुटपाथ निर्माणकोका काम अगाडि बढाउने प्रतिवद्धता जनाएको सुनुवारले जानकारी दिएकी छिन ।






