किन म सीडीओ भइनँ ?

वीरेन्द्र क्याम्पस, भरतपुर, चितवनबाट २०३८ सालमा स्नातक तह उत्तीर्ण गरेपछि मास्टर पढ्ने वा पैसा कमाउने उद्यमतिर लाग्ने दुई विकल्प थिए । मैले पैसा कमाउने लक्ष्य छनोट गरी पढ्ने कार्यलाई स्थगन गरेको थिएँ । २० वर्षे जोश थियो । तिनताका राजदूत मोटरसाइकल भर्खरभर्खर चलनचल्तीमा आएको थियो । अरूहरू मोटरसाइकल चढेको देखेर मलाई पनि मोटरसाइकल चढ्ने रहर जाग्यो । चितवन जिल्ला कार्यालयबाट ‘काका एन्ड भतिजा’ नामक ‘घ’वर्गको निर्माण कम्पनी दर्ता गराएर म ठेकदार बनें । पैसा कमाउने र राजदूत मोटरसाइकल चढ्ने रहर ठेकेदार बनाउने प्रमुख उत्पे्ररक थियो ।

निर्माण कम्पनीको लाइसेन्स भएपछि मैले धेरै ठाउँमा टेन्डर राख्ने कोसिस गरें । तर, ठेकेदारको कार्टेलिङले गर्दा ५–७ हजारमा चित्त बुझाउनुपर्ने स्थिति थियो, मिलिजुली गर्दा । म भने काम गर्दा केही सिक्न चाहन्थें, मिलिरहेको थिएन । एकदिन गोरखापत्रमा नारायणी सिँचाइ आयोजना वीरगन्ज, पर्साले निर्माण कार्यका लागि गरेको विज्ञापन हेरेपछि म हानिएर गीतानगरबाट वीरगन्ज पुगें । टेन्डर फर्म किनें, जसोतसो गरेर भरें र दर्ता गराएँ । सायद त्यो दिन अन्तिम थिएन र मलाई दबाब पनि परेन । टेन्डर खोल्ने दिन पुनः वीरगन्ज पुगें । सबै ठेकेदारले एकमुखले एक्लै टेन्डर दर्ता गराएकोमा मलाई कराए । मलाई कसैसँग मिल्नु थिएन । त्यसकारण मैले दर्ता गरें, मेरो अधिकारको प्रयोग गरें । मेरो कड्काई देखेर सबै चुप लागे । ममा विद्यार्थी राजनीतिको तुजुक बाँकी नै थियो ।

टेन्डर खोल्दा मलाई नै ठेक्का प¥यो । म सबैका अगाडि तीन हात उफ्रिएँ, काम गर्न पाएकोमा । टेन्डर खोल्न बसेका ठेकेदार र ठेकेदारका प्रतिनिधिहरू मेरो अल्लारे व्यवहार देखेर छक्क परे । मैले सबैसँग हात मिलाएँ । अफिसियल प्रक्रिया सकिएपछि अफिसबाट निस्कें । तिनताका दाजु विष्णुहरि कोइराला ठाकुरराम क्याम्पसमा पढाउनुहुन्थ्यो । म खुसी हुँदै मिठाई बोकेर दाजुकहाँ पुगें । दाजुसँगको सरसल्लाह पछि म बाआमासँग भेट गर्न घर गीतानगर फर्किएँ । हाम्रो बा पनि ठेकदार पेसासँग अत्यन्त आकर्षित हुनुहुन्थ्यो । छोराले ठेक्का पाएकोमा बा बेस्सरी खुसी हुनुभयो । बुबासँग २ लाख जति सापट लिएँ । मलाई काम गर्ने साइटसम्म पनि थाहा थिएन । पैसा बोकेर म काम गर्ने अठोटका साथ काम गर्ने साइट खोज्दै रौतहटको चन्द्रनिगाहपुर हँुदै बसन्तपट्टि पुगें । काम गर्ने ठाउँ गण्डक नहरको वसन्तपट्टिमा रहेको खण्ड रहेछ ।

लामो समय निजामती सेवा गरेर सहसचिव पदबाट अवकाश हुँदा पनि सीडीओे हुने आकांक्षा ज्यूँदै छ

चितवनको जनजीवन र रौतहटको जनजीवन फरक थियो । रौतहटको तुलनामा चितवन विकसित र शिक्षित भएको पाएँ मैले । वसन्तपट्टिमा मैले अफिस आवास खडा गरें । स्थानीयसँग सम्पर्क गरें । हिमचिम बढाएँ । मिस्त्री लेवर खोजें । सरसामान बालुवा, ढुंगा, इँट्टा ल्याउने ससाना ठेकेदारलाई जिम्मा लगाएँ । गण्डक नहरमा सानो कुलो, आउटलेट, इनलेट साइफन र फुटब्रिज बनाउनु थियो । निर्माण गर्ने सबै काम मेरा लागि नितान्त नौला थिए । तैपनि, नक्सा पढ्न सिक्दै र पढ्दै निर्माण कार्य प्रारम्भ गरें । मिस्त्री, हेर, ठेक्कापत्रमा उल्लेखित स्पेसिफिकेसनअनुरुप गुणस्तरीय काम गर्नुपर्छ है । मैले मिस्त्रीलाई अह्राएँ ।

‘इन्जियिर, ओभरसियर, लेखा, राजनीतिक नेता, गाउँले मुखिया सबैलाई पैसा खुवाउनुपर्छ, त्यसरी काम गर्दा कहाँ कमाइ हुन्छ त ? खर्च पनि उठ्दैन,’ मिस्त्रीले मलाई सम्झाउँदै भन्यो । ‘इमानदार काम गरेपछि कसैलाई पनि पैसा खुवाउनुपर्दैन नि, मिस्त्री,’ मैले सम्झाएँ । हामी काम गर्दै गयौं । राजपुरको बादशाही मिठाईको स्वाद लिँदै ।

प्रायः सबै निर्माण कार्य आधाआधि भएको थियो । म साइटमा नै थिएँ । एकदिन रौतहट जिल्ला प्रशासन कार्यालयबाट निरीक्षणमा तीन÷चारवटा गाडीमा प्रमुख जिल्ला अधिकारी (सीडीओे, पुलिस इन्सपेक्टरसहित १०÷१५ जना प्रहरी झरे । सीडीओे र पुलिस देख्नासाथ गण्डक सिँचाइका सुपरभाइजर, मिस्त्री लेबर सबै डराए । विद्यार्थी आन्दोलनहरूमा सक्रिय भएर हिँड्दा सीडीओे र पुलिससँग निकैपटक जम्का भेट भइरहन्थ्यो । म उनीहरू आएको हेरिरहें, निस्पृह । ‘को हो ठेकेदार ?’ सीडीओले गर्विलो स्वरमा सोधे ।

‘म हो,’ म सीडीओेको अगाडि उभिएँ । सबै काम दुई नम्बरी भइरहेछ भनेर उजुरी परेको छ ? सार्वजनिक काममा लापरबाही गर्न पाइन्छ ? सीडीओे गर्जिए । ‘काम यही हो ?’ हेर्न सकिन्छ सर † मैले गर्वसाथ भनें । विकासको काम अनि जनताको काम जथाभाबी गर्ने तपाईंलाई थुनिदिऊँ । सीडीओे पुनः गर्जिए ।

थुनिदिने कुरा गरेपछि मिस्त्री लेबर सबै कामै गर्न छोडेर हेर्न थाले । सिँचाइको सुपरभाइजरले आँखाले केही भनिरहेका थिए, तर मैले बुझिनँ । त्यस्तो नराम्रो काम केही भएको छैन, सर । तपार्इं जाँच गर्न सक्नुहुन्छ । मैले आत्मविश्वाससाथ सफाइ दिएँ ।

खै कस्तो बनाएको छ, हेरौं त ? सिडिओ र इन्सपेक्टर दुवैले दुई÷चार ठाउँमा लात्तले भत्काउँला झैं गरेर हाने ।

किन भत्किन्थ्यो र ? मलाई निर्माणको काम आफूले इमानदारीतासाथ बनाएकोमा कुनै शंका थिएन । म मुसुक्क मुस्कुराएँ । ‘ए केटा हो घनले ठोक’, सीडीओेको आदेश भयो ।

दुई जना प्रहरी घन लिएर आए र धमाधम स्टक्चरमा ठोक्न थाले, फुटेन । बरु पुलिसको कञ्चटबाट पसिना छुट्यो । अझै केही चेक गर्ने कि सर ? मलै प्रश्न गरें । सीडीओेको हेराइमा रिस मिसिएको थियो ।

सरले उजुरीको व्यवस्थापन पूर्वाग्रह नराखी गर्ने बानीको विकास गर्नुपर्छ । हामीसँग रिसाएको जो कोहीले पनि उजुरी गर्न सक्छ । उजुरीको गुणस्तर हेर्नुप¥यो नि सर । सबै ठेकेदार चोर बेइमान हुँदैनन् नि । मैले ठेकेदारको मर्का सुनाएँ ।

ल ठीक छ । राम्रै बनाएको जस्तो छ । सीडीओेको दल झन्डै एक घण्टाको रोबिलो परीक्षण र प्रदर्शनपछि फर्कियो । म सीडीओेको अधिकार, शान र रवाफसँग निक्कै नै प्रभावित भएँ । हाम्रो काममा खटिएका सबैले लामो सास फेरे ।

ठेकदार साहेब त डराउनुहुँदो रहेनछ । हामी त थर्कमान भएका थियौं नि । मिस्त्रीले पहिलो प्रतिक्रिया दिए । मैले त सीडीओेसँग धेरै नबोल्नुस् है भनेर आँखाले बताउदै थिएँ, ठेकदारसापले देख्नु नै भएन । सुपरभाइजरले थपे ।

डराउनुपर्ने त कारण नै छैन । यति इमानदार ठेकेदार त मैले देखेकै छैन । ठेकदार साहेवलाई त नाफा नै हुँदैन यो कामबाट । मिस्त्रीले हाँस्दै भन्योे । मलाई नाफा होइन, काम सिक्नुछ । मैले मिस्त्रीलाई सम्झाएँ । ‘बुझेको छु हजुर,’ मिस्त्रीले भन्यो ।

गणतन्त्र र संघीय शासन प्रणालीमा स्वार्थी राजनीतिक दल र नेताहरूले सीडीओेको जिम्मेवारीमाथि ख्यालठट्टा गर्न थाले

वास्तवमा सीडीओेको निरीक्षणबाट म डराइनँ । काम नबिगारेपछि डराउनु पनि परेन । तर, सीडीओेको शान, मान र फूर्ति देखेर मेरो वृत्तिमा आमूल मोड आयो । ममा सीडीओे बन्ने सपना जन्मियो । पैसा कमाउने रहर हरायो । सरकारी सिँदुर लाउने मन भयो । पढेको छु सक्छु भन्ने हिम्मत आयो । काम पनि सकियो । काम सकिएको महिना दिन पछि म काठमाडौं पुगें । लोक सेवा आयोगका परीक्षाको तयारी गरें ।

मेरो इगो, तयारी र आत्मविश्वासले म २०४५ सालको ८१ जनाको समूहमा शाखा अधिकृत परीक्षा पास पनि भएँ । जागिरमा प्रवेशसँगै प्रशासनिक तालिममा रहँदा सीडीओेको शान्ति सुरक्षा गर्ने जिम्मेवारी तथा बदमासका लागि दुस्मन र इमानदारका लागि सहयोगी संयन्त्र भएको बुझें । बुझ्दै जाँदा सीडीओे शान्ति सुरक्षा कायम गर्ने मात्र नभएर छिमेकी मित्रराष्ट्रसँग सम्बन्ध विस्तार गर्ने र राष्ट्रिय एकता कायम गर्ने महत्वपूर्ण पद (संस्था) भएको पनि जानकारी पाएँँ । ममा झन् सीडीओे हुने इच्छा जागृत भयो ।

तिनताका देशमा पञ्चायती शासन प्रणाली थियो । पदस्थापन र सरुवामा अहिले झंै नै आप्mना मान्छे च्याप्ने गरिन्थ्यो । पहिले पञ्चायतलाई समर्थन गर्ने कमिटेड ब्युरोक्रेसी बनाउन खोजिन्थ्यो । मैले सीडीओे हुन गृह मन्त्रालय जान चाहें, रोजें र निवेदन पनि राखें, तर, पदस्थापन हुन सकेन । तिनताका गृह, अर्थ मन्त्रालय इलिट मन्त्रालयमा गनिन्थे । राजदरबारको चासो रहन्थ्यो । मेरो दरबारमा कुनै पहुँच थिएन ।

देशमा २०५१ सालदेखि माओवादी हिंसात्मक विद्रोह सुरु भयो । गृह मन्त्रालय जान मन लागेन । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि अस्थिर सरकार बन्ने र ढल्ने हुँदा सीडीओेको सरुवा छिनछिनमा हुन थाल्यो । मलाई त्यो पनि मन परेन । अहिले प्रजातान्त्रिक र गणतान्त्रिक संघीय शासन प्रणाली छ । सार्वजनिक प्रशासन प्रणालीले तटस्थ रूपमा आप्mनो विकास र काम गर्ने अवसर चाहेको छ । तर, राजनीतिक नेताले राजनीति दलप्रति प्रतिबद्ध होइन कि दलका नेतालाई आर्थिक प्रशासनिक सहयोग गर्ने जो कोही भए पनि च्याप्ने गरिन्छ । रोजेको स्थानमा पठाइन्छ, काम हुँदैन । देशमा इमानदार कर्मचारीले इमानदार भएर काम गर्ने वातावरण बन्न सकेको छैन ।

गणतन्त्र र संघीय शासन प्रणालीमा स्वार्थी राजनीतिक दल र नेताले सीडीओेको जिम्मेवारीमाथि ख्यालठट्टा गर्न थाले । सीडीओे देशको शान्ति सुरक्षा गर्ने, राष्ट्रिय एकता सुदृढ गर्ने र छिमेकी देशसँग सम्बन्ध सुधार गर्ने स्थापित प्रशासनिक संयन्त्र हो भन्ने बिर्सिएर मान मर्दन गर्न पुगे । मर्यादाक्रमलाई निचोरेर सीडीओेलाई तल तल झार्न थाले । यसप्रकार कर्मचारीतन्त्रमा भएको राजनीतिको अन्तस्थ प्रभाव र सीडीओे पदमाथिको संघीय राजनीतिज्ञको अज्ञानी ईष्र्यात्मक व्यवहार मलाई कत्ति पनि मन परेन । नेपाल सरकारले सीडीओे पदको गरिमा बुझेर व्यवहार गरोस् । मेरो अनुरोध छ । कर्मचारी साथी निरन्तर गृहभित्र र बाहिर भइरहे । म पहिले गृह मन्त्रालय जान सकिनँ । पछि मन लागेन । यद्यपि, लामो समय निजामती सेवा गरेर सहसचिव पदबाट अवकाश हुँदा पनि सीडीओे हुने आकांक्षा भने ज्यूँदै रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 582 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन तन्नेरी, जसलाई चुनाब जित्न दलको सहारा लिनु परेन