काठमाडौं । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा कालोबजारी, नाफाखोरी र जम्माखोरीविरुद्ध प्रशासनले आक्रामक कारबाही थाल्ने भएको छ । महाविपत्तिको समयमा कालोबजारी बढ्न सक्ने भएकाले त्यसविरुद्धको अनुगमनलाई सशक्त बनाई कालोबजारी गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्ने गरी आवश्यक संयन्त्र तयार पारिएको छ ।
काठमाडौं उपत्यकाभित्र ग्यास आपूर्तिलाई सहज बनाउने तथा अन्य उपभोग्य वस्तुमा कालोबजारी हुन नदिन आवश्यक रणनीति तयार पार्न आइतबार बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुख सम्मिलित बैठकले वस्तुहरूको आपूर्तिलाई सहज बनाउन र कालोबजारी रोक्न तीनवटै जिल्लामा फोकल पर्सनहरू तोकेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको संयोजकत्वमा बसेको बैठकले ग्यास आपूर्ति सहज बनाउन उपभोक्ताको दैनिक माग, उपत्यकामा भित्रने ग्यासको परिमाणसमेतको आधारमा सञ्चित रहेको ग्यास आपूर्तिको परिमाणात्मक विवरण संकलन गरी आपूर्तिलाई नियमित र सहज बनाउने निर्णय गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले महाविपत्तिको समयमा कालोबजारी गर्ने जो सुकैमाथि पनि कठोर कारबाही गरिने चेतावनी दिए । ‘बैठकले तीनवटै जिल्लामा अनुगमन सशक्त बनाउने निर्णय गरेका छौं, कालोबजारी गरेको पाइए ठाउँका ठाउँ कारबाही हुनेछ,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने ।
बैठकमा ललितपुरका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय, ललितपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, काठमाडौंका प्रहरी वरिष्ठ उपरिक्षक उत्तमराज सुवेदी, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्य, चण्डीदल गणका प्रमुख सेनानी महेन्द्र कुमार पुन, सशस्त्रका प्रहरी उपरिक्षक दीपेन्द्र शाह, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललगायतका पदाधिकारीको सहभागिता रहेको थियो । बैठकले उपत्यकाभित्र एलपी ग्यास तथा अन्य अत्यावश्यक वस्तुहरूको आपूर्तिलाई सहज बनाउन तीनवटै जिल्लामा फोकल पर्सनमार्फत बजार अनुगमलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
बैठकले तीनवटै जिल्लामा ग्यास विक्रेता तथा डिस्टिब्युटर्सहरूलाई एलपी ग्यासको मौज्दात सार्वजनिक गर्न लगाउने निर्णयसमेत गरेको छ । यसैगरी, प्रत्येक ग्यास पसलहरूले भरि र खाली सिलिन्डरको विवरण, ग्यास प्राप्तिको विवरण र मूल्य आदि खुल्ने विवरणहरू उपभोक्ताहरूले देखिने गरी अनिवार्य रूपमा टाँस्नुपर्ने निर्णयसमेत बैठकले गरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।






