अतिक्रमित वन खाली गराई विस्तार र संरक्षण गर्दै वन कार्यालय

राजविराज । डिभिजन वन कार्यालय सप्तरीले वन व्यवस्थापन, संरक्षण र आर्थिक उपार्जनका विभिन्न गतिविधिमा जोड दिएको छ । विभिन्न प्रजातिका बोटबिरुवा र जडीबुटी उत्पादनदेखि उद्यमशील विकासमा समेत वन कार्यालय सक्रिय देखिएको छ ।

जिल्लाको सबडिभिजन वन कार्यालय कञ्चनपुरमा वन नर्सरी स्थापना गरी विविध जातजातिका बिरुवा उपलब्ध गराइरहेको वन कार्यालयले चुरेफेदीमा रहेको सुरुंगा नगरपालिका–६ स्थित सेतीदेवी सामुदायिक वनका साथै रुपनी गाउँपालिका–६ तेरहौतामा खाँडो खोला नदी उकास जग्गा र कञ्चनरूप नगरपालिका–४ पौडा खोला वन क्षेत्रमा वृक्षरोपण, अतिक्रमित वन क्षेत्र खाली र तारले घेरबारलगायतका काम गरी वन क्षेत्रको विकास र संरक्षण कार्यलाई तीव्र बनाएको हो ।

‘हामीले पछिल्लो समय विभिन्न प्रजातिका बोटबिरुवा, जडीबुटी विकास, वन व्यवस्थापन, अतिक्रमित वन क्षेत्र खाली गराउने र उद्यमस्थापनालगायतका गतिविधि तीव्र बनाएका छौं,’ शनिबार वन क्षेत्रको स्थलगत अनुगमनका लागि पुगेका सञ्चारकर्मी, वन कर्मचारी तथा पदाधिकारीको टोलीलाई वन कार्यालयको गतिविधि’bout जानकारी गराउँदै डिभिजन वन कार्यालय सप्तरीका प्रमुख शुभाषचन्द्र दासले भने, ‘यस क्रममा सामुदायिक वनलाई उत्पादनसँगै जोड्ने एकीकृत योजना तयार गरेर अघि बढेका छौं ।’

चोरी तथा वन अतिक्रमण नियन्त्रण, वृक्षरोपण, जीविकोपार्जनका लागि वैकल्पिक कार्यक्रम र सामाजिक सशक्तीकरणलाई प्राथमिकतामा राखिएको बताउँदै उनले सेतीदेवी सामुदायिक वनमा चालू आर्थिक वर्षमा विभिन्न प्रजातिका करिब ३ लाख बिरुवा रोप्ने लक्ष्य रहेको जानकारी दिए । यस क्रममा सो वन क्षेत्रमा ९ हेक्टर अतिक्रमित जग्गा खाली गराई नयाँ वन क्षेत्र कायम गरिएको उनको भनाइ छ ।

अहिले ३३ हेक्टमा विस्तार गरी सो वनमा खयर, मसला, महगनी, अमला, गोल्डमोहर, सालधारीलगायत बिरुवाको उत्पादन भइरहेको उनले जानकारी दिए ।

सप्तरीमा वन क्षेत्र कम रहेकाले खाली रहेको निजी सार्वजनिक जग्गामा समेत वृक्षरोपण आवश्यक रहेको बताउँदै उनले भने, ‘संरक्षणका लागि अल्पकालीन र दीर्घकालीन कार्यक्रम सञ्चालन नगरे वन तथा वातावरणमा संकट निम्तने खतरा बढ्दै जानेछ ।’

उनले आर्थिक वर्ष २०८०-८१ को हालसम्मको अवधिमा सेतीदेवी सामुदायिक वनको १० हेक्टर जग्गामा झाँडी सफाइको काम सकिएको र आगो डढेलोबाट वनजंगल जोगाउन सचेतनाका विभिन्न कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिए । उनले वन जोगाउन झाडी सफाइका लागि चुरे उत्थानशील आयोजना बर्र्दिबासबाट प्राप्त बजेटले उपभोक्ता समितिमार्फत २५ देखि २७ हजार रुपैयाँ प्रतिहेक्टरका दरले पारिश्रमिक दिई काम भइरहेको बताए ।

यस्तै, रुपनी गाउँपालिका–६ तेरहौतामा खाँडो खोला नदीले उकासेको १० हेक्टर जग्गामा विभिन्न प्रजातिका २१ हजार बिरुवा रोपिएको सहायक वन अधिकृत शशिन्द्र यादवले जानकारी दिए । यसरी रोपिएका बिरुवामा खयर, मसला, जामुन, इपिलिपि, बाँस, तेजपातलगायतका छन् । यसले बाढीको जोखिम न्यूनीकरणमा समेत सहयोग पु-याउने उनको भनाइ छ । उनले केही जनप्रतिनिधिले राजनीतिक लाभका लागि शक्तिको दुरुपयोग गर्दा वन संरक्षणमा समस्या हुने गरेको समेत सुनाए ।

यता, सबडिभिजन कार्यालय कञ्चनपुर कार्यालय परिसरमा रहेको वन नर्सरीमा चालू आर्थिक वर्ष २०८०–८१ मा किट, महगनी, गोल्डमोहर, तेजपात, बोतल वर्ष, आँप, लिची, बेल, हर्रोलगायतका ९० हजार बोटबिरुवा खेती गरेर स्थानीयलाई उत्पादन र आम्दानीसँग जोड्ने काम भएको सो कार्यालयका प्रमुख सन्तोष यादवले जानकारी दिए ।

बर्सेनि वनजंगल क्षेत्र कम हुँदै गएको बेला वन कार्यालयले चलाएको अभियान र तयार पारेको कार्ययोजनाले जिल्लामा वन क्षेत्रको विकास, विस्तार र संरक्षणमा महत्वपूर्ण सहयोग पु-याउने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)