आशा गरौं, भर नपरौं !

नेपालको राजनीतिमा यतिबेला गतिरोध देखिएको छ । संसद्मा देखिएको गतिविधि र सत्ता संघर्षको खिचातानको मात्र विषयलाई गतिरोधको संज्ञा दिन खोजिएको होइन । त्यसकारण संसद्को क्रियाकलाप नियमित हुन थालेपछि परिस्थिति सामान्य भएको रूपमा लिनु सायद भूल हुनेछ । सतहमा देखिएझैं भ्रष्टाचारसँग जुध्ने विषयमा सामान्य मतभेद देखापरेको भनेर बुझ्नु पनि गलत हुनेछ । यो गतिरोध नेपालको राजनीतिका मुख्य पात्रहरूको मूलभूत चरित्रका कारण देखिएको हो र त्यो प्रवृत्ति कुनै न कुनै रूपमा समयसमयमा उजागर भइरहनेछ । मुख्य पात्रहरू विस्थापित भएर नितान्त नौलो प्रवृत्ति स्थापित हुने सम्भावनाको ठूलो आशा गर्नु पनि सायद मूर्खता हुनेछ । त्यसकारण गतिरोध पनि आकार र प्रकार फेर्दै देखा परिरहनेछ ।

मानिसलाई जीवन धान्न, जीवन सहज बनाउन वा त्यसभन्दा माथि बिलासिताका साथ बाँच्न आर्थिक स्रोतको आवश्यकता पर्छ । सामान्यतया यही आर्थिक स्रोत साधन जुटाउने क्रियाकलापलाई नै पेसा भनिन्छ । कुनै पनि धर्मले पनि अर्थलाई मानव जीवनको अभिन्न अंग नै मानेको छ । कमाउने, खर्च गर्ने र बचत गर्ने यो निरन्तरको प्रयासमा अधिकांश व्यक्ति जीवन धान्न न्यूनतम आवश्यक अर्थ संग्रहमै व्यस्त हुन्छन् भने न्यूनतम आवश्यकताको चिन्ता गर्नु नपर्ने भई सुदूर भविष्यको अनिश्चित अवस्थामा वा अझ त्यसभन्दा पर आफ्नो सन्तान दरसन्तानको सुरक्षाको समेत सुनिश्चित हुनेगरी अर्थ संग्रहमा पनि व्यक्ति लागिरहन्छ । जति धेरै आफ्नो र आउने पुस्ताको समेत भविष्य सुनिश्चित बनाउनसक्यो, त्यति नै त्यस व्यक्तिलाई सफल मान्ने प्रचलन र मान्यता पनि रहिआएको छ । पेसाकर्मी, उद्यमी वा व्यवसायीको सफलताको मापदण्ड पनि धनसंग्रहको परिमाण नै मानिन्छ ।

के राजनीति पनि अन्य कुनै व्यवसाय वा पेसाजस्तै नै हो त ? के राजनीति पनि आजीविका वा धनसंग्रहको उद्देश्यका साथ अपनाइने ब्यवसाय हो त ? राजनीति भनेको कुनै साबुन कारखाना वा ठूलो पसल खोले जस्तो हो ? अथवा राजनीति भनेको पवित्र भनिने डाक्टरी वा शिक्षकजस्तै पेसा व्यवसाय हो ? साबुन कारखाना वा कुनै पसलको लक्ष्य त अधिक से अधिक नाफा कमाउने र धनसंग्रह नै हो । कुनै आदर्शवादी व्यक्ति चिकित्सा वा शिक्षण पेसामा छन् भने उनले मुनाफा नखोज्लान्, तर आजीविका र परिवार भरणपोषणका आवश्यक न्यूनतम आय त खोज्छ नै । राजनीतिमा लाग्नेले के कति प्रतिफल खोज्नु जायज हो त ? एक मुनाफाको उद्देश्य राख्ने व्यवसायीले झैं मुनाफा नखोजे पनि आजीविकाका लागि न्यूनतम आवश्यक मात्रा त खोज्न पाउँछ कि ?

हुनुपर्ने चाहिँ राजनीति भनेको आर्थिक प्रतिफलको पटक्कै आशा गर्न नमिल्ने अकुपेसन हो, धन आर्जन गर्ने प्रोफेसन होइन । राजनीतिमा लाग्नु भनेको जोगी बन्न होइन भन्ने रेडिमेड जवाफ पनि आउन सक्छ । निश्चित रूपमा राजनीति भनेको फलको आश गर्ने निष्काम कर्म होइन । व्यक्ति कल्याण वा परिवार कल्याण नभई जनकल्याण वा समाज कल्याणको फलको आशा राख्ने व्यक्तिले नै राजनीति गर्ने हो । त्यस फलको परिमाण वा गुणवत्ताप्रति समेत निरपेक्ष रहेर कर्म गर्नसक्ने व्यक्तिले नै राजनीति गर्ने हो । धनसंग्रहको लोभ भएको वा जीविकोपार्जनको समस्या भएको व्यक्तिले राजनीति गर्ने होइन ।

आजको धरातलीय यथार्थचाहिँ के हो भने राजनीतिमा सक्रिय अधिकांश व्यक्ति धनसंग्रहको आकांक्षी छन् र तिनीहरूले राजनीतिलाई आर्जनको सर्वोत्तम साधनका रूपमा प्रयोग गरेका छन् । साँच्चै भन्ने हो भने राजनीति न्यूनतम लगानीमा अधिकतम प्रतिफल पाइने व्यवसाय बन्न पुगेको छ । अहिले नेपालको राजनीतिमा देखिएको गतिरोधको मुख्य कारण पनि यही हो । धन आर्जनको आकांक्षाले नै आज आशालाग्दा भनिएकाहरू तत्कालै कलुषित बन्न पुग्छन् । हिजोका आदर्श व्यक्ति आज सबैभन्दा गन्हाउने हुन पुगेका छन् । राजनीतिमा देखिएको गतिरोधमा देखिएको पक्ष र विपक्ष दुवै नै आर्जनको धन्धामा लागेका छन् । नेपाली जनतासँग छनोट गर्ने स्वतन्त्रता नै छैन । दुवै धनलक्ष्मीका उपासक ! कुनचाहिँ तुलनात्मक रूपमा सात्विक उपासक र कुनचाहिँ तामसी प्रवृत्तिको आसुरी उपासक भन्ने सम्म हो ।

भ्रष्टाचारको छानबिन हुनुहुन्न रे ! गर्नैपर्ने भए फलानोफलानोलाई छानबिनको दायराबाट बाहिर राखिनुपर्छ भन्ने भाष्य स्थापित गर्न खोजिँदै छ । आरोप लगाउने व्यक्ति बढी भ्रष्ट भएको हुँदा म स्वतः चोखो हुँ भन्नसमेत खोजिँदै छ । एक भ्रष्टतम व्यक्ति वा समूहले राष्ट्रवादको जामा पहिरेपछि त झनै विकृत अनुहार देखिन्छ । तर, यस्तो निर्लज्जता प्रदर्शन हुँदासमेत त्यो ‘महान नेता’को प्रशंसामा नाच्ने गाउनेको भीड भएपछि अन्ततः यो मुलुक रसातलमा पुग्ने नै हो । विभिन्न रूपमा गतिरोध निरन्तर देखापरि नै रहनेछ । द्वन्द्व र संघर्षले चरम रूप नलेओस् भन्ने आशा गरौं, भर नपरौं ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनकाे निर्णय : एमालेसँग भएको तालमेल अमान्य