नेता सुध्रिए देश बन्छ

‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, नेपालै नरहे’ । नेपाल विश्वमै विविधताले भरिपूर्ण देश हो । यो देश सानो भए पनि यहाँ थोरै क्षेत्रफलमा फरकखाले मौसम, तापमान, थरिथरिका बोटबिरुवा, फलफूल, बालीनाली, डाँडाकाडाँ, तराई, मैदान, खोलानाला आदिले सजिएको छ । मानिसहरूमा देखिने विभिन्न भेषभूषा, भाषाभाषी, जातजातिले यसलाई झनै सुन्दर बनाएको छ । विश्वकै उच्च शिखर सगरमाथा, एसियाका तारा गौतम बुद्ध जन्माएको, जलस्रोतको दोस्रो धनी देश नेपाल स्वर्गको एउटा टुक्रा हो । स्वर्गकै टुक्रा भए पनि यहाँ बस्ने नेपालीहरू भने स्वर्गमा बस्नेहरू जस्तै खुसी र सुखी भने हुन सकेका छैनन् । यति सुन्दर देश र यहाँ बस्ने नेपालीलाई वर्षौंदेखि कहिले राणाशासनले अर्धमृत अवस्थामा पु¥यायो त कहिले पञ्चायती व्यवस्थाले थला पा¥यो । विस्तारै उठ्न कोसिस गरिरहेका नेपालीहरूलाई १० वर्षे माओवादी द्वन्द्वले शिथिल बनायो । यसले कयौं नेपालीको घरसमेत उजाड्यो जसका अवशेष अझै बाँकी छन् ।

हेर्दाहेर्दै गणतन्त्र पनि आयो । राजतन्त्र ढल्यो भनेर देशभरि खुसीयाली मनाइयो । अब भने जनताका पीडा हट्लान् भन्ने आशा जगायो । जनताबाट चुनिएका जनप्रतिनिधिले जनताका पीडा बुझ्लान् भन्ने विश्वास पलायो । तर के गर्नु जनताबाट चुनिएकाहरू सबैभन्दा ठूला ठग निस्किए । यिनीहरू नै अहिलेसम्मका सबैभन्दा स्वार्थी, भ्रष्टाचारी, कपटी, बाढा र फटाहा निस्किए । देशमा गणतन्त्र के आएको थियो बर्सेनि दुईतीन वटा प्रधानमन्त्री फेरिन थाले । मन्त्रीहरू फेरिएको त हिसाबै गर्न नसकिने भयो । स्वार्थकै कारण मन्त्रालय फुटाएर, विभागै नभएको मन्त्रीहरू नियुक्त हुन थाले । देशको आर्थिक अवस्थाले धान्न नसक्ने गरी उपप्रधानमन्त्री समेत दुईवटा हुन थाले । पहिले स्कुलमा, सामाजिक शिक्षाजस्ता विषयमा, लोकसेवा आयोगका सामान्य ज्ञानकै प्रश्नपत्रमा, लोकसेवाकै मौखिक परीक्षामा, स्कुल, कलेजमा हुने क्विज प्रतियोगितामा देशको वर्तमान प्रधानमन्त्री, शिक्षामन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री को हो भनेर प्रश्न सोधिने गर्थे ।

देशको आर्थिक अवस्थाले धान्न नसक्ने गरी उपप्रधानमन्त्री पनि दुईतीनवटा हुन थालेका छन्

अहिले त विद्यार्थीहरूलाई सिकाउने शिक्षक नै प्रत्येक तीन महिनामा मन्त्रीहरू फेरिँदा आफैं दिक्क हुन थालेका छन् । विभाग नै नछुट्याई भाग पु¥याउन मन्त्री पद थपिन्छ । दुईवटा उप्रधानमन्त्री, दुईवटा उपराष्ट्रपतिजस्ता पद थपेर राष्ट्रको ढुकुटी रित्याइरहेको नेपाली जनताहरूले बारम्बार देख्दै आएका छन् । कहीँ नहुने यस्ताखाले जात्रा नेपालमा मात्रै हुने गरेका छन् । यो महिना सामान्य ज्ञानका पुस्तकमा एउटा प्रधानमन्त्री नाम छाप्दा वर्ष पूरा नहुँदै प्रधानमन्त्री परिवर्तन भइसक्ने बाध्यता भोग्नुपरेको छ नेपालीहरूले । वर्तमान सरकार पनि धेरै दिन नचल्ने अड्कल भइरहेका छन् । देश विकास गर्न नभई जसरी पनि आफू पदमा बसिरहन प्रधानमन्त्रीले जोसँग पनि हात मिलाउने गरेको कसैबाट लुक्न सकेको छैन ।

बेलाबेलामा एउटा श्रीमान्ले आफ्नी श्रीमतीलाई कतै चिनाउनुपर्दा घरकी ‘गृहलक्ष्मी’ भनेर चिनाउने गरेको देखिन्छ । गृहलक्ष्मीको मतलब हो घरको सबै रेखदेख गर्ने । घरको काम, घरका सबै सदस्यको हेरविचार गर्ने । अहिले त जागिर गर्नसमेत भ्याउँछन्, गृहलक्ष्मीहरूले । तर, विडम्बना अहिले देशकै गृहमन्त्री बेकामे भएको देखिन्छ । देशप्रतिको आफ्नो कर्तव्य बिर्सेर नचाहिने कुरामा मात्रै अल्झेर पद जोगाउने कोसिस गरेको प्रस्टै देखिन्छ । वैशाखमा कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूको परीक्षाफल आउन अझै तीन महिना बाँकी छ । मेरो छोरीसँगै राम्रो नम्बर ल्याएर एसईई पास गरेका अन्य दुई जना परीक्षाफल प्रकाशित नहुँदै पढ्नका लागि बाहिर जाने भनेर तयारी गर्दै छन् । तीन जना राम्रा विद्यार्थीमध्ये दुई जना बाहिर जान तयारी गर्दै छन् भने के काम गर्दै छन् देशका मन्त्री, गृहमन्त्रीहरूले । किन शिक्षामा सुधारको पहल हुन सकेको छैन ? किन नेपालमा पढ्ने विद्यार्थीहरूले काम पाउँदैन भन्ने डरले १२ पास नहुँदै विद्यार्थीहरू कलिलो उमेरमै देश छोड्न बाध्य भइरहेका छन् । कसले गर्ने हो देश विकास र रोक्ने हो युवाहरू पलायन हुनबाट ?

उतिबेला माओवादीको १० वर्षे द्वन्द्व चलिरहँदा नेपाललाई विश्वकै एक नम्बर विकसित देशका रूपमा परिणत गर्छु भनेझैं अहिलेका गृहमन्त्रीले पनि जनतालाई विभिन्न आश्वासन दिएर चुनाव जितेका थिए । माओवादीले १० वर्ष बसेर द्वन्द्व गरेका ठाउँबाट एउटा छाउपढी प्रथा हटाउनसमेत नसकेजस्तै अहिलेका गृहमन्त्रीले पनि आफू सहकारी प्रकरणमा मुछिँदा त्यसको बचावका लागि विभिन्न फन्डाहरू निकालेको प्रस्टै देखिन्छ । १० वर्षे द्वन्द्वका बेला मन्दिर, मस्जिदहरू भत्काइए, पूलपाटीहरू जलाइए, बैंक, वित्तीयसंस्थाहरू लुटिए, गाउँघरमा विध्वस नै मच्चाइयो । मानसिक तथा शारीरिक यातनाबाट नेपाली जनता विस्तारै बाहिर निस्किँदै थिए फेरि पनि चरणबद्ध रूपमा अन्य पीडाहरू थपिँदै गएका छन् ।

आफूहरूले नखाई, नलाई, बिरामी, सुत्केरी, छोराछोरीको पढाइ, बुढेसकालका लागि, मर्दापर्दा चाहिन्छ भन्दै सहकारीमा जम्मा गरेको सर्वसाधारणको पैसा बिगोबिना ऋण लिएर पनि अस्वीकार गर्दै आउँदा सहकारीमा पैसा जम्मा गर्ने सर्वसाधारण मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् । गृहमन्त्रीले ऋण लिएको प्रमाणसमेत फेला पर्दा पनि अस्वीकार गरेकै कारण कयौं दिनदेखि संसद् अवरुद्ध हुँदै आएको छ । एउटा सानो घर चलाउन त दिनहुँ आमाबुवा, हजुरआमा, हजुरबुबालगायत घरका अन्य सदस्यको छलफलको आवश्यकता परिरहेको हुन्छ । एउटा स्कुल, कलेज, अफिस चलाउन दिनहुँ ठूलो जनशक्तिको आवश्यकता परिरहेको हुन्छ भने एउटा सिंगो देश चलाउन कतिधेरै छलफलको आवश्यकता पर्छ होला सजिलै अनुमान लगाउन सकिन्छ ।

पशुपतिनाथसँग एउटै प्रार्थना छ, देश बनाउने एउटा असल नेता जन्मियोस् र जनताको पीडामा मलम लगाओस्

यतिका दिनसम्म संसद् नचल्दा देशका गृहमन्त्रीलाई किन अप्ठेरो नलागेको होला । कसैमाथि केही आरोप लाग्दा स्वतन्त्र रूपमा छानबिन हुनुपर्ने हो । तर, यहाँ त सहकारी काण्डमा मुछिँदासमेत छानबिन हुनुको सट्टा बार्गेनिङ चलिरहेको छ । देशको मुख्य पदमा रहेका बेला आफूमाथि कुनै आरोप लागेको खण्डमा वा आफूले भनेअनुसारको काम गर्न नसकेको खण्डमा पदबाट राजीनामा दिएर स्वतन्त्र रूपले छानबिन गर्न सहयोग गर्ने संसारमा थुपै्र नेता, मन्त्रीहरू छन् । तर, हाम्रो देशमा भने लामो समयसम्म संसद् अवरुद्ध भए पनि, जनताका महत्वपूर्ण मुद्दामा छलफल नभए पनि महत्वपूर्ण काम रोकिए पनि, देश विकासका काममा बाधा आए पनि युवाहरू बाहिरिए पनि एमसीसी भित्रिए पनि, देश डढेलोमा जलिरहे पनि जनता बेरोजगार भएर तडपिए पनि मन्त्रीहरूको वुद्धि पलाउने छैन, आफ्नो बचावका लागि जनताका पीडामा खेलिरहने पुरानै परम्परा देखिन्छ ।

आफू स्वच्छ छविको भनिएका अहिलेका गृहमन्त्री रवि लामिछानेले चुनाव लडेर जितिसक्दा पनि नेपाललगायत अन्य देशको नागरिकता बोकेका थिए । देशका प्रत्येक मान्छे’bout जानकारी भएको भन्ने उनले नेपालमा चुनाव लड्न नेपाली नागरिकता हुनुपर्छ भन्ने थाहा नभएको बताएका थिए । सहकारीबाट ऋण लिइसकेपछि अहिले फेरि उस्तै कुरा गरिरहेका छन् । घरि ऋण लिनका लागि बिगो राख्नुपर्छ भन्ने थाहा नभएको बताउँछन् भने घरी केका लागि ऋण लिएको भन्ने कुरा थाहा नभई हस्ताक्षर गरेको बताइरहेका छन् । आफ्नो बचावमा उनले कुरा फेरिरहेको देख्दा जनतामा उनीप्रति शंका बढ्दै गएको छ । सहकारी पीडितको माइतीघर मण्डलामा रुवावासी । जनताको विश्वास जित्न सत्यतथ्य बाहिर आउन धेरै जरुरी भइसकेको छ ।

वर्षौंदेखि देश विकासका काममा ध्यान नदिएर देश बनाउनेहरूले नयाँ बानेश्वरको संसद् भवनमा बसेर भत्ता पचाउँदै मञ्चन गरिरहेको नाटक देखेर जनता वाक्क भइसकेका छन् । एउटा असल नेताले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको लागि काम गर्न सक्नुपर्छ । देश र जनताका लागि आफ्नो बलिदान दिनसमेत पछि हट्न हुँदैन । अब भने नेपाली जनताहरूको बाबा पशुपतिनाथसँग एउटै माग छ ‘देश बनाउने एउटा असल नेता जन्माओस् जसले जनताका पीडामा मलम लगाओस् न कि जनताका पीडामाथि खेलोस् ।’

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा एकलाख मत गन्दा बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे