सशस्त्र भण्डार महाशाखा आगलागीमा ‘पर्याप्त सुरक्षा कमजोरी’

काठमाडौं । सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय भण्डार महाशाखामा भएको आगलागी घटनामा सुरक्षा कमजोरी देखिएको छानबिन समितिले औंल्याएको छ ।

दुई एसपीसहित सात जनामाथि विभागीय कारबाही सिफारिस

२६ चैत अपराह्न ४ बजे सुरु भएको आगलागी २७ चैत बिहान २ बजे मात्र नियन्त्रणमा आएको थियो । सो घटनालाई लिएर गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डे नेतृत्वको समिति गठन गरेको थियो । सशस्त्र प्रहरी बल मुख्यालयले पनि बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल नेतृत्वको आन्तरिक समिति गठन गरेको थियो ।

पाण्डे नेतृत्वको समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र दाहाल नेतृत्वको आन्तरिक समितिले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई प्रतिवेदन बुझाइसकेको छ । गृह मन्त्रालयले गठन गरेको समितिले सुरक्षा लापरबाही भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले छानबिन समितिले प्रतिवेदन बुझाइसकेको र त्यसमा भएका विषयहरू आफूले हेर्न नपाएको बताए । स्रोतका अनुसार, गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आगलागीको यकिन कारण प्रतिवेदनमा खुलाएको छैन । तर, पर्याप्त सुरक्षा संवेदनशीलता अपनाउन नसकेको भने प्रतिवेदनमा उल्लेख गरेको छ ।

आगलागी हुँदा चुस्ता, बुट, मन्डी, म्याट, झुल तन्ना, स्लिपिङ ब्यागलगायत बन्दोबस्तीका सामान जलेर नष्ट भएका थिए । आगलागी हुँदा कम्तीमा ३७ हजार बुट, ३७ हजार स्पोर्ट्स सुज जलेर नष्ट भएका थिए ।

स्रोतका अनुसार, गृहको छानबिन समितिले विशेषगरी सुरक्षाका लागि डेडिकेटेड जनशक्ति नराखिएको, एउटा पनि सीसी क्यामेरा राखेको नपाइएको, गोदाम सुरक्षाका लागि एउटा सेन्ट्रिसमेत नराखिएको, संवेदनशील स्थानमा ‘फायर डिटेक्टर’ र सर्भिलेन्स हुनुपर्नेमा न्यूनतम संवेदनशीलता पनि नअपनाइएकाले गम्भीर लापरबाही भएको विषयलाई प्रतिवेदनमा उल्लेख गरेको छ ।

समितिले आगलागीको कारण पत्ता लगाउन पूर्वाधार नै नभएको भन्दै कारण किटान गर्न नसकिएको पनि उल्लेख गरेको छ । छानबिन समितिका एक सदस्यले कसैलाई स्पष्ट जिम्मेवारी नदिइएकाले कसलाई जिम्मेवार बनाउने भन्ने नै स्पष्ट हुन नसकेको तर त्यहाँ खटिएका कर्मचारीलाई जिम्मेवार बनाउनुपर्ने भन्दै संगठनमार्फत कारबाही गर्न प्रतिवेदन सिफारिस गरिएको बताए ।

सशस्त्र प्रहरीको आन्तरिक समितिले आगलागीलाई दुर्घटनाका रूपमा लिनुपर्ने औंल्याएको छ । एआईजी दाहाल नेतृत्वको आन्तरिक छानबिन समितिले अपराह्न ड्युटी बसेको र वरिपरि मुभमेन्ट भएका बेला घटना भएको, गुणस्तर जाँच भएर वितरण हुन लागेको सामान भएकाले आगलागीबाट कसैलाई फाइदा हुने नदेखिएको भन्दै यसलाई भवितव्य भनेको छ । उसले दमकल समयमा आउन नसक्दा पनि क्षति धेरै हुन गएको प्रतिवेदनमा औंल्याएको छ ।

त्यस दिन दुर्गा प्रसाईं समूहले सडक आन्दोलन गरेको थियो । सो आन्दोलनका कारण समयमा दमकल पु¥याउन नसक्दा बढी क्षति हुन गएको प्रतिवेदनमा उल्लेख गरिएको स्रोतको भनाइ छ । आन्दोलनकै कारण आगलागी भएको ४५ मिनेटसम्म पनि नियन्त्रणमा ल्याउने प्रयास नै हुन नसकेको एक अधिकृतको भनाइ छ ।

छानबिन समितिले दुई जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)सहित सात जनालाई विभागीय कारबाही गर्न पनि सिफारिस गरेको छ । समितिको सिफारिसपछि नम्बर–९ पशुपति बाहिनीमा कार्यरत एसपी अर्जुन खत्री र भण्डार महाशाखाका एसपी राजेन्द्र श्रेष्ठसहित सात जनामाथि विभागीय कारबाही थालिएको बताइएको छ ।

आगलागीको गन्ध र धुवाँ आउनासाथ तत्काल रेस्पोन्स गर्न नसकेको, आगलागी सुरु भएको थाहा पाउनासाथ समन्वय गरेर ढोका खोल्ने र निभाउने प्रयास नगरेको आरोप उनीहरूमाथि लगाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र : विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म