नेतृत्व, व्यवहार र लोकतन्त्रका चुनौती

लोकतान्त्रिक मुलुकमा जनताले छानेका जनप्रतिनिधिको व्यवहार जनभावनाअनुरूप भएन । जनप्रतिनिधिको कार्यशैलीले जनअपेक्षा सम्बोधन गरेन तथा जनप्रतिनिधि नै मुलुक र मुलुकवासीप्रति इमानदार भएनन् भने के हुन्छ ? अधिकांश व्यक्तिबाट आउनसक्ने यस सवालको सम्भावित जवाफ पनि लोकतन्त्रमा चुनौती निम्तन्छ भन्ने नै हो । लोकतन्त्रमा चुनौती निम्तियो, चुनौतीलाई नेताले वास्ता गरेनन् तथा चुनौती समाधानार्थ आवश्यक पहलको साथै निजी व्यवहार र कार्यशैली सुधारेनन् भने लोकतन्त्र नै संकटमा पर्नसक्छ । यसपछि जनता नै लोकतन्त्रको विकल्प खोज्न थाल्छन् । कुनै पनि राजनीतिक व्यवस्थाको सफलता र असफलता जनइच्छामा निर्भर रहन्छ भन्ने कुरा सर्वविदितै छ ।

लोकतन्त्र आएको १६ वर्ष बितिसकेको छ । १६ वर्षको अवधिमा शिक्षा, जनस्वास्थ्य, यातायात, सञ्चार तथा केही विकास निर्माणका महत्वपूर्ण कार्य पनि नभएका होइनन् । तर, कतिपय यिनै महत्वपूर्ण कार्य नै राष्ट्रका लागि दीर्घकालीन बोझ बनाइएका छन् । यसको दृष्टान्त मेलम्ची खानेपानी आयोजनालाई हेरे हुन्छ । प्रकृतिक जोखिमलाई न्यूनीकरण गर्न नसक्ने त्रुटिपूर्ण डिजाइन, गुणस्तरहीन निर्माण कार्य, निर्माणमा भएको स्वार्थको भागबन्डा तथा प्राविधिज्ञकै बदनियतले राष्ट्रिय गौरवकै यो महत्वपूर्ण आयोजना दीर्घकालीन बोझ बनाइएको छ । हुन त मुलुकमा व्याप्त भ्रष्टाचार, सिद्धान्तहीन राजनीति, अपराध र राजनीतिबीचको अप्राकृतिक गठजोड, स्वार्थको सम्झौतामा बन्ने समीकरण तथा भागबन्डामा विभाजित राज्य संयन्त्र नै पछिल्लो समयमा लोकतन्त्रको चुनौती बन्न थालेका छन् । यसमध्ये पनि सत्तासीन नेताको अपारदर्शी कार्यशैली र व्यवहार लोकतन्त्रको सबैभन्दा घातक चुनौती बन्दै छ । यही प्रसंगलाई यस आलेखमा चर्चाको विषय बनाइएको छ ।

व्यवहारभित्र व्यक्तिबाट प्रस्तुत हुने सबै प्रकारको क्रियाकलाप, गतिविधि र चरित्रको झलक हुन्छ । सामान्यतया व्यवहार भन्नाले ‘समाजमा एक व्यक्तिले अर्कोसँग कायम राख्ने सम्बन्धको अवस्था, आचरण, तथा चालचलन’ भन्ने बुझिन्छ । व्यवहारभित्र निजी, पारिवारिक, गृहस्ती एवं सामाजिक कार्य गर्दादेखि पेसा वा व्यवसाय सञ्चालन गर्दासम्मका सबै प्रकारका क्रिायकलाप, सीप, क्षमता, इमानदारिता, पारस्परिक सम्बन्धको अवस्था एवं सहयोगलगायतका यावत कुराहरू समेटिएका हुन्छन् । अर्को शब्दमा भन्नुपर्दा व्यवहारले व्यक्तिको पारिवारिक, सामाजिक, आर्थिक, राजनीतिक, नैतिक एवं चारित्रिक क्रिायकलापलाई प्रदर्शित गराउँछ । व्यवहारकै माध्यमबाट व्यक्ति असल र खराब भनी चिनिन्छ । समष्टिगत रूपमा भन्नुपर्दा व्यक्तिको जीवनशैली प्रदर्शित गराउने ऐना भएकाले सबैका लागि व्यवहार जीवनकै आधारभूत तत्व मानिन्छ ।

नेताहरूको अस्वस्थ प्रतिस्पर्धाले लोकतन्त्रप्रति जनदृष्टिकोणमा परिवर्तन गराउने संकेत दिँदै गएको छ

पेसागत कार्य र व्यवसायका आधारमा मानिसको व्यवहारमा सामान्य भिन्नता हुन्छ । जस्तो एक सामान्य नागरिक र व्यापारी, राष्ट्रसेवक कर्र्मचारी र समाजसेवी, उद्योगपति र कलाकार, प्राध्यापक र कृषक, अपराधी र भद्रभलादमीको व्यवहार समान हुँदैन । यसो हुनुको कारण पनि कार्यगत विशेषता नै हो । जनता र राजनीतिक नेताको व्यवहारको विशेषता पनि फरक हुनसक्छ । तथापि व्यवहारको आधारभूत मापदण्ड पनि शिष्ट, सभ्य, भद्र, प्रभावशाली र विश्वासनीय गुण नै हो । यसले व्यक्तिलाई पेसागत रूपमा दक्ष बनाउन टेवा दिन्छ । यस स्तम्भको मुख्य विषयवस्तु राजनीतिक नेताको व्यवहारसँग सम्बन्धित भएकाले, समाजको विविध पेसा र व्यवसाय सञ्चालकदेखि सामान्य नागरिकसम्म राजनीतिक व्यक्तिको व्यवहार कस्तो हुनुपर्छ ? अहिले कस्तो छ ? नेताको व्यवहारले व्यक्ति परिवार र समाजदेखि राष्ट्रलाई नै प्रभाव पार्ने कुरालाई नकार्न सकिन्न । जनप्रतिनिधिको व्यवहारसँग मुलुकको राष्ट्रिय राजनीति नै निर्भर रहन्छ । नेताकै व्यवहारमा आमनागरिकको जीवनस्तर र भविष्य सुनिश्चित बन्छ । यसैले पनि राजनीतिक व्यक्तिको व्यवहार, उत्कृष्ट, कदरयोग्य, प्रभावशाली र सबैका लागि मार्गदर्शक हुनुपर्छ भन्ने सबैको अपेक्षा हुन्छ ।

व्यवहारको विद्यमान अवस्था
व्यवहारको क्षेत्र व्यापक हुन्छ । व्यक्तिको जीवन्त क्रियाकलापसँग सम्बन्धित हुने भएकाले मानसिकता परिवर्तन भएजस्तै क्षणक्षणमा व्यक्तिको व्यवहारमा पनि सामान्य परिवर्तन हुन्छ । त्यसलाई सामान्य मान्नुपर्छ । यसैले व्यवहारलाई सीमित बुँदामा मात्रै समेट्नु हुँदैन । पेसागत भिन्नतानुसारै व्यवहार सामान्यतया तलमाथि हुनसक्छ । तथापि, व्यवहारको औसत अवस्थालाई मापदण्डको आधार मानिन्छ । सामान्य व्यक्तिको व्यवहारले सीमित क्षेत्रलाई मात्र समेटेको हुन्छ, तर राजनीतिक व्यक्तिको व्यवहारको क्षेत्र अरूको भन्दा व्यापाक हुन्छ । राजनेताको व्यवहारको क्षेत्र मुलुकको भौगोलिक क्षेत्रसम्म विस्तारित भएको हुन्छ । यति मात्र होइन, नेताको व्यवहार मुलुकवासी सम्पूर्ण नागरिककै व्यवहारलाई अभिप्रेरित गराउने हुनुपर्छ । नेतामा हुनुपर्ने यो महत्वपूर्ण विशेषता पनि हो ।

राजनीतिक व्यक्तिको जिम्मेवारी एवं दायित्व परिवारदेखि समाजमा फैलिने भएकाले नेताको व्यवहारलाई हामीले यही दुई कोणबाट हेर्नुपर्ने हुन्छ । यसमध्येको परिवारमा सीमित आन्तरिक व्यवहार अन्य सर्वसाधारणको जस्तै समान हुने भएकाले यसको विशेष महत्व हुँदैन । तर, जननिर्वाचित नेताको आमनागरिकसँग सम्बन्धित सार्वजनिक व्यवहारप्रति भने मुलुकवासी सम्पूर्ण नागरिकदेखि अन्तर्राष्ट्रिय जगतसम्मकै चासो रहन्छ । यसैले यहाँ नेताको सार्वजनिक व्यवहार सम्बद्ध केही आधारभूत पक्षका ’boutमा संक्षिप्त चर्चा गरिन्छ ।

१. सिद्धान्तहीन राजनीति
नेता र राजनीतिक सिद्धान्त एकअर्काका पूरक हुन् । एकको उपस्थिति नभए अर्को खल्लो हुन्छ । कुनै निश्चित वैचारिक सिद्धान्त नहुने व्यक्ति वास्तविक राजनेता हुनसक्दैन । राजनीतिक सिद्धान्त पनि अनेकौं हुन्छन् । रुचिनुसार राजनीतिक व्यक्तिले जुनसुकै सिद्धान्त अवलम्बन गर्नसक्छ । सिद्धान्त अँगाल्नुको तात्पर्य पनि त्यसलाई आमनागरिकसम्म विस्तारित गर्दै सबैलाई प्रभावित बनाउनु हो । सर्वसाधारण नागरिकले पनि कुन सिद्धान्त जनकल्याणकारी ? कुन नेता जनउत्तरदायी ? को नैतिक इमानदारी ? भनी तुलनात्मक रूपमै छनोट गर्न पाउँछन् । व्यक्तिलाई राजनेतामा स्थापित गराउने यो आधारभूत मान्यता पनि हो ।

अहिले राजनीतिक व्यक्तिहरू सिद्धान्त बिमुख बन्ने क्रम बढ्दो छ । नेतामा उत्पन्न स्वार्थको पराकाष्ठाले राजनीतिक सिद्धान्तलाई नै विस्थापित गराउँदै ल्याएको छ । अवसरलाई मुख्य राजनीतिक उपलब्धि मान्ने, स्वार्थमा नैतिकता नै बन्धकमा राख्ने जनविश्वास कुठाराघात गर्ने तथा सार्वजनिक पदीय दायित्व पूरा नगर्ने प्रवृत्तिले जनप्रतिनिधिहरू जनताबाटै टाढिँदै गएका छन् । यो सबै सिद्धान्तहीन राजनीतिक कार्यशैली प्रभावित दुष्परिणाम हो । यो प्रवृत्ति लोकतन्त्रकै भद्दा विष बन्दै छ ।

२. जनविश्वासमा घात
जनविश्वास सफल नेताको आधारस्तम्भ हो । जनविश्वास नहुने व्यक्ति न राजनीतिमा सफलै हुन्छ, न असल नेता नै बन्छ । जनविश्वासले व्यक्तिलाई राजनीतिमा स्थापित गराइदिन्छ । जनविश्वास निरन्तर आर्जन गर्दै जाने वा टुटाउने ? भन्ने कुरा पनि नेताको व्यवहारले निर्धारण गर्छ । स्वार्थलाई सर्वोपरी ठान्ने व्यक्तिका लागि जनविश्वास महत्वहीन बन्नसक्छ । यदि, जनअपेक्षा पूरा गर्ने, जनताको साथ सहयोगी हुने, आफूबाट हुन गर्नसक्ने कार्य गरिदिने, असहायलाई सहयोग गर्ने, आफ्नो तर्फबाट हुन गर्न नसक्ने कार्य सम्बन्धित निकायमार्फत सम्पन्न पार्न पहल गर्ने, सधैं जनभावनाको कदर गर्ने तथा जनविश्वास टुटे आफ्नो राजनीतिक धरातल नै गुम्छ भन्ने कुरालाई संवेदनशील ठान्ने व्यक्तिको राजनीति दीर्घकालीन हुन्छ । नेतामा हुनुपर्ने यो अपरिहार्य गुण नै अहिले ह्रासोन्मुख हुँदै गएको छ । जनविश्वासमा आएको तिक्तताको नकारात्मक असर व्यक्तिमा मात्र सीमित नरही राष्ट्रिय राजनीतिमा समेत पर्ने भएकाले चुनौतीपूर्ण हुन्छ ।

स्वार्थको आशक्ति पनि मुलुक र मुलुकवासीका लागि नभइ निजी, पारिवारिक एवं समूहगत हितमा केन्द्रित भएकाले आमनागरिकमा वितृष्णा फैलिइरहेको छ

३. स्वार्थको पराकाष्ठा
राजनीतिको सबैभन्दा घातक शत्रु स्वार्थ हो । यदि राजनीति र स्वार्थको मिलन एवं सहकार्य भए त्यसले राष्ट्रघात गर्छ । स्वार्थले संक्रमित व्यक्ति दुर्गन्धित बन्छ । तथापि, राजनीतिमा स्थापित भइसकेकै कतिपय चर्चित नेताहरू नै अहिले स्वार्थकै कारण दुर्गन्धित बन्दै आएका छन् । पद प्राप्त नगरेसम्म पद हत्याउने स्वार्थ, पदासीन भएपछि टिकिरहने स्वार्थ, सत्ता संकटबाट समस्या आइलागेमा राष्ट्रघाती सम्झौता गरेरै भए पनि टिकिरहने स्वार्थले लोकतन्त्रकै गरिमा खस्काएको छ । स्वार्थको आशक्ति पनि मुलुक र मुलुकवासीप्रतिको नभइ निजी, पारिवारिक एवं समूहगत हितमा केन्द्रित भएको दृश्यले आमनागरिकमै वितृष्णा फैलाउँदै छ । ‘जुन जोगी आए पनि कानै चिरेको’ लोकोक्ति नेताको व्यवहारले प्रदर्शित गराएको छ । नेताको नकारात्मक कार्यशैलीको असर व्यवस्थामा नपर्ने कुरै हुँदैन ।

४. बदनियतपूर्ण राजनीति
मुलुक र मुलुकवासीको कल्याण गर्ने उद्देश्यले राजनीतिमा आबद्ध व्यक्तिको कार्य सेवाप्रदायक हुन्छ । तर, यस्तो सकारात्मक सोचका साथ राजनीतिमा आबद्ध हुने व्यक्तिहरू अहिले बिरलै मात्र छन् । अहिले सम्पन्नशाली बन्नका लागि राजनीतिमा प्रवेश गर्ने प्रवृत्ति छ । आपराधिक कार्यबाट छुट पाउन, तस्करी गर्न, अपराधीसँग सहकार्य गर्न राष्ट्रिय बजेट हत्याउन, भ्रष्टाचार गर्न तथा गलत धन्दालाई सुरक्षित बनाउने उद्देश्यले राजनीतिमा संलग्न हुने प्रवृत्ति बढेको छ । राष्ट्रिय राजनीति अहिले यस्तै बदनियतपूर्ण व्यक्तिको अखडा बन्ने जोखिम बढ्दै छ । यो लोकतन्त्रप्रदत्त अधिकारले सीमा नाघेको दृष्टान्त हो । जुन लोकतन्त्रकै लागि प्रत्युत्पादक छ ।

५. स्वेच्छाचारी कार्यशैली
लोकतन्त्रले जनप्रतिनिधिलाई सर्वाधिकार प्रदान गरेको छ । जनमतलाई नै स्वेच्छाचारिताको मेनडेट ठान्ने प्रवृत्ति पनि बढ्दो छ । कानुन हातमा लिने, राज्यसंयन्त्रलाई आदेशमा परिचालित गर्ने, कर्मचारी प्रशासनलाई पकडमा राख्ने, आलोचक, विपक्षी एवं प्रतिद्वन्द्वीलाई फसाउने, अपराधीसँग हातेमालो गर्ने, सत्ताशक्तिको दुरुपयोग गर्ने तथा कानुनलाई विभेदित ढंगले कार्यान्वयन गराउने परिपाटी स्वेच्छाचारिताको उपज हो । नेताको यही स्वेच्छाचारी कार्यशैली एकातिर लोकतन्त्रकै लागि प्रत्युत्पादक बन्दै छ भने अर्कोतिर यसले लोकतन्त्रविरुद्धको दृष्टिकोणलाई विस्तारित गराइरहेको छ ।

६. सत्ता स्वार्थको प्रतिस्पर्धा
राजनीतिज्ञको अन्तिम उद्देश्य सत्तामा पुग्ने नै हो । यसैका लागि जनताबीच स्वस्थ प्रतिस्पर्धा अपरिहार्य हुन्छ । सत्ताको लक्ष्य लिएको व्यक्तिले आफ्नो राजनीतिक पृष्ठभूमि पनि सुनिश्चित गराएकै हुन्छ । यसक्रमको दलीय सिद्धान्त कुन दलको कस्तो छ ? कुन नेताको कार्यशैली कस्तो छ ? छान्ने अधिकारी पनि जनता नै हुन् । यो सर्वसाधारण नागरिककै चासो र सरोकारको विषय हो । तर, नेताबीच हुने स्वार्थको प्रतिस्पर्धाले अहिले राजनीतिक चुनौती निम्त्याउँदै छ । नेताको अस्वस्थ प्रतिस्पर्धाले लोकतन्त्रउपरकै जनदृष्टिकोण परिवर्तन गराउने संकेत दिँदै छ । नेताले ध्यान नदिए नेताको कार्यशैली र व्यवहार सिर्जित यो अवस्था लोकतन्त्रकै लागि चुनौतीपूर्ण बन्नसक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कर्णालीमा चार महिलाले दिए मेयरमा उम्मेदवारी