काठमाडौं । चालू आर्थिक वर्षको पहिलो १० महिनामा ११ खर्ब ९८ अर्ब ६० करोडको रेमिट्यान्स भित्रिएको छ भने १० महिनामा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँको व्यापार घाटा भएको छ ।
चालू खाता र शोधनान्तर बचतमा
गत साउनदेखि वैशाखसम्ममा रेमिट्यान्सको वृद्धि र आयातमा आएको सामान्य कमीले गर्दा मुलुकको चालू खाता १ खर्ब ९३ अर्ब २५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको छ ।
चालू खाताले वैदेशिक कारोबारमा खर्च र आम्दानीको अन्तरलाई जनाउँछ । चालू खाता सकारात्मक भएमा मुलुकले लगानीभन्दा बचत गरेको देखाउँछ । चालू खाता वैदेशिक मुद्राको कारोबारको एउटा विवरण हो, जसमा व्यापार, रेमिट्यान्स, ट्रान्सफर आदिको आम्दानी र खर्चको रकम समावेश हुन्छ । यो देशको अर्थतन्त्रको सबलता मापन गर्ने एउटा सूचक पनि हो ।
चालू खातामा आएको बचतसँग शोधनान्तर स्थिति पनि ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा आएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति यसपालि २ अर्ब ९५ करोडले बचतमा रहेको छ । मुलुकबाट बाहिरिने भन्दा मुलुकमा भित्रिने रकम बढी हुँदा शोधनान्तर बचतमा पुग्ने हुन्छ ।
१० महिनामा रेमिट्यान्स आप्रवाह १९ दशमलव २ प्रतिशतले वृद्धि भई ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव ४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव १ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव ४ प्रतिशतले बढेको थियो ।
केन्द्रीय बैंकको तथ्यांकनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८ सय ८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८ सय ९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख २१ हजार २ सय ७९ र २ लाख ३८ हजार ९ सय ७६ रहेको थियो ।
गत वर्षको असार मसान्तमा १५ खर्ब २९ अर्ब ३६ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६ दशमलव २ प्रतिशतले वृद्धि भई अहिले १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ वैशाख मसान्तमा २४ दशमलव २ प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ ।
आव २०८०÷८१ को १० महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाइ रहेको छ ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४ दशमलव ४० प्रतिशत रहेको छ । मुद्रास्फीतिलाई मुद्रा अवमूल्यन र महँगीको पर्यायका रूपमा लिइन्छ ।
१० महिनामा आयात २ दशमलव ४ प्रतिशत, निर्यात ३ दशमलव ६ प्रतिशत र कुल वस्तु व्यापार घाटा २ दशमलव ३ प्रतिशतले घटेको छ ।
१० महिनामा नेपाल सरकारको खर्च १० खर्ब ५६ अर्ब ८९ करोड र राजस्व परिचालन ८ खर्ब ३१ अर्ब ९३ करोड रहेको छ ।
१० महिनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२ दशमलव २६ प्रतिशत, शिक्षाकोे ५ दशमलव ६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३ दशमलव ४६ प्रतिशतले बढेको छ भने सञ्चार उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक शून्य दशमलव ४८ प्रतिशतले घटेको छ ।
वैशाख महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ३० प्रतिशत, तराईको ४ दशमलव ३२ प्रतिशत, पहाडको ४ दशमलव ७० प्रतिशत र हिमालको ४ दशमलव २२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा सो क्षेत्रको यस्तो मुद्रास्फीति क्रमशः ७ दशमलव ६८ प्रतिशत, ७ दशमलव १५ प्रतिशत, ७ दशमलव ५७ प्रतिशत र ७ दशमलव १२ प्रतिशत रहेको थियो ।